जिल्ला कृषिगणना अधिकृत नरेन्द्र शर्मा भट्टका अनुसार गणनाका लागि नुवाकोट जिल्लामा २२ जना सुपरिवेक्षक र ८६ जना गणक खट्ने छ । कृषिगणनाबाट कृषिसँग सम्बन्धित सम्पूर्ण विवरण प्राप्त हुने छ । खेतीयोग्य जमिन, जमिनमा प्रयोग भइरहेको मलदेखि विषादीसम्मको विवरण समेट्ने गरी प्रश्नावली बनाइएको उनले जानकारी दिए ।
कृषिगणनामा नेपालका प्रत्येक जिल्लाको कृषि संरचना, गतिविधि तथा कृषि उत्पादनसँग सम्बन्धी विवरण संकलन गरिन्छ । कृषकले चलन गरेको जग्गाको आधार, जग्गाको उपभोग र उपयोग, बाली लागेको क्षेत्रफल र बालीको उत्पादन, सिंचाई, पशुपन्छी संख्या, कृषि औजारको उपयोग, कृषि कर्ममा संलग्न जनशक्तिजस्ता विषयमा तथ्याङ्क संकलन गरिने भएको छ ।
गएको आईतबार जिल्ला कृषिगणना नुवाकोटले विदुरमा आयोजना गरेको जिल्लास्तरीय कृषिगणना सचतेना कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले यसबाट कृषि क्षेत्रको योजना तर्ज‘मा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनमा मुलुकलाई आवशयक पर्ने तथ्याङ्क उपलब्ध हुने बताए छ ।
मुलुक संघीयतामा गएपछि पहिलो कृषि गणना गर्न लागेको हो । विगतका कृषि गणनाहरूले कृषि संरचना, कृषि गतिविधि तथा कृषि उत्पादनसम्बन्धी विवरण जिल्ला तहसम्म मात्र दिँदै आएकोमा यसपटक संघीय ढाँचा अनुसारका गाँउपालिका÷नगरपालिका तह सम्मको तथ्याङ्क उपलब्ध हुने सहायक प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले बताए ।
कार्यक्रममा कोष तथा लेखा नियन्त्रण कार्यालय नुवाकोटका प्रमुख रामकृष्ण पुडासैनीले कृषकले चलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग, बाली लागेको क्षेत्रफल र बालीको उत्पादन, सिंचाइ, पशुपक्षीको संख्या जस्ता कुराहरू संकलन हुने भएकोले यो गणना महत्वपूर्ण हुने बताएका छन् । उनले भर्खरै जनगणना सकिएको र फेरि कृषिगणना के का लागि होला भन्ने नागरिकहरूमा प्रश्न रहनसक्ने र अघिल्लो जनगणनाबाट नै कृषकहरूको पहिचान भएपछि कृषिगणना हुने जानकारी दिनु आवश्यक रहेको बताए । ‘त्यसका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहन्छ, उनले भने– ‘कृषकहरूलाई यसको आवश्यकता र उपलब्धीका बारेमा अग्रिम जानकारी गराउनु आवश्यक छ ।’
यस वर्षको नारा ‘कृषिगणनाको सार, कृषि योजनाको पूर्वाधार’ छ ।
राष्ट्रिय कृषि गणना भनेको के हो ?
नेपालको कृषि क्षेत्रको विवरण जस्तैः कृषि चलन, खेतीपाती गरिएका कित्ताहरूको क्षेत्रफल, विभिन्न बालीनालीको क्षेत्रफल र उत्पादन, पशुपक्षीको संख्या, सिँचाई, कृषि सामग्रीको प्रयोग, माछापालन, वनवनेलो आदि विवरणहरू संकलन, प्रशोधन तथा प्रकाशन गर्ने समग्र कार्य नै राष्ट्रिय कृषि गणना हो । नेपालमा वि.सं. २०१८ साल देखि हरेक दश दश बर्षमा कृषि गणना सञ्चालन भई आएको छ । यस क्रमको सातौ राष्ट्रिय कृषिगणना २०७८ चैत्र, वैशाख र जेठमा सञ्चालन हुँदैछ ।
कसरी सञ्चालन हुँदै छ ?
प्रथमतः राष्ट्रिय जनगणना २०७८ अन्तर्गत पारिवारिक विवरण संकलन गर्दा हरेक परिवारले चलन गरिआएको खेतीपातीको क्षेत्रफल र पशुपक्षीको संख्या संकलन गरिएको थियो । त्यही लगतको आधारमा ७७ जिल्लाको ७५३ गाँउपालिका र नगरपालिकाहरूमा वैज्ञानिक छनौट विधिले छानिएका गणनाक्षेत्र (वडा, वडाखण्ड) मा रहेका कृषक परिवारहरूको सूची अध्यावधिक गरी निश्चित मात्रमा कृषक परिवार छानि छानिएका कृषक परिवारसंग व्यक्तिगत अन्तर्वार्ताद्वारा कृषिचलन सम्वन्धी विस्तृत विवरण संकलन गरिने छ । यस गणना अन्तर्गत पारिवारिक, व्यावसायिक, तथा संस्थागत रुपमा संचालन भएका कृषिकार्यको विवरण संकलन गरिनेछ ।
सबै घर परिवारको संकलन गरिन्छ ?
राष्ट्रिय जनगणनामा २०७८ जस्तै कृषि गणनामा सवै घरपरिवारको गणना नभई ७५३ वटै स्थानीय तहहरूको प्रतिनिधित्व हुने तथा पुर्ण विवरण आउने गरी तथ्याङ्कीय विधिबाट छानिएका करिव तीन लाख पचास हजार कृषक घरपरिवारको मात्र पुर्ण गणना हुन्छ । जनणनामा करिव ४१ लाख कृषक परिवारको सुचिकरण भएको थियो भने, कृषि गणनामा जनगणना बाट प्राप्त कृषक परिवार मध्ये करिव तीन लाख पचास हजार कृषक परिवार वैज्ञानिक विधिबाट छनोट गरी विस्तृत विवरण संकलन गरिन्छ ।
फिल्ड कार्य कहिले हुँदै छ ?
यहि २०७८ चैत्र १ गते सवै ७७ वटै जिल्लाहरूमा कृषिगणना कार्यालय स्थापना गरी आगामि २०७९ को बैशाख ६ र जेठ १९ सम्म सवै ७५३ स्थानीय तहहरूमा छनोटमा परेका कृषक परिवारबाट कृषिगणनाको तथ्याङ्क संकलन कार्य सञ्चालन हुनेछ ।
के कस्ता विवरणहरू संकलन हुँदै छन् ?
राष्ट्रिय कृषिगणना अन्तर्गत कृषक परिवार प्रश्नावली मार्फत कृषक परिवार, कृषि चलन, कृषि कामदार, कित्ताहरूको विवरण र सिँचाई, कित्ता अनुसारका भू–उपयोग, कित्ता अनुसार खेती गरिएका अन्नबाली, कोसेबाली, दलहन, कन्दमूल, तेलबाली, नगदेबाली, मसलाबाली, अन्य तरकारी, फलफूल, बीउविजन विषादि तथा मलखादको प्रयोग, पाल्तु पशुपक्षीको उमेर अनुसारको संख्या, कृषि कार्यमा प्रयोग हुने भवन र संरचना, कृषि औजार, पोखरीको विवरण र माछापालन, मौरी पालन, च्याउ र पुष्पखेती, रेशम खेती, कृषि ऋण, बीमा र अनुदान, कृषिमा वातावरणीय प्रभाव, दैवी प्रकोप, खाद्य पर्याप्तता, महिला र पुरूषको नाममा रहेको कृषि जग्गा र परिवारका अन्य आर्थिक कृयाकलाप सम्बन्धी विवरणहरू संकलन गरिने छन् ।
कृषि कत्ति किसिमको हुन्छन् ?
पारिवारिक कृषि कार्य भनेको मुख्यतः परिवारको उपभोगको लागि अन्न, तरकारी, फलफूल, पशुपन्छीपालन, आदिको कृयाकलापलाई जनाउँछ । व्यावसायिक कृषि भन्नाले दर्ता गरेका वा नगरेका मुख्यतः विक्री प्रयोजनको लागि गरिएका खेतीपाती, पशुपन्छीपालन, माछापालन आदिलाई जनाउँछ । जस्तैः व्यवसायिक रुपमा गरिएका तरकारी खेती, फलफूल खेती, ठूलो संख्या गरिएको कखुरापालन, बाख्रापालन, दूध तथा दूधजन्य उत्पादन बिक्रिको लागि गरिएको गाई भैँसीपालन, आदि पर्दछन् । त्यस्तै संस्थागत कृषिकार्य भन्नाले सरकारी, अर्धसरकारी वा गैरसरकारी फार्महरू पर्दछन् । यसमा सहकारी व्यवस्थापन अन्तर्गत संचालित कृषि फार्महरू पनि पर्दछन् ।
तथ्याङ्क संकलन गर्न को आउछ ?
कृषिगणनाको फिल्डकार्यमा तथ्याङ्क संकलनको लागि छानिएका गणना क्षेत्रहरूमा ५ हजार भन्दा बढी गणकहरू तथ्याङ्क संकलनको लागि घरघरमा आउँछन् । यस कार्यको सुपरिवेक्षण तथा सहजिकरणको लागि करिव १ हजार ३ सय सुपरिवेक्षकहरू गणकसंगै खटिनेछन् जसमा महिला कर्मचारीहरूको उल्लेख्य सहभागिता हुनेछ । ७७ जिल्लामा अस्थायी प्रदेश तथा जिल्ला कृषि गणना कार्यालय खुल्नेछन् ।
कस्तो विधि प्रयोग हुन्छ ?
तथ्याङ्क संकलनमा मिश्रित विधि (कागज र कलम सहितको अन्तर्वाता विधि र ट्याबलेटको प्रयोग गरी) प्रयोग हुनेछ । यी दुबै माध्यमबाट संकलित तथ्याङ्क केन्द्रमा एकत्रित र प्रविष्टि भएपछि परम्परागत र नयाँ प्रविधिकै आधारमा, प्रशोधन, तालिकीकरण, विश्लेषण गरिने छ ।
सरकारलाई के सहयोग पुग्छ ?
राष्ट्रिय कृषिगणनाको नतिजा गापा, नपा, प्रदेश स्तरमा र राष्ट्रिय स्तरमा समेत उपलब्ध हुने भएकोले संघीय, प्रादेशिक तथा स्थानीय निकायको योजना तर्ज‘मा, अनुगमन, मूल्यांकन गर्न सघाउ पुग्दछ । विशेषतः कृषि क्षेत्रको समस्या र कृषकका समस्या पहिचान र तदनुरुपको कार्यक्रमको तर्जुमा गर्न सहयोग पुग्दछ । यसको अतिरिक्त नीति निर्माता, अनुसन्धानकर्ता, विद्यार्थी, संचार जगत आदिको लागि पनि उपयोगी सूचना उपलब्ध हुनेछ ।
खाद्य अप्राप्तताको सम्वोधन हुन्छ ?
नेपालको कृषि प्रणालीमा महिलाको बढ्दो सहभागितालाईृ ध्यानमा राखी महिलाको अगुवाईमा भइरहेका खेतीपातीको विवरण संकलन गरिने छ । महिलाहरूको स्वामित्वमा रहेको कृषि जग्गा, महिलाको कृषिकार्य सम्बन्धी निणर्यमा सहभागिता, महिलाले कृषिकार्यमा दिएको समय आदि विवरणहरू संकलन गरिनेछ । साथै अन्तर्वार्ता कार्यमा महिला सुपरिवेक्षक र गणकहरूको उल्लेख्य मात्रमा सहभागी हुनेछन् ।
कृषि गणनाको नतिजा प्रतिवेदनमा महिला विषयक विश्लेषण सहितको एक छुट्टै प्रतिवेदन समेट प्रकाशन गरिनेछ । यसका साथै संयुक्त राष्ट्र संघको दीगो विकास लक्षका सूचकहरू विशेषतः
भोकमरी, खाद्य असुरक्षा र ग्रामीण गरिवीको अन्त्य संग सम्वन्धित तथ्यांकीय विवरणको छुट्टै विश्लेषण गरिनेछ । साथै सरकारको पन्ध्रौं योजनाको उद्देश्य, लक्ष, र नीतिलाई पनि प्राथमिकतामा राखी कृषिगणनाको अवधारणा, परिभाषा, र निर्देशिका तयार गरिएकोले सोही बमोजिम नतिजा विश्लेषण गरिनेछ ।
कृषकको भूमिका के हुन्छ ?
कृषिगणनाको नतिजा स्थानीय, प्रदेश तथा संघीय सरकार, अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी सबैका लागि योजना तर्जुमा, अनुगमन, मूल्यांकन, अध्ययन र अनुसन्धानका लागि महत्वपुर्ण हुने हुदाँ सहि विवरण उपलब्ध गराउनु छानिएका कृषक परिवारको दायित्व हुनेछ भने, कृषि गणनाको महत्व बुझाउने र प्रचार प्रसार गरी गुणस्तरिय तथ्याङ्क संकलन गर्न सहयोग पु-याई कृषिगणना सफल पार्नु सवै समुदाय तथा सवै सर्वसाधारणको कर्तव्य महत्वपूर्ण हुनेछ ।
No comments:
Post a Comment