Sunday, April 24, 2022

नुवाकोटमा साढे पाँच हजार कृषकबाट तथ्याङ्क


विदुर । केन्द्रीय तथ्याङ्क विभागले मङ्गलबारदेखि सातौँ राष्ट्रिय कृषि गणना सुरु गरेको छ । 

‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ मूल नाराका साथ वैशाख ६ देखि जेठ १९ गतेसम्म ७७ जिल्लाका तीन लाख घरपरिवारमा सो गणना गरिने विभागले जनाएको छ । नुवाकोटका जिल्ला कृषिगणना अधिकृत नरेन्द्र शर्मा भट्टका अनुसार गणनाका लागि २२ जना सुपरिवेक्षक र ८६ जना गणक खट्ने छ । जिल्लाका १२ स्थानीय तहका दुईसय २१ गणना क्षेत्रहरूबाट करिब पाँचहजार ५२५ कृषक परिवारको छनौट गरी गणना गरिने उनले जानकारी दिनु भयो । 

नमुना कृषि गणनाको क्रममा गणक, सुपरीवेक्षक र जिल्ला कृषि गणनाका कर्मचारी गणनामा कृषक परिवार सूचिकरण, कृषक परिवार प्रश्नावली र वडास्तरीय सामुदायिक प्रश्नावली गरी तीन किसिमको लागत राखिने छ । प्रश्नावली १३ भागमा विभाजन गरी दुई दर्जन प्रश्न समेटेर प्रश्नावली बनाइएको छ । 

कृषिगणनाबाट कृषिसँग सम्बन्धित सम्पूर्ण विवरण प्राप्त हुने जनाएको छ । खेतीयोग्य जमिन, जमिनमा प्रयोग भइरहेको मलदेखि विषादीसम्मको विवरण समेट्ने गरी प्रश्नावली बनाइएको छ ।

देशभर ५ हजार २३ जना गणक कृषिगणनाका लागि खटिने छन् । उनीहरूको सहजीकरणका लागि १ हजार २ सय ८० जना सुपरिवेक्षकहरू खटिने भएका छन् । नेपालमा पहिलो पटक २०१८ सालमा कृषि गणना गरिएको थियो । त्यसयता हरेक १०÷१० वर्षमा यस्तो गणना हुँदै आएको छ ।

२०६८ को कृषि गणनाअनुसार एक लाख १६ हजारसँग आफ्नै जमिन छैन भने ७१ प्रतिशत जनता पूर्णकालीन कृषक रहेकामा ८३ प्रतिशत जनता कृषि पेसामा आत्मनिर्भर रहेको उल्लेख छन् । ४२ प्रतिशत कृषकले कृषि ऋण पाएका छैनन् ।

वि.सं. २०१८ देखि केन्द्रीय तथ्याङ्क विभागले हरेक प्रत्येक १०÷१० वर्षमा राष्ट्रिय कृषि गणना सञ्चालन गर्दै आइरहेको छ । ७५३ स्थानीय तहमा वैज्ञानिक विधिले छनोट गरिएका कृषक परिवारसँग व्यक्तिगत अन्तर्वार्ताद्वारा कृषि क्रियाकलापसम्बन्धी विस्तृत विवरण सङ्कलन गरिने विभागले जनाएको छ । यस गणनाअन्तर्गत पारिवारिक, व्यावसायिक तथा संस्थागत रूपमा सञ्चालन भइरहेका कृषिकार्यको विवरण सङ्कलन गरिनेछन् ।

सातौँ कृषि गणनामा कृषक परिवार, कृषक परिवारले चलन गरेको जग्गाको उपभोग र उपयोग, कित्ताको विवरण, सिँचाइ गरेको जग्गाको क्षेत्रफल, अन्नबाली, कोसेबाली, दलहन, कन्दमूल, तेलबाली, नगदेबाली, मसलाबाली, तरकारीबाली र फलफूल लगाएको जग्गाको क्षेत्रफल तथा प्रमुख बालीको उत्पादनका बारेमा तथ्याङ्क सङ्कलन गरिने विभागले जनाएको छ ।

त्यस्तै बीउबिजन, विषादी, मलखादको प्रयोग, उमेर समूह, जातअनुसारको पाल्तु पशुपन्छीको संख्या, कृषि कार्यमा प्रयोग हुने भवन र संरचनाको अवस्था, कृषि औजार, माछापालन, मौरीपालन, च्याउखेती, पुष्प खेती, रेशमपालन, कृषि ऋण, कृषि बीमा, कृषि अनुदान, कृषिमा वातावरणको प्रभावका बारेमा पनि तथ्याङ्क सङ्कलन गरिनेछ । खाद्यान्नको पर्याप्तता र परिवारको अन्य आर्थिक क्रियाकलाप, कृषि कामदार, महिलाको नाममा रहेको जग्गालगायतका बारेमा पनि विवरण सङ्कलन गरिने छ । 

यस पटकको कृषि गणनामा घरपरिवारले सञ्चालन गरेको र समुदायमा आधारित कृषि कार्यका लागि अतिरिक्त सरकारी, अर्धसरकारी, सहकारी र संस्थागत रूपले सञ्चालन गरेका व्यावसायिक कृषि कार्यको पनि तथ्याङ्क सङ्कलन गरिने विभागले जनाएको छ ।

कृषि गणनामा खटिएका सुपरिवेक्षकले सम्बन्धित नगरपालिका, गाउँपालिकाको मेयर, अध्यक्ष, वडाध्यक्ष र वडा सदस्यसँग समन्वय गर्नुपर्ने विभागले जनाएको छ । त्यहाँका प्रतिनिधिसँग गणनामा सहयोग गर्न आग्रह गर्नुपर्छ । विगतका कृषि गणनाको अनुभवबाट सम्बन्धित पालिकाको पदाधिकारीले अनुरोध गरेको अवस्थामा कृषकले सहयोग गर्ने र अन्तर्वार्ता सञ्चालन गर्न सजिलो हुने भएकाले प्रतिनिधिसँग समन्वय तथा छलफल गर्न विभागले सुपरिवेक्षकलाई निर्देशन दिएको छ ।

No comments:

Post a Comment