![]() |
विदुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख पूर्णध्वज श्रेष्ठ शुक्रवार टाइफाइड बिरुद्धको खोप अभियान र खोप केन्द्रका बारेमा पत्रकारहरूलाई जानकारी दिँदै । तस्बिर : इमेज |
पत्रकार अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख महेन्द्रध्वज अधिकारीले नुवाकोट जिल्लाका १५ महिनादेखि १५ वर्षसम्मका ७५ हजार २०५ बालबालिकालाई दिइने यस खोप अभियानको व्यवस्थित र प्रभावकारी सञ्चालनमा सहजिकरणका लागि सबै पक्षसँग आग्रह गरे । खोप अभियानको लागि स्थानीय तहको समन्वयमा ४२९ खोप केन्द्र निर्धारण गरिएकोमा ८९८ जना स्वयंसेवक खटाईने छ । खोपको लागि जिल्लाभर स्वास्थ्य चौकीको साथै ८० प्रतिशत बालबालिकाहरू विद्यालयमा अध्ययन गर्ने भएकोले विद्यालयमै खटाएको उनले बताए ।
खोप अभियानको लागि १२ वटै स्थानीय तहमा केन्द्रहरू तोकिएको छ । विदुर नगरपालिकामा ६८, बेलकोटगढीमा ६५, दुप्चेश्वर गाउँपालिकामा ३५, म्यागङमा २४, किस्पाङमा २४, तारकेश्वरमा १५ खोप केन्द्र तोकिएको छ । शिवपुरीमा ४९, पञ्चकन्यामा १९, लिखुमा २४, तादीमा २९, सुर्यगढीमा २३ र ककनीमा ५१ खोप केन्द्रहरू तोकिएको छ ।
लक्षित बालबालिकाअनुसार सबै स्थानीय तहको खोप केन्द्रमा ५८६ खोप दिने स्वास्थ्यकर्मी खटाईएको छ ।
जसमा विदुर नगरपालिकामा १०५, बेलकोटगढीमा ८८, दुप्चेश्वर गाउँपालिका मा ५७, म्यागङमा ३३, किस्पाङमा ३२, तारकेश्वरमा ३८, शिवपुरीमा ४०, पञ्चकन्यामा ३१, लिखुमा ३२, तादीमा ४४, सुर्यगढीमा ३२ र ककनीमा ५४ स्वास्थ्यकर्मीहरू बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन खटाईएको बताइएको छ ।
उनका अनुसार खोपबाट कोही बालबालिका नछुट्ने गरी स्थानीय तहगतका सबै वडास्तरसम्मका विद्यालयमा पनि खोप टोली परिचालन गरिएको छ । ‘सुई लगाईएको ठाउँमा रातो हुने, सुन्निने र दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नीहरू दुख्ने केहि बालबालिकामा सामान्य असरहरू देखा पर्न जान्छ’, उनले भने– ‘अन्य जटिलता देखा परेमा तत्काल बिरामीको उपचारमा खट्ने त्रिशुली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट दिपेन्द्र पाण्डेको संयोजकत्वमा जिल्लास्तरीय व्यवस्थापन समिति तयारी गरेका छौं ।’
खोप विगतमा कुनै खोप लिदाँ गम्भीर प्रकारको प्रतिक्रिया देखा परेको वा कुनै कडा खालको एलर्जी, एड्सको लक्षण देखा परेको अवस्था र उच्च ज्वरो आएका बालबालिकालाई यो खोप लगाउनु नहुने उनले बताए । नेपालमा अझै पनि टाइफाइड रोगको उच्च सङ्क्रमण र जोखिम रहनाका साथै अस्पताल भर्ना हुने कारणमध्ये प्रमुख पाँचभित्र रहेको देखिएको छ । यो खोप सुरुमा १५ महिनादेखि १५ वर्ष उमेर समूहमा देशैभर अभियानमार्फत सञ्चालन गरी त्यसपछि नियमित खोपमार्फत १५ महिनाका बालबालिकालाई निरन्तर उपलब्ध गराइने जनाइएको छ ।
दक्षिण एसियामा नेपालले पहिलोपटक टाइफाइड रोगविरुद्धको खोप अभियान चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोपको सुरु भएको हो ।
यस अभियानबाट देशका १५ महिनादेखि १५ वर्ष उमेर समूहका करिब ७५ लाख बालबालिका लाभान्वित जनाएको छ ।
नियमित खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट बालबालिका हरूको बिरामी दर, अपाङ्गता र शिशु तथा बाल मृत्युदरसमेतमा उल्लेख्य कमी आउन सक्ने सरकारले लक्ष्य राखेको छ ।
No comments:
Post a Comment