Sunday, April 24, 2022

नुवाकोटबाट गरिन्छ देशको भविष्यवाणी

सिन्दूरे जात्राको क्रममा रथ बोक्दै युवाहरू । तस्बिर : सुवास श्रेष्ठ 
विदुर । देशको संघीय राजधानी काठमाडौंका स्थानहरूसँग मिल्दाजुल्दा नाम इन्द्रचोक, असन, नयाँबजार हुँदै देवीस्थान टोलसम्म बेग्लै रौनकताले त्यहाँको माहोल नै रंगीविरंगी बनाएको छ । म नुवाकोटको कुरा गर्दैछु, काठमाडौंको होइन । मानिस रमाइरहेका छन् । कतै बासुरीको धून त कतै विभिन्न मनोरञ्जनमय खेलहरू भइरहेका छन् ।

सबै आ–आफ्नै धूनमा सामान तथा खेलहरू हेर्दै रमाइरहेका छन् । मन प्रफुल्ल छ । बजार पूरै सजिएका छन् । जेरीको लहर, जसलाई हेर्दा जेरी जात्रा भन्दा फरक नपर्ने । जात्रामा बाजा बजाएर देवताका खटलाई घुमाउदै एकअर्कालाई सिन्दूर दल्ने, आपसमा सिन्दूर खेल्दै रमाइलो गर्ने भएकोले यसलाई सिन्दूरे यात्रा भनिन्छ । यसरी सांस्कृतिक नगरी नुवाकोट जात्रामय बनेको छ ।

केही वर्ष यता कोरोना भाइरस महामारीको कारण नुवाकोट मण्डला (दरबार क्षेत्र) मा उच्च महत्वको रूपमा हेरिने विभिन्न पर्वहरू नराम्रोसँग प्रभावित भएका थिए । कयैन् मन्दिरहरूमा पूजापाठ रोकिएका थिए । सामूहिक भेला हुन निषेध गरिएकै कारण यो अवस्था सृजना भएको हो । नुवाकोट दरबार परिसरमा बर्सेनि आयोजना हुने शताब्दिऔं पुराना जात्राहरूमध्ये सिन्दूरे जात्रा पनि एक हो । यो नुवाकोटको आफ्नै सांस्कृतिक पहिचान हो । सिन्दूरे जात्रा अर्थात् देवी जात्रा नुवाकोटमा विशेष महत्वका साथ हेरिन्छ । नेपालको इतिहासलाई पल्टाउने हो भने सात तले दरबारको दक्षिणतर्फ रहेको देवी भैरवीलाई देशको रक्षक मानिन्छ । नेपाल–चीन युद्ध हुँदा राजा रणबहादुर शाहले भैरवीको आराधना गरेका र दैवी शक्तिका कारण विजय प्राप्त गरेको भन्ने विश्वास छ । भैरवीको सिन्दूर यात्राको भव्यता अनुपम छ । 

हरेक चैत्रशुक्ल पूर्णिमाका दिन यो जात्रा धुमधाम साथ मनाइन्छ । यो यात्रा फागु पूर्णिमादेखि सुरू भएर महिना दिनसम्म चल्छ । यो जात्राको अवधिभर यसका पुजारीहरूले जहाँ पायो त्यहा खाँदैनन् । यो जात्रा चलिरहँदा नारायण जात्रा पनि धुमधामका साथ मनाइन्छ । यो जात्रा घोडे जात्राको दिन र त्यसको भोलिपल्ट गरेर दुई दिन चल्ने गर्छ । यसलाई मिनी सिन्दूरे जात्रा पनि भनिन्छ । 

सिन्दूरे यात्रालाई प्रत्येक वर्ष परम्परागत रूपमा सञ्चालन गर्नका लागि धामी (भैरवी मन्दिरका पुजारी) धमिनीका साथै द्वारे (सरकारका प्रतिनिधि), कुमार, गणेश, तथा गुठियारहरूको व्यवस्था हुँदै आएको छ । हालका धामी हरिमानसिंह डंगोलको बाह्रौं पुस्ताका धामी हुन् ।

चैत्रशुक्ल चतुदर्शी (२ गते) को दिन बेलु्का कुमारीको हातबाट लिएको धामीको स्नान कार्यसँगै जात्रा विधिपूर्वक सुरू हुन्छ । बन्दुक पड्केको विशेष साइतमा स्नान कार्य गरेपछि धामीलाई पोशाक पहिराइन्छ । सुनौला मुकुट, गहना, बाला, चाँदीको पेटी, डमरु पात्र, भोटो र जामा आदि भेषभूषामा धामी निकै आकर्षक देखिन्छन् । त्यसपछि धामी दौडेर द्वारेको घरमा पुग्ने गर्छन् । त्यहाँ गुभाजुले तान्त्रिक विधिमार्फत् धामीधमिनीमा भैरवभैरवी चढाउने कार्य गरिन्छ अनि गाजल लगाइन्छ । 

सो कार्य सम्पन्न भएपश्चात् बुढी भैरवी (देवी भैरवीको आमा) र भैरवी  मन्दिरको पछाडि एक एक वटा लिङ्गो (४२ हात लामो) गाड्ने गरिन्छ । पहिले लिंगो गाड्ने काम स्थानीयबाट हुन्थ्यो । केही वर्षयता नेपाली सेनाले गाड्ने गरिएको छ । सामान्य बुद्धि लगाएर लिंगो गाड्न सकिँदैन । यो लिंगो वैशाख कृष्ण नवमी र दशमीका दिन क्रमशः ढालिन्छ ।

पूर्णिमाको दिन (४ गते) विशेष बाजागाजा साथ धामीधमिनी र गणहरूलाई तलेजु मन्दिरतर्फ लगिन्छ । त्यहाँ बज्राचार्य(गुचाजु)द्वारा आवश्यक पूजाआजा गर्ने कार्य सकिएपछि यो जात्रा भैरवी मन्दिरदेखि दक्षिण–पश्चिमपट्टि सूर्यमती र गण्डकीको संगमस्थल देवीघाट (जालपा मन्दिर) तर्फ प्रस्थान गर्दछन् ।

खटमा भैरवभैरवी र अष्टमातृकाका मूर्तिहरू राखिएको हुन्छ । बाटोमा पर्ने स्थानहरूमा रथको तथा जीवित देवताको रूपमा पुजिने धामीधमिनीको दर्शन तथा पूजा गर्न भक्तजनहरूको भीड लाग्छ । मध्यरातमा देवीघाट पुगेका धामीले  करिब २४ घण्टाको बसाइँमा बिहान विशेष पूजाआजासहित जालपा मन्दिर परिसरमा जिउँदो पशुचौपाया तथा माछाको भोग खाएर नयाँ सालको देशमा हुने घटनाक्रमका भविष्यवाणी गरिन्छ । 

यो भविष्यवाणी सुन्ने अवसर गुभाजु, द्वारे, बाह्रभाइ खलक आदिलाई मात्र प्राप्त हुन्छ । उल्लेखनीय वाणीलाई नेपाल सरकारका राष्ट्र प्रमुख समक्ष पु¥याइने प्रचलन रहेको द्वारे (महेन्द्रकुमार शाही) ले बताएका छन् ।

भैरबी मन्दिरबाट देविघाट स्थित जालपादेवी मन्दिर हिडेका धामीधमिनी । तस्बिर : सुवास श्रेष्ठ

देवीघाटको मेला सकिएपछि धामीधमिनी लगायत अन्य गणहरू बाजागाजासाथ रमाइलो यात्रा गर्दै नुवाकोट डाँडातर्फ लाग्छन् । देवीघाट, ठूलो बगैंचा, माझीटार, बट्टार हुँदै धरमपानी पुर्याइन्छ। बट्टारमाथि रहेको बाराही मन्दिर र धरमपानीको बीचमा विशेष जात्रा भोज ख्वाइन्छ र रथलाई धरमपानीमा सर्वसाधारणलाई पूजाआजाको लागि राखिन्छ । द्घितीयाको दिन (५ गते) धरमपानीमा जिल्लाका सरकारी कार्यालय प्रमुखहरूको उपस्थितिमा नेपाली सेना (जबर जंग गण) ले दुई सलामी (निशान झण्डा र भैरवी सलामी) बढाइँ  दिइन्छ । यो यात्रा देवी भैरवी मन्दिर दक्षिणतर्फ रहेको महिषासुर मर्दिनी (दुर्गा) मन्दिरको अगाडि बज्राचार्यले विशेष पूजाआजा गरेपछि विजय उत्सवको रूपमा द्वारेले धामीलाई सिन्दूर र गाजल लगाइन्छ । जुन सिन्दूरे जात्राको रूप लिन्छ । किंवदन्ती अनुसार जालपा देवी (भैरवीको दिदी) आएको अवसरमा सिन्दूरे जात्रा गरी हर्ष बढाइँ गरिएको मानिन्छ । 

विशेष बाजामा नाच्दै रमाउँदै हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइकेको अनुमतिमा खट(रथ) उचालेपछि यात्रा र गणहरू तुलजा भवानीतर्फ लम्कन्छ । तृतीयाको दिन भैरवी मन्दिर पछाडि राखिएको डबलीमा अष्टमातृकाको खट अगाडि धामीलाई सरकारी वकिलको तर्फबाट बिहान दुइटा रागोको बलि खाने प्रचलन रहेको छ । जुन हेर्दा पीडाबोध हुन्छ । देवता धारण गरेका धामीले राँगा, बोकाको रगत पिउन डरलाग्दो गरी झम्टन्छन् । 

वैशाख कृष्ण अष्टमीका दिन बाहिर खटमा रहेका देवीदेवताका मूर्तिहरूलाई मन्दिरमा बाह्रभाइ खलकीद्वारा पुनस्र्थापना गरिन्छ । नुवाकोटमा सञ्चालन हुने यो जात्रा नेपालकै लामो दिनसम्म चल्ने जात्राको रूपमा लिन सकिन्छ। यसको मुख्य आकर्षणको केन्द्र रथ यात्रा र जीवित भगवानको रूपमा पुजिने धामीधमिनी नै हुन् । जात्रामा बूढापाकाको सहभागिता घट्दै गए पनि युवाहरूको सक्रियता बढ्न थालेको छ । कला सांस्कृतिकमा उनीहरूको लगाव अत्यधिक देखिन्छ । 

हो, पनि नुवाकोटेहरू जात्रामै जीवन देख्छन् । यहाँका जात्रासँग किंवदन्ती र मिथक जोडिएको छ । यस्ता पर्वले समाजमा रहेको असमानतालाई पुरेर समानता प्रवर्द्धन गर्न मद्दत पुग्छ । 

स्थानीय उत्पादनले बजार पाउँछ । आन्तरिक र बाह्य पर्यटनलाई आकर्षित गर्छ ।  

No comments:

Post a Comment