Monday, April 18, 2022

गाउँपालिका अध्यक्ष बिरुद्ध अख्तियारमा मुद्दा काँग्रेस र अध्यक्षद्धारा आपत्ति व्यक्त

विदुर । सूचना संशोधन गरेर म्यागाङ गाउँपालिकाको प्रशासकीय भवनको ठेक्कामा गाउँपालिकाका अध्यक्ष आशा तामाङले मिलेमतोमा कमिसन लिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार मुद्दा परेको छ ।

चैत १४ गते अख्तियारको केन्द्रीय कार्यालयमा ७ करोड ४३ लाख २७ हजार ४२० को ठेक्कामा सूचना संशोधन गरी अध्यक्ष तामाङले भ्रष्टाचार गरेको दाबीसहित एक नेपाली नागरिक नामकले उजुरी दर्ता गरेको हो । 

यस मुद्दामा आयोगले भने अनुसन्धान सुरू गरिसकेको छ ।

प्रशासकीय भवन निर्माणका लागि २०७७ असोज ६ गते सूचना प्रकाशित गरेकोमा ३० दिन भित्र बोलपत्र पेश गर्न पर्नेमा २ कम्पनीहरूको बोलपत्र निवेदन परेकोमा अध्यक्ष तामाङले फेरि सूचना संशोधन गरेर नयाँ कम्पनीको प्रवेश गराएर ३३ प्रतिशत अर्थात करिब २ करोड ४५ लाख २८ हजार ४८ रुपैंयाँ कमिसन बुझेको दाबी उजुरीमा उल्लेख छ । उजुरीमा उक्त बोलपत्रको कागजात नियमन्त्रणमा लिएर अनुसन्धान गर्न माग गरिएको जनाएको छ ।

यसै बीच, गएको शनिबार साँझ विदुरमा पत्रकार सम्मेलन गरेर म्यागाङ गाउँपालिका नेपाली काँग्रेसले उक्त उजुरी र सामाजिक सञ्जाल मार्फत भ्रामक प्रचार गरिएकोमा आपत्ति जनाएको छ । म्यागङ काँग्रेसका सभापति सिंगराज तामाङसहितका नेताहरूले उक्त आरोप प्रमाणित गराउन चुनौति समेत दिएका छन् । गाउँपालिका अध्यक्ष आशा तामाङले आफुलाई आसन्न निर्वाचनलाई लक्षित गर्दै आफ्नो चरित्र हत्या गरेकोमा आपत्ति जनाएका छन् । गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि भएको अनलाईन प्रक्रियामार्फत हुने ठेक्कामाआफ्नो कुनै पनि संलग्नता नरहेको उनले बताए ।

साथै नेपाली काँग्रेस म्यागङ गाउँपालिकाद्वारा जारी विज्ञाप्तिमा भनिएको छ, ‘म्यागाङ गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि भएको ठेक्का प्रक्रिया सार्वजनिक खरिद ऐनअनुसार प्रक्रिया पुरा गरी आर्थिक ऐन, सार्वजनिक खरिद नियमावली बमोजिम गाउँपालिकाले प्रशासनले ठेक्का सम्झौता गरी निर्माणको जिम्मेवारी दिईएकोमा गाउँपालिकाको कर्मचारी प्रशासनले सम्पादन गर्ने कार्यमा पालिका अध्यक्षको समेत नाम समेत जोडी सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गरिएको उजुरीमा कुनै सत्यता नरहेको ठहर गर्दै आरोपकर्तालाई आफ्नो पहिचान स्पष्ट पारी आरोपमा लेखिएका व्यहोराहरू सम्मानित न्यायिक तहबाट प्रमाणित गराएर देखाउन समेत नेपाली काँग्रेस म्यागाङ गाउँपालिका चुनौती दिन चाहन्छ ।’

 

No comments:

Post a Comment