Monday, April 25, 2022

विदुर, बेलकोटगढी र तारकेश्वरमा दुई दल पेलिए

विदुर । १८ चैत, २०७८ बाट नुवाकोटमा सुरु भएको सत्ता गठबन्धन दलको स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने उत्साहपूर्ण छलफल र बैठक ९ बैशाख, २०७९ अर्थात् २२ दिनपछि निराशामा परिणत भयो । सत्ता गठबन्धनको पाँच दल मध्ये चार दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) नुवाकोटमा क्रियाशिल छ । गठबन्धन जिल्ला संयन्त्रको पहिलो बैठक १८ चैत, २०७९ मा नेपाली काँग्रेसको पार्टी कार्यालय विदुरमा बसेको थियो । पहिलो बैठकमा जसपाबाहेकका तीन दल सहभागि थिए । दोश्रो बैठकबाट जसपा सहितको चार दलिय बैठक बस्न थालेको जिल्ला संयन्त्रको शुक्रवार १० बैशाख, २०७९ को बैठक भने दुई दलमा सिमित बन्न पुग्यो । नेपाली काँग्रेस र माओवादी केन्द्रद्धारा मात्रै औपचारिक प्रेस विज्ञप्तीमा हस्ताक्षर गरेर अन्य दुई पार्टीहरू समाजवादी र जसपा अलग भएको संकेत गर्यो । 

शुक्रवार साँझ नै जनता समाजवादी पार्टी नुवाकोटले प्रेस विज्ञप्ती जारी गरेर आफुहरू सत्ता गठबन्धनमा नरहेको र आसन्न स्थानीय तह निर्वाचन एक्लै भिड्ने जानकारी दियो । जिल्ला अध्यक्ष ईश्वरकुमार राउतद्धारा जारी विज्ञप्तीमा भनिए अनुसार जसपाको सम्मानजनक उपस्थिति नुवाकोटमा नहुने भएपछि बाहिरिएको हो । उनले सोही बिज्ञप्ती आफ्नो आधिकारी सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेर भनेका छन्– ‘कसैलाई हराएर कसैलाइ जिताउने नाउँमा जसपा नुवाकोट प्रयोग नहुने निर्णय गरियो । आजबाट अन्य राजनीतिक दलसित पनि सहमति र सहकार्य गर्न सकिने गरि ढोका खुल्ला गरिएको जानकारी गराउछौ ।’ यस सन्देश मार्फत् उनले एमालेसंग समेत जसपा तालमेल गर्न वा गठबन्धन गर्न नुवाकोटमा तयार रहेको संकेत गरेका छन् ।

बुधवारको चार दलिय संयन्त्रको बैठकमा भएको छलफल अनुसार समाजवादीलाई विदुर नगरपालिकामा ४ वटा वडा अध्यक्ष, बेलकोटगढीमा तीन वटा वडा अध्यक्ष र तारकेश्वरमा एउटा वडा अध्यक्ष दिने प्रस्ताव भएको थियो । हस्ताक्षर हुन बाँकी तर लिखित गरिएको उक्त निर्णय अनुसार जसपालाई बेलकोटगढीमा र तारकेश्वरमा एक÷एक वटा वडा अध्यक्ष दिने सहमती थियो । यहीबाट सुरु भएको अन्तरपार्टी कलह र आन्तरिक कलहको अन्तिम रुप नै शुक्रवार बसेको दुई दलको बैठक र जारी विज्ञप्ती रहेको संयन्त्रमा सहभागि दलका एक नेताले बताएका छन् । 

बुधवारको बैठकमा लगाइएको भागबण्डा अनुसार विदुर नगरपालिकामा नेपाली काँग्रेसलाई मेयर सहित वडा नंं. २, ३, ७, ८, १० र १३, नेकपा माओवादी केन्द्रलाई उपमेयर सहित ५, ९ र १२, समाजवादीलाई वडा नं. १, ४, ६ र ११ वडा भाग लगाइएको थियो । 

    त्यसै गरी तारकेश्वरमा काँग्रेसलाई अध्यक्ष सहित ३ वटा वडा अध्यक्ष, माओवादीलाई उपाध्यक्ष सहित एउटा वडा अध्यक्ष, समाजवादी र जसपालाई एक÷एक वटा वडा अध्यक्ष दिने सहमती भएको थियो । त्यसै गरी बेलकोटगढी नगरपालिकामा नेकपा माओवादीलाई मेयर सहित ४ वटा वडा, काँग्रेसलाई उपमेयर सहित ६ वटा वडा, समाजवादीलाई २ वटा वडा र जसपालाई एउटा वडा अध्यक्ष दिने प्रस्ताव थियो । विदुर नगरपालिकामा समाजवादीलाई वडा संख्या धेरै भएको भन्दै संयन्त्रको बैठकमा काँग्रेसले पुनः छलफल गर्न थालेपछि बुधवारको बैठक स्थगित भएको थियो । त्यसैको निरन्तरताको क्रममा शुक्रवार बसेको बैठकले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रलाई नुवाकोटका तीन पालिकाको विभाजन गरेको छ । विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकामा सिट भागबण्डा गरेको छ । 

विदुर नगरपालिकामा काँग्रेसलाई मेयर सहित ९ वटा वडा, माओवादीलाई उपमेयर सहित ३ वटा वडा र समाजवादीलाई एउटा वडा भाग लगाइएको छ । त्यस्तै बेलकोटगढी नगरपालिकामा माओवादीलाई मेयर सहित ५ वटा वडा, काँग्रेसलाई उपमेयर सहित ६ वटा वडा र समाजवादीलाई दुई वटा वडा भाग लगाइएको छ । तारकेश्वर गाउँपालिकामा काँग्रेसलाई अध्यक्ष सहित ४ वटा वडा, नेकपा माओवादीलाई उपाध्यक्ष सहित २ वटा वटा दिइएको छ । 

समाजवादीको नाममा भाग लगाइएको विदुर नगरपालिकाको एउटा वटा र बेलकोटगढी नगरपालिकाको दुई वटा वडा समेत काँग्रेस माओवादीले एक आपसमा भागबण्डा गरेर लिने सम्भावना छ । बेलकोटगढीमा दुई पार्टीले एक÷एक वटा वडा लिने र विदुरको एउटा वडा काँग्रेसले नै राख्ने सम्भावना देखिएको छ । आफुहरूको अनुपस्थितिमा अपमानजनक रुपमा बाँडफाँड गरिएको प्रति समाजवादी नुवाकोटका नेताहरूले असहमती जनाएका छन् । नेताहरूले सामाजिक सञ्जालमा निजी विचारका रुपमा धारणा सार्वजनिक गर्दै सत्ता गठबन्धनमा आफुहरू नरहेको जिकिर गर्दै आएका छन् । 

यस्तै, समाजवादी पार्टीले पनि शनिवार आधिकारिक धारणा सार्वजनिक गर्दै यस विषयमा आपत्ति जनाएको छ । शुक्रवार सञ्जालको तर्फबाट विज्ञप्ती जारी गर्नेहरूमा नेपाली काँग्रेस नुवाकोट सभापति रमेशकुमार महत र नेकपा माओवादी केन्द्र नुवाकोट संयोजक पुष्प लामिछाने छन् ।    

पछिल्लो सहमती अनुसार तीन पालिका विदुर, बेलकोटगढी र तारकेश्वरमा नेपाली काँग्रेस र माओवादी केन्द्रका बीचमा प्रष्ट सहमती भएको छ । जस अनुसार वडा अध्यक्ष हुने दलले दूई वटा वडा सदस्य लिने र समाजवादीले गठबन्धनको तर्फबाट वडा अध्यक्ष स्विकार गरेमा त्यस वडामा काँग्रेस माओवादीको कम्तिमा एक÷एक जना वडा सदस्य सुनिश्चित गर्नुपर्ने छ । 

समाजवादी र जसपाले आफुहरूको सहयोग बिना नुवाकोटको तीन पालिकामा जितेर देखाउन समेत काँग्रेस–माओवादी गठबन्धनलाई चुनौती दिएका छन् । एमालेले जितेको स्थानीय तहमा अनिवार्य गठबन्धन गर्ने र एमालेलाई हराउने भन्दै भएको गबठन्धनै अपूर्ण रहेको तर्क साना दलहरूको छ । 

जसपा जिल्ला अध्यक्ष इश्वरकुमार राउतका अनुसार मतका आधारमा काँग्रेस–माओवादीले साना दललाई ‘साइजमा राख्ने’ भन्दै अपमान गर्नु घातक हुने छ । जसपाका जिल्ला उप सचिव उद्धब पनेरुले माओवादी र काँग्रेसलाई जितेर देखाउन खुल्ला चुनौती समेत दिएका छन् । 


No comments:

Post a Comment