Monday, April 25, 2022

१६ महिनादेखि चाइना पास खुलेन

विदुर । चीन प्रवेश गर्न रसुवावासीका लागि उपलब्ध गराउँदै आएको नेपाल–चीन आगमन प्रस्थान अनुमति पत्र (चाइना पास) को वितरण १६ महिनादेखि रोकिएको छ । कोभिड–१९ का कारण रसुवागढी नाकाबाट मानिसको आवतजावत रोकिएसँगै पास वितरण पनि रोकिएको हो । रसुवागढी अध्यागमन कार्यालयले २०७७ मङ्सिर २७ गतेदेखि पास रोकेको छ ।

नाकाबाट मानिसको आवतजावत रोकिएका कारण पास वितरण बन्द गरिएको अध्यागमन अधिकृत एकनारायण भण्डारीले बताए । नाकाबाट पारि जान नपाउने भएपछि पास जारी गर्न छाडिएको हो । नाका पूर्णरूपमा सञ्चालनमा आएपछि पास वितरणलाई निरन्तरता दिइने उनको भनाइ छ । चीनसँग सिमाना जोडिएको रसुवाका नागरिक चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङसम्म आवतजावत गर्न पाउँछन् । 

त्यहाँ जानका लागि कार्यालयले पास उपलब्ध गराउँदै आएको थियो । एक पटक पास बनाएपछि एक वर्ष त्यहीँ गएर बस्न पाइन्छ । रोजगारीका लागि प्रचुर सम्भावना रहेकाले केरुङ जानका लागि रसुवाका झन्डै १२ हजार जनाले चाइना पास बनाएका थिए । कार्यालयले २०७२ असोज २८ गतेदेखि पास जारी गर्न थालेको हो । त्यसयता जिल्लाका १२ हजार एक सय ४३ जनाले पास लिएका तथ्याङ्क छ । 

  त्यसअघि जिल्ला प्रशासन कार्यालयबाट पास लिने व्यवस्था थियो । कम खर्चमा धेरै आम्दानी हुने, आवतजावत गर्न सहज र राहदानी बनाउनुपर्ने झन्झट नहुने भएपछि पछिल्लो समय केरुङ जानेको संख्या बढेको थियो । केरुङमा झन्डै एक हजार नेपाली कार्यरत रहेका छन् । त्यहाँ  नेपाली धेरैजसो होटल, ट्रान्सर्पोट र ब्लक निर्माणमा कार्यरत थिए । केरुङमा कार्यरत रसुवाली दशैँ, तिहार तथा ल्होसारमा घर फर्कने गरेका छन् । 

नेपाल–चीन सीमा क्षेत्रमा बस्ने नागरिकलाई चीन सरकारले दिँदै आएको एक वर्षे प्रवेशाज्ञा लिएका मध्ये झन्डै २५ प्रतिशत रसुवालीले प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा काम गरिरहेका थिए ।

No comments:

Post a Comment