विदुर । नेपालको पानी जनताको लगानी भन्ने कार्यक्रम अन्तर्गत निर्माणाधीन माथिल्लो त्रिशुली ‘थ्री बी’ जलविद्युत् आयोजनाको निर्माणले गति लिएको छ ।
कोरोनाको संक्रमण मत्थर हुँदै गएपछि आयोजनाको निर्माणले गति पाएको हो । रसुवा र नुवाकोट जिल्लाको सिमानामा निर्माणाधीन जलविद्युत् आयोजनाको क्षमता ३७ मेगावाट रहेको छ । माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजनाको प्रवद्र्धक त्रिशुली जलविद्युत् कम्पनी हो । यो आयोजनामा जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत सर्वसाधारणको लगानी भइसकेको छ ।
माथिल्लो त्रिशुली ‘थ्री ए’ जलविद्युत् आयोजनाको क्यास्केड भएकाले ‘थ्री बी’ जलविद्युत् आयोजनालाई बाँध र बालुवा थिग्राउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु नपर्ने आयोजनाले बताएको छ । थ्री ए’को विद्युत् गृहबाट निस्किएको पानीलाई ‘थ्री बी’ आयोजनाको सुरुङमा पठाइने छ । अर्धभूमिगत विद्युत् गृह रहने आयोजनाको सम्पूर्ण संरचना भूमिगत रहने छ । अहिलेसम्म आयोजनाको ६६ प्रतिशत भन्दा बढी काम सकिएको कम्पनीका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमले बताए ।
विद्युत् गृह, सर्ज ट्याङ्क, पेनस्टक लगायतका संरचनाको निर्माण भइरहेको छ । उक्त आयोजनाको ३ हजार ८०५ मिटर मुख्य सुरुङमध्ये अहिलेसम्म ३ हजार ५३ मिटर खनिएको छ । (ईपीसी ) मोडेलमा आयोजना निर्माण भइरहेको छ । आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनी सुइफा एएनएचई ग्रुप कम्पनीले पाएको छ । आयोजनाको सिभिलतर्फका सम्पूर्ण संरचना निर्माण, इलेक्ट्रोमेकानिकल र हाइड्रो मेकानिकल तर्फका उपकरणहरूको डिजाइन, निर्माण तथा जडान गर्ने छ ।
२०७७ फागुन मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर कोभिडका कारण करिब १५ महिना काम ठप्प भयो । नयाँ वर्ष मनाउन घर गएका चिनियाँ कामदार फर्कन नपाएको र चीनबाट उपकरण तथा सामाग्री ल्याउन नसक्दा निर्माण अवरुद्ध भएको थियो ।
मुख्य सुरूङमार्गमा कमजोर चट्टान फेला परेका कारण पनि आयोजना निर्माणमा ढिलाइ भएको हो । रसुवागढी नाकाबाट पूर्णरूपमा आयात नहुँदा निर्माण कम्पनीले चीनमा खरिद गरेका उपकरण तथा सामग्री ल्याउन पनि ढिलाइ भइरहेको छ । गौतमले भने ‘चीन पुगेर इलेक्ट्रोमेकानिकलका उपकरण ठीक छ, छैन भनेर परीक्षण गर्न पाइएको छैन ।
२०२३ सेप्टेम्बरमा आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य छ । ब्याज जोडेर कुल अनुमानित लागत ८ अर्ब २२ करोड रहेको छ ।
No comments:
Post a Comment