Monday, April 25, 2022

नुवाकोटमा त्रिपक्षीय भिडन्तको सम्भावना

फाइल तस्बिर
विदुर । नेकपा एमाले विरुद्ध देशब्यापी रुपमा बनाइन लागेको सत्ता पक्ष दलको गठबन्धन नुवाकोटमा कायम नहुने पक्कापक्की भएको छ। दुई नगरपालिका सहित १२ स्थानीय तह रहेको नुवाकोटमा चार राजनीतिक दलहरू नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बीच स्थानीय तह भागबण्डामा कुरा मिलेन । दुई दल काँग्रेस र माओवादीको मात्रै सहमतीमा भएको तीन पालिकाको भागबण्डा पनि कार्यान्वयन नहुने तहमा पुगेको चर्चा सुरु भएको छ ।

विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकामा काँग्रेस माओवादी बीचको सहमतीमा भएको भागबण्डाको विषयमा समाजवादीले आपत्ति जनाएर आफुहरू त्यसमा सहमत नभएको विज्ञप्ती जारी गरिसकेको छ । सोही विषयलाई लिएर जसपाले गठबन्धबाट नै अलग भएको सार्वजनिक गरेको छ । शुक्रवार काँग्रेस, माओवादी बीच भएको सहमती शनिवार रातीसम्म आइपुग्दा फेरि भत्किएको माओवादी केन्द्रका एक नेताले बताए। लिखित रुपमा सहमती गरेर सार्वजनिक गरिसकेको भागबण्डामा समेत काँग्रेसले तलमाथी गर्ने प्रस्ताव गरेपछि टुङ्गो लागेको भनिएको नुवाकोटको तीन स्थानीय तहको गठबन्धन समेत भत्किएको संकेत मिलेको हो । 

काँग्रेसले विदुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा मात्रै गठबन्धन गर्ने र नगरपालिकाका १३ वटै वडाहरूमा आपसी प्रतिस्पर्धा गर्ने प्रस्ताव ल्याएपछि माओवादीमा तरंग पैदा भएको छ । विदुर नगरपालिकामा यो समस्या उत्पन्न भएपछि माओवादी बलियो रहेको बेलकोटगढी नगरपालिकामा पनि गठबन्धन गरेर काँग्रेसलाई उपप्रमुख सहितको ६ वटा वडा दिनुको औचित्य नभएको माओवादीले बताएको छ। तर काँग्रेस र माओवादीका नेताहरूले भने तीन पालिकामा गठबन्धन नटुटेको दावी गरिरहेका छन् । काँग्रेस नुवाकोटका सचिव बैकुण्ठ मिश्रले आइतवार अपरान्ह विदुर, बेलकोटगढी र तारकेश्वरमा काँग्रेस(माओवादी गठबन्धन कायम नै रहेको र त्यो कार्यान्वयन हुने बताएका छन् । माओवादी केन्द्रका जिल्ला संयोजक पुष्प लामिछानेले समेत यी तीन पालिकामा गठबन्धन कायम रहेको दावी गरेका छन् । 

तर काँग्रेस, माओवादीका अन्य नेताहरू भने नुवाकोटको कुनै पनि तहमा कसैसंग गठबन्धनको सम्भावना अब नहरेको र एक्लाएक्लै प्रतिस्र्धामा जाने तयारी भइरहेको बताएका छन् । काँग्रेसले आइतवार विहानदेखि राती अवेलासम्म उम्मेदवार छानिरहेको छ । एक्लाएक्लै जानुपर्ने आन्तरिक सर्कुलर गरेर जित्ने उम्मेदावरको खोजी गरिरहेको बताइएको छ । माओवादी केन्द्रले समेत वडातहसम्म उम्मेदवारको टुङ्गो लगाउन आइतवार दिउँसोदेखि आन्तरिक गृहकार्य गरिरहेको छ। गठबन्धन हुने पक्का पक्की मनस्थिति बनाएर अन्तिम समयसम्म संगै देखिएको काँग्रेस र माओवादी अहिले उम्मेदवारको टुङ्गो एक्लाएक्लै लगाउनुपर्ने भएपछि नेताहरूको ब्यस्तता र दौडधुप बढेको छ । काँग्रेसले दुप्चेश्वर, लिखु र शिवपुरी गाउँपालिका बाहेक सबै तहमा नयाँ अनुहार उठाउने गरी उम्मेदवारको छनोट गरिरहेको छ। काँग्रेस भित्रको महत, केसी र बहादुर गुटको व्यवस्थापनका कारण भने काँग्रेसलाई अन्तिम समयमा सर्वमान्य हुने गरी उम्मेदवार छान्न सकस परिरहेको छ। काँग्रेस एक नेताका अनुसार अहिले निर्वाचित जनप्रतिनिधहरू नदोहो¥याउने गरी काँग्रेसका जिल्ला नेतृत्वले केन्द्रीय नेतृत्व समक्ष सुझाव पेश गरेको छ । उनले भने– ‘काँग्रेस भित्र ६० प्रतिशत उम्मेदवारको अनुहार नयाँ हुने छ ।’    

माओवादी केन्द्रको विदुर नगरपालिकामा प्रभा बोगटी प्रमुख या उपप्रमुख दुवैमा जाने गरी यस अघि नै निर्णय भइसकेको छ । प्रमुखका लागि सिफारिस भएका बोगटीलाई गठबन्धन हुने भएपछि शुक्रवार उपप्रमुखमा माओवादी केन्द्रले उठाउने निर्णय भएको माओवादी केन्द्रका जिल्ला सह–ईञ्चार्ज हिरानाथ खतिवडाले जानकारी दिएका थिए । 

काँग्रेस र माओवादीको गठबन्धन विथोलिएको संकेत पाएपछि समाजवादीले आइतवारबाट माओवादी केन्द्रसंगको वार्तालाई बाक्लो पारेको छ । समाचार श्रोतका अनुसार माओवादी र समाजवादीबीच नै गठबन्धन हुने सम्भावना बढेको छ। विदुर, बेलकोटगढी र तारकेश्वरमा काँग्रेस–माओवादी समीकरण भत्किएमा जिल्ला भरिनै र त्यहाँ कामय भएमा बाँकी नौं वटा गाउँपालिकामा माओवादी–समाजवादी गठबन्धन हुने पक्का भएको एक नेताले दावी गरेका छन् । ति नेताका अनुसार समाजवादीले शिवपुरीको अध्यक्ष सहित एउटा वडा र तादी गाउँपालिकाको उपाध्यक्ष सहित दुई वटा लिने सम्भावना बढेको छ । त्यसो हुँदा माओवादीले तादीमा अध्यक्ष र शिवपुरीमा उपाध्यक्ष सहित बाँकी वडाहरू पाउने छ। शिवपुरीमा समाजवादीका पदम उप्रेती अध्यक्ष माओवादी केन्द्रका मिनबहादुर गुरुङ उपाध्यक्ष, तादी गाउँपालिकामा माओवादी केन्द्रका किरणकुमार रिजाल अध्यक्ष हुने छन्। तादीमा समाजवादीबाट उपाध्यक्षमा उम्मेदवारी दिने व्यक्तिको विषयमा छलफल चलिरहेको छ ।   

यसरी माओवादी र समाजवादी बीच हुने तालमेलले ति दुई पालिका बाहेक दुप्चेश्वर, पञ्चकन्या, ककनी, गाउँपालिका बेलकोटगढी नपा, किस्पाङ गाउँपालिकामा माओवादीलाई सहज हुने छ । 

यता नेकपा एमालले विदुर नगरपालिकामा उम्मेद वारको टुङ्गो लगाएको छ। यस अघि निर्वाचित प्रमुख सञ्जु पण्डितलाई नै एमालले विदुर नगरपालिकामा प्रमुख पदको उम्मेदवार बनाउने निर्णय गरेको हो । उपप्रमुखमा अम्बिका पौडेल नेपाललाई एमालेले अघि सारेको छ । एमालले अन्य स्थानीय तहहरूको उम्मेदवार भने टुङ्गो लगाइसकेको छैन । अन्य दलको उम्मेदवार हेरेर सार्वजनिक गर्ने रणनीतिमा रहेको एमाले नुवाकोटले गठबन्धन हुँदा र नहुँदा मैदानमा उतार्ने पात्रा फरक हुने भएकोले ‘पर्ख र हेरे’को नीति लिएको बताइएको छ । 

No comments:

Post a Comment