विदुर । राष्ट्रिय गौरवको योजना गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुवेंशी–रसुवागढी सडकको ठेकेदार कम्पनीले बीचमै काम छोडी सम्पर्कबिहिन हुँदा मैलुङ–स्याफ्रु खण्डको स्तरोन्नती एवं सुधारको काम अलपत्र परेको छ ।
मैलुङदेखि स्याफ्रुवेंशीसम्म १९ किलोमिटर भू–भागको स्तरोन्नती टेवापर्खाल, नाली निर्माण एवं कालोपत्र समेतका कार्यसम्पन्न गर्न ठेक्का पाएको भारत सिद्धिशाही कन्स्ट्रक्सन जेभीले काम नगर्दा राष्ट्रिय गौरवको आयोजना निर्माण अलपत्र परेको छ । २०७९ पुस ३० सम्ममा सडक स्तरोन्नतीको काम सम्पन्न गर्ने गरी श्री भारत कन्स्ट्रक्सन/सिद्धिसाई जेभीले गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुवेंशी–रसुवागढी सडक योजनासँग २०७७ साउन १ गते सम्झौता गरेको थियो ।
सम्झौताको अवधि अब १० महिना मात्रै बाँकी छ । हालसम्म भौतिक प्रगति सन्तोषजनक नभएको योजनाका प्रमुख शाक्यले बताए । १ अर्ब ४५ करोड रुपैयाँको लागतमा सम्पन्न गर्ने सम्झौता गरेको सो कन्स्ट्रक्सनले ३५ करोडको बिल भुक्तानी लिएर फागुन ५ गतेदेखि काम छाडी सम्पर्कबिहिन भएको हो । उक्त कन्स्ट्रक्सनलाई पत्रचार गरेर काममा फर्कनलाई ताकेता गरिरहेको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुवेंशी–रसुवागढी सडक योजनाका प्रमुख निरज शाक्यले बताए । ठेकेदार कम्पनीका जिम्मेवार प्राविधिक फागुनमा निर्माण उपकरण र सवारी साधन समेत लिएर हिडेपछि काम पूर्णरूपमा बन्द छ ।
लिएको काम छोडी बिस्तारमा बाधा पु-याएका कारण सूचना जारी गरी काममा फर्कन आग्रह गर्दा सम्पर्कमा नआएकाले नियमानुसार कारबाही प्रक्रिया अगाडी बढाईएको छ । ठेक्का रद्दका लागि चरणबद्धरूपमा दोस्रो सूचना पुनः जारी गर्ने तयारीसमेत भईरहेको प्रमुख शाक्यले बताए । काम छोडी त्रिदेशीय राजमार्ग निर्माणमा बाधा पु¥याउने कम्पनी पुनः काममा नफर्किए निजले अग्रिम पेश्कीबापत बुझेको साढे बाह्र करोड असुल गरी नयाँ प्रक्रियामा अगाडि बढ्न योजना कार्यालय बाध्य हुने बताईएको छ । नेपाली सेनाद्वारा डबल लेनमा खोलिएको सो राजमार्गमा हालसम्म सुधारका कार्य भने २३ प्रतिशत मात्र भएको छ । गल्छीदेखि स्याफ्रुसम्म निर्माण गर्नुपर्ने १६ वटा मध्ये ४ सम्पन्न भएको र अन्य पुल निर्माण भईरहेका छन् ।
सम्पन्न हुने पुलमा नुवाकोट जिल्लाको कोल्फुखोला, महेशखोला, गेर्खु खोला र रसुवा एवं नुवाकोटको सिमाना फलाखु खोलाको पुल साइटका स–साना कामबाहेक अन्य संरचना निर्माण सम्पन्न भईसकेको छ ।
No comments:
Post a Comment