व्यवस्थापिका संसद्को चौथो ठूलो शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनका लागि नुवाकोटमा प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो । राप्रपाले नुवाकोटमा लिखु गाउँपालिका वडा नं. ४ को वडा अध्यक्षदेखि सबै सदस्यहरू अघिल्लो स्थानीय तह निर्वाचन जितेको थियो । पार्टी कार्यालय विदुरमा पत्रकार सम्मेलन गर्दै राप्रपा नुवाकोटले प्रतिबद्धता सार्वजनिक गरेको हो । ‘राप्रपाको अभियान सकारात्मक परिवर्तन, राष्ट्रियता, हिन्दूराष्ट्र, विकास र सुशासन’ नारा दिइएको घोषणापत्रलाई पार्टीले ‘सङ्कल्पपत्र’को नाम दिएको छ ।
राप्रपाले सनातन हिन्दूराष्ट्र, राजसंस्थासहितको लोकतन्त्र सुदृढ, स्थानीय स्वायत्त शासन प्रणाली र आर्थिक उदारवादलाई प्रमख वैचारिक आधारस्तम्भ बनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नवाकोटका अध्यक्ष कुलबहादुर खड्गीले जिल्लामा संवैधानिक व्यवस्थाअनुरूप सहकार्य गरी निर्वाचनबाटै एजेन्डा स्थापित गर्ने र सबै जनतामाझ पुग्ने प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।
राप्रपाले नुवाकोटमा सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा गरिबी हटाउन योजना, आवास, स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखिएको छ । सुत्केरी महिलालाई तीन महिनासम्म मासिक दुई हजार रुपैयाँ पोषणभत्ता, सबै स्थानीय तहमा १० देखि १५ बेडको अस्पताल निर्माण, हाल राज्यले उपलब्ध गराएको भन्दा थप २० युनिट विद्युत् निःशुल्क उपलब्ध गराउने, प्रत्येक विद्यालयमा कम्प्युटर शिक्षा अनिवार्य गर्ने जनाएको छ ।
यसै बीच, सोही कार्यक्रममा सहभागि राप्रपाका केन्द्रीय सह–महामन्त्री झनक प्याकुरेलले नुवाकोटमा राप्रपामा आकर्षण बढेको बताए । नुवाकोटको १२ स्थानीय तहसहित ८८ वटै वडामा पार्टी कार्यालय स्थापना भइसकेको उनले जानकारी दिए । प्याकुरेलका अनुसार सत्तापक्षले चुनावी गठबन्ध गर्ने अवस्था भएमा विपक्षमा रहेका दलहरू पनि गठबन्ध गर्ने सम्भावना हुने भन्दै आफ्नो चुनावी तालमेल एमालेसंग हुनसक्ने संकेत दिएका छन् । ‘केन्द्रमा त यस विषयमा छलफल भइरहेको छ, जिल्ला तहमा यो सर्कुलर आएको छैन’, उनले भने– ‘आवश्यकताका आधारमा हामी सत्ता बाहिर रहेका दलहरू पनि गठबन्धन गर्ने सम्भावना उत्तिकै छ ।’
No comments:
Post a Comment