विदुर । ककनी गाउँपालिकाकी उपाध्यक्ष सीता खतिवडा लामा आगामी स्थानीय तह निर्वाचनमा प्रमुखको दाबेदार बनेकी छिन् । पाँच वर्षे कार्यकालबाट उल्लेखनीय सिकाई भएकोले आगामी निर्वाचनमा गाउँपालिकाको अध्यक्षमा उमेदवारी दिने उनको योजना छ । कानुन बनाउनेदेखि कार्यान्वयन गर्ने अभ्यासबाट आफू खारिएपछि प्रमुखको दाबेदारीको लागि आफू योग्य रहेको उनको ठम्याइ छ । ‘गाउँपालिकाको हरेक घर आँगनमा पुगेर मतदाताको सुखदुःखमा सामेल भइसकेकी छु,’ उनले भनिन्, ‘पाँच वर्षे कार्यकालपछि बाँकी रहेका बाँकी अधुरा योजना पूरा गर्न आफ्नो उपस्थिति जरुरी रहेकोले प्रमुखको दाबेदारको रूपमा उभिएकी हुँ ।’
महिला जहिले पनि दोस्रो दर्जा मात्र हुनुपर्छ भन्ने सोच बदल्न आफू प्रमुखका लागि दाबेदार रहेको उनको भनाइ छ । मतदाताबाट आफ्नो उम्मेदवारी माग भएको बताइन् । विकासका पूर्वाधारलाई पूर्णता दिन र मतदाताको भावनालाई सम्मान गर्न अध्यक्षको उम्मेदवारी जरुरी रहेको बताउँछिन् । उनी जस्तै अधिकांश पालिकाका उपप्रमुख तथा उपाध्यक्षले आफू यथास्थितिमा नरहने बताएका छन् । जिल्लामा दुई नगर र १० गाउँपालिका छन् । यसअघिको निर्वाचनमा नुवाकोटका सबै पालिकामा महिला नै उपप्रमुख छन् ।
लिखु गाउँपालिकाका उपाध्यक्ष रोजिना राई पनि आगामी निर्वाचनमा अध्यक्ष पदका लागि खुलेरै आफ्नो उमेदवारीबारे धारणा राख्दै आएकी छिन् । दिगो विकासका लागि महिला नेतृत्व भन्ने नाराका साथ उनले आफूलाई अध्यक्ष पदका लागि अघि सारेको बताउँछिन् । ‘महिलाले जहिले पनि दोस्रो तहको नेतृत्वमा मात्र बसेर हुन्न,’ उनले भनिन्, ‘मतदाताले अध्यक्षका लागि आफ्नो उम्मेदवारीको अपेक्षा गरेकोले अगाडि बढ्ने सोच बनाइसकेको छु । पार्टीमा आफ्ना कुरा राखिसकेको छैन । तर जनतासामु आफ्ना धारणा राख्दै आएको छु । मतदाताबाट नेतृत्व आवश्यक रहेको माग भएकोले पनि अध्यक्षम अगाडी बढ्ने सोचमा छु ।’
तादी गाउँपालिकाका उपाध्यक्ष ईश्वरी उप्रेती पनि अध्यक्षकी आकांक्षी हुन् । तर, टिकट पाउने कुरामा उनी आफै विश्वस्त छैनन् । अध्यक्षका लागि पार्टीमा आधिकारिक धारणा राख्न बाँकी रहे पनि महिलालाई अझै नेतृत्वमा मौका आउने अवस्था नरहेको उनको तर्क छ । चुनावको रौनक क्रमशः सुरु भएकोले उम्मेदवारीको प्रक्रिया टुंग्याइँदा आफ्नो आकांक्षाबारे पनि सम्बोधन होस् भन्ने पक्षमा छिन् उनी ।
शिवपुरी गाउँपालिकाकी उपाध्यक्ष मञ्जु केसीले अध्यक्षको रूपमा आफ्नो आकांक्षा रहेको बताइन् । तर, आफूले सोच बनाए पनि टिकट नपाउने सम्भावना बढेको उनले बताइन् । परम्परागत सोचले महिलालाई पछाडि पारिएको बताउँछिन् ।
विदुर नगरपालिका उपप्रमुख गीताकुमारी दाहाल पहिलो भएरै काम गर्ने क्षमता विकास भएको बताउँछिन् । निर्वाचनमा धेरै आकांक्षी भएकोले पार्टीले क्षमता योग्यताको आधारमा नेतृत्व चयन गर्ने तयारी गरिरहेको उनको
भनाइ छ । आफूभन्दा अग्रज व्यक्तिहरू पनि आकांक्षी रहेकोले परिस्थितिअनुसार अगाडि बढ्ने उनको तर्क छ । दुप्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष अञ्जु आचार्य र बेलकोगढी नगरपालिकाकी उपप्रमुख कविता ढुङ्गानाले प्रमुखमा आफुहरूको तिब्र आकांक्षा रहेको बताएका छन् ।
अधिकांश उपप्रमुखले प्रमुखमा उम्मेदवारी दिने सोच राखे पनि सम्बन्धित पार्टी नेतृत्वले त्यसबारे चासो देखाएका छैनन् । यसअघिको स्थानीय तह निर्वाचनमा जिल्लाका सात पालिकामा काँग्रेसले उपाध्यक्ष, एमालेले एक नगरपालिका उपप्रमुख र दुई गाउँपालिका उपाध्यक्षमा महिला जिताएको थियो । त्यस्तै, माओवादी केन्द्रले एक नगरपालिकाको उपप्रमुख र एउटा गाउँपालिकाको उपाध्यक्षमा महिला जिताएको छ । शिर्ष तीन दलका नेताहरू छलफल भइरहेको भन्दै यो सन्दर्भमा पन्छने गरेको भएपनि उपप्रमुख÷उपाध्यक्षलाई अगाडी बढाउने सोचमा देखिएका छैनन् । तर माओवादी केन्द्र भने एक पालिका महिलाको नेतृत्वमा जाने विषयमा छलफल गरिरहेको छ । ‘केन्द्रको सर्कुलर अनुसार नुवाकोटको एक पालिकामा महिलालाई प्रमुख बनाएर जाने सम्भावना छ, हामी यसैको गृह कार्यमा छौं’ माओवादी केन्द्र नुवाकोटका संयोज पुष्प लामिछानेले भने ।
सबै भन्दा बढी उापध्यक्ष जितेको काँग्रेस भने यो विषयमा प्रष्ट देखिएको छैन । सत्ता गठबन्धनलई वडासम्म लैजानु पर्ने सकसका कारण कार्यकर्ता ब्यवस्थापनको चुनौती काँग्रेसलाई बढी छ । त्यसो भइरदा महिलालाई काँग्रेसले अघी सार्ने सम्भावना क्षिण बन्दै गएको छ । ‘निर्वाचनका लागि कार्यतालिका बनाएर अघि बढ्ने छौं,’ काँग्रेस नुवाकोटका सभापति रमेशकुमार महतले भने, ‘उम्मेदवारका लागि आकांक्षी धेरै भएकोले मिलाएर लैजाने छौं ।’ प्रतिस्पर्धाको दौडमा धेरैको आकांक्षालाई पार्टीले सम्बोधन गर्न‘ पर्ने भएकोले पछिल्ला निर्वाचनमा मात्र महिला प्रमुख नेतृत्वको लागि पार्टीले योजना बनाउने उनको भनाइ छ ।
एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले महिलालाई प्राथमिकतामा राख्ने बताए । ‘छुट्टै उम्मेदवारी चयनको प्रक्रिया टुंग्याउने छौँ,’ उनले भने, ‘महिलालाई प्राथमिकतामा राख्छौँ । हाम्रो तर्फबाट प्रमुख, उपप्रमुख मध्ये एक जना महिला नै हुन्छ ।’
No comments:
Post a Comment