नेपालमा लिखत पारित भएको एक सय वर्ष पुरा भएको अवसरमा मालपोत कार्यालय नुवाकोटले विदुरमा सरोकारवालाहरूसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा सहभागिहरूले मातपोल कार्यालयबाट नागरिकहरूले बेहोरिरहेका हैरानीको बारेमा ठोकेरै कुरा राखे । खुलम्खुल्ला हुने भ्रष्टाचार र अनियमितताको फेहरिस्ता कार्यक्रममा आएपछि जवाफ दिन अघि सरेका कार्यालय प्रमुख सेढाईंले भने– ‘म नुवाकोट आएको छ महिना भयो, धेरै सुधार गरेको छु, कोही कसैले मेरो नाममा वा हाम्रा कर्मचारीको नामामा रसिद काटेको भन्दा बढी र अन्य शुल्कको नाममा रकम लिएको पाएमा तुरुन्तै खबर गर्नुस्, ठाउँको ठाउँ कारबाही गर्छु । सिडिओ सा’प यही हुनुहुन्छ, पुलिस लगाएर समाउछु, एक सुका खादापनि खान्न खानपनि दिन्न ।’
तर मालपोत कार्यालयका कर्मचारीहरूलाई लेखापढी ब्यवसायीहरूले विगार्ने गरेको उनले ठोकुवा गरे । ‘दुई सय रुपैयाँ यस्सो गोजीमा हाल्दिन्छन्, अनि यो काम चाँही पहिला गरु भन्छन्, कर्मचारीहरू त्यही दुई चार सयको लोभमा काम यताउता गर्छन्’, मालपोत अधिकृत होमनाथ सेढाईंले भने– ‘त्यही दुई चार सय लिदालिदै कर्मचारीको बानी बिग्रदो रहेछ, भू–सेवा केन्द्रका साथीहरूलाई म त्यसरी कर्मचारीको गोजीमा सय÷पचास नहाल्दिन आग्रह गर्छु ।’ मालपोत कार्यालयको सेवा प्रवाहको अवस्था, आर्थिक चलखेल र अन्य पाटोको विषयमा खुल्ला भएर पोखिएका कार्यालय प्रमुख सेढाईंले आफ्नो कार्यकालमै नुवाकोट मालपोतलाई नमूना बनाउने प्रतिवद्धता जनाएका छन् । ‘हामीलाई न सरकारको सहयोग, न सेवाग्राहीले विश्वास गर्छन्, न त पत्रकारहरूले नै राम्रो भन्छन्,’ उनले भने– ‘तर म आम नागरिकहरूले मालपोत कार्यालय र मालपोतका कर्मचारीहरूलाई हेर्ने दृष्टिनै परिवर्तन गराउछु ।’
उनले अहिलेसम्म नुवाकोटमा सुरु नभएको भू–सेवा केन्द्रको अनुमती दिने काम पनि आफु आएपछि भएको सुनाए । अब स्थानीय सरकारले आफ्नै पालिकामा भू–सेवा केन्द्र स्थापना गरेमा मालपोतको आधा काम होलो हुने र नागरिकहरूले घरमै बसेर सेवा लिन पाउने अवस्थाको सृजना हुन लागेको सेढाईंले बताएका छन् ।
कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले नमिलेको काम मिलाउने, मिलेको कागजपनि मिलेको छैन भनेर झुलाउने र समयमा काम नगर्ने गरी तीन किसिमले कर्मचारीहरूले अनियमितता गर्ने गरेको सुनाए । ‘समस्या धेरै छ, गुनासो पनि आइरहेको छ, नकोट्याइकन कर्मचारीको टेवलबाट फाइल नै सर्दैन, अनि केले कोट्याउनुपर्ने हो त्यो गरेपछि धमाधम काम हुन्छ’ रिसालले भने । यस्तो तरिकाबाट भइरहेको कार्यशैलीका कारण सरकारी कर्मचारीहरू राष्ट्र सेवक हुन् भन्नेमा नागरिकले शंका गर्ने गरेको उनले सुनाए ।
लेखापढी गर्नेहरूले सेवाग्राही खुसी भएर दिएको रकम लिने भन्दै असमान सेवा शुल्क लिइरहेको विषयमा पनि प्रमुख जिल्ला अधिकारी रिसालले चासो राखेका छन् । उनले सबै लेखापढी व्यवसायीको सेवा शुल्क समान हुनुपर्ने र रसिद विना कारोवार गर्न नमिल्ने तर्क गरेका छन् । ‘हामी सबै सुशासन र पारदर्शीता खोजिरहेका छौं, अब लेखापढी व्यवसायी साथीहरूको पनि शुल्क समान गराउने तर्फ ध्यान दिऔं न’ प्रजिअ रिसालले भने ।
कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका उपप्रमुख अप्सरा थापा, नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, विदुर खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष नारायणबहादुर खनाल, राष्टिूय उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका सचिव हरिशरण गजुरेल लगायतले मालपोत कार्यालयमा हुने खुलेआम भ्रष्टाचार र नागरिकहरूले पाइरहेको सास्तीको बारेमा बोलेका थिए । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी रामप्रकाश शाह, जिल्ला नापी कार्यालय नुवाकोटका प्रमुख सञ्जिब सिंहले मालपोत कार्यालय लगायतका सरकारी कार्यालयहरूमा सुधार गर्न सकिने पक्ष र नागरिकमैत्री सेवा दिने तरिकाको बारेमा मन्तब्य राखेका थिए । पत्रकार महासंघका अध्यक्ष खनालले दैनिक मालपोतमा अनियमितता हुने गरेको र समयमा काम नभएको गुनासो आउने गरेको दावी गरेका छन् । कार्यालय प्रमुखदेखि कर्मचारीकै नाममा खुलेआम रकम असुली हुने गरेको र त्यसको नियन्त्रणका लागि मालपोत कार्यालय र प्रमुखको ध्यान कम भएको भन्दै उनले त्यस तर्फ तत्काल आफ्नो ध्यान केन्द्रीत गराउन कार्यालय प्रमुख सेढाईको ध्यानाकर्षण गराएका छन् ।
No comments:
Post a Comment