Monday, April 04, 2022

समाजवादीको आँखा विदुर, बेलकोटगढी र तारकेश्वरमा

बट्टारमा भएको पत्रकार भेटघाटमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे (बाँयाँबाट दोश्रो) ।

विदुर । नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश सरकारका मुख्य मन्त्री राजेन्द्रप्रसाद पाण्डेले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले नेकपा एमालेले यस अघि जितेको सबै ठाउँ गठबन्धनसंग माग गरेको बताएका छन् । 

शुक्रवार र शनिवार नुवाकोटका विभिन्न कार्यक्रममा सहभागि पाण्डेले सत्तारुढ दलहरू बीच भएको चुनावी गठबन्ध संघीय र प्रदेश निर्वाचनसम्म कायम रहने दावी गर्दै आफ्नो पार्टीपनि कमजोर नरहेको बताएका छन् । ‘एमालेले जुन जुन स्थानीय तह जितेको छ त्यो समाजवादीको भागमा हुनुपर्छ’, पाण्डेले भने– अवस्था परिस्थिति हेरेर केही यताउता हुने कुरा रहन्छ, तर गठबन्धनमा हाम्रो सहभागिता यसै गरी हुने छ ।’ गठबन्धमा रहेका दलहरू बीच छलफल सुरु भइसकेको र त्यसको सुरुवात नुवाकोटमा पनि भएको उदाहरण दिँदै उनले बाँडफाँडको खाका केहि दिनमै टुङ्गो लाग्ने बताए । 

उनको यस भनाईका आधारमा नुवाकोट जिल्लाको विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिका समाजवादीको रोजाईको क्षेत्रमा पर्ने देखिएको छ । उनको यो अभिव्यक्तिपछि समाजवादीका नुवाकोट स्थित नेताहरू समेत पहिला एमालेले जितेको स्थानीय तह चाहिने आशय ब्यक्त गर्न थालेका छन् । तर नुवाकोटमा रहेको दुई वटै नगरपालिका समाजवादीको रोजाईमा पर्दा स्थानीय तह बाँडफाँडको कार्यान्वयनमा समस्या हुने अन्य दलका नेताहरूले बताउन थालेका छन् ।  

समाजवादीका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश सरकारका मुख्य मन्त्री राजेन्द्रप्रसाद पाण्डेले स्थानीय निर्वाचनमा सबै स्थानमा गठबन्धन नहुनसक्ने भएपनि केन्द्रमा गठबन्धनमा रहेका दलहरूले पाँच दलीय गठबन्धनभन्दा बाहिर गएर आगामी निर्वाचनमा चुनावी तालमेल नगर्ने सहमति भएको बताएका छन्  । ‘गठबन्धन हुने कुरा चाँही तपाईहरू ढुक्क रहनुस् है’ पाण्डेले भने । एकै दलको मात्र बाहुल्यता भएको स्थानमा गठबन्धन कस्तो गर्ने टुङग्याउन बाँकी रहेकाले ८० प्रतिशत स्थानीय तहमा गठबन्धन हुने उनको तर्क छ । 

शुक्रवार दिउँसो हेलिकोप्टरमार्फत् नुवाकोट आएका उपाध्यक्ष एवं मुख्यमन्त्री पाण्डेले शुक्रवारनै नुवाकोटका पत्रकारहरूसंग भेटघाट गरेका थिए । त्यसपछि जिल्ला स्थित नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ताहरूसंग भेटघाट गरेको पाण्डेले शनिवार तीन वटा औपचारिक कार्यक्रम भ्याएका छन् । । विदुर नगरपालिका वडा न. ५ को पिपलटारमा निर्माण भएको फुटसलको पाण्डेले उद्घाटन गरेका छन् । त्यस्तै शनिवार नै लिखु गाउँपालिका र तादी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीको गाउँ सम्मेलनको उद्घाटन समेत पाण्डेले गरेका छन् । 

विभिन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी मुख्यमन्त्री पाण्डेले बागमती प्रदेश सरकारले शिक्षा र यातायात क्षेत्रमा आमूल परिवर्तन ल्याउन लागेको समेत दाबी गरेका छन् । उनले बागमती प्रदेशभित्रका ११९ स्थानीय तहका दलित, अल्पसंख्यक वा लोपोन्मुख वा सिमान्तकृत मध्येबाट एक/एक जनालाई एसईई पछि तीन वर्षे प्राविधिक शिक्षा दिएर आफ्नो स्थानीय तहमा फर्काउने बताए । प्रदेशका सामुदायिक विद्यालयबाट एसईई गरेर सामुदायिक कलेजमा उच्च शिक्षा लिने सबै छोरीहरूलाई छात्रवृत्ति दिने पनि मुख्यमन्त्री पाण्डेले बताए ।

उनले सार्वजनिक यातायातमा क्यासलेस गर्न कार्ड घोट्ने व्यवस्था ल्याउन लागिरहेको बताएका छन् । सार्वजनिक यातायातमा झन्झटिलो भाडादर तिनुपर्ने व्यवस्थालाई सहज गर्न नागरिकको सुविधाको लागि डिजीटल पेमेन्टको व्यवस्था गर्न लागेको मुख्यमन्त्री पाण्डेले बताएका छन् । त्यसै गरी प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिने वर्षै लामो प्रक्रियालाई अन्त्य गर्दै एकै दिनमा लाइसेन्स दिने व्यवस्था गर्न लागेको बताएका छन् । त्यसका लागि प्रत्येक जिल्लामै ट्रायल लिने ब्यवस्था हुने पाण्डेले बताए । 

No comments:

Post a Comment