Monday, June 13, 2022

२०७९ साल जेठ ३० गतेको सम्पादकीय

 सिसडोलमा १७ वर्षदेखि अत्याचार

दुई वर्षका लागि नुवाकोटको तत्कालीन ओखरपौवा गाविस(४ सिसडोलमा सेनिटरी ल्यान्डफिल साइट सञ्चालन गर्न १ जेठ २०६२ मा सम्झौता भयो  । सिसडोलको १४५ रोपनी सार्वजनिक र अधिग्रहण गरिएको २८७ गरी ४३२ रोपनीमा ल्यान्डफिल साइट बनाउन सम्झौता गरियो । त्यसमा महानगरले स्थानीय बस्तीमा प्रावि स्कुल स्थापना, सुविधा सम्पन्न अस्पताल चौकी र सडक निर्माणलगायतका पूर्वाधार निर्माण गर्ने मात्र होइन, स्वास्थ्य बिमा, उपचार र रोजगारीलगायतको प्रत्याभूति गरिएको थियो । उक्त सम्झौतामा फोहोर व्यवस्थापन वैज्ञानिक ढंगबाट हुने, फोहोरले पारेको प्रभावका बारेमा हरेक चार÷चार महिनामा प्रयोगशाला परीक्षण गरिने, वातावरणीय अवस्थाको अध्ययन गरिने, लिचेट व्यवस्थापन हुने विषय समेटिएको छ । ओखरपौवाको सिसडोल काठमाडौंबाट २७ किलोमिटर टाढा छ । फोहोर बोकेका टिपर काभ्रेको बनेपादेखि काठमाडौंको बालाजुबाट मुड्खु, ओशो तपोवन, नुवाकोटको तीनपिप्ले, कागती गाउँ, महालक्ष्मीथान, रातमाटे हुँदै कोल्पुबाट सिसडोल पुग्दै आए । सम्झौता दुई वर्षका लागि भनिएको थियो किनकि यो अवधिभित्र थप तीन किलोमिटर पर बन्चरेडाँडामा सेनिटरी ल्यान्डफिल साइट बनाउने सरकारको योजना थियो । तर, सम्झौता भएको १७ वर्षसम्म सिसडोलमा नै काठमाडौं उपत्यकाको फोहोर विसर्जन भइरह्यो । सेनिटरी ल्यान्डफिल साइट भनेको फोहोरलाई वैज्ञानिक व्यवस्थापन गर्ने ठाउँ हो । तर, महानगरले घरदेखि अस्पतालबाट निस्किने सबै फोहोरलाई विसर्जन मात्र गर्दै आयो । सुरुमा सेनिटरी ल्यान्डफिल साइटमा फोहोरलाई छुट्याएर मात्रै सिसडोलमा विसर्जन गर्ने भनिएको थियो । त्यसैले लिचेट (लेदो) जम्मा गर्न सानो पोखरी पनि बनाइएको थियो । तर, त्यो फोहोरको मात्रा बढ्दै गएपछि फोहोर सिधै विसर्जन गर्न थालियो । लिचेट पाखो, बाटोमा बग्दै सिधै कल्पु खोला बग्छ । यसबाट निस्कने लिचेटका कारण खोला, वातावरण पूरै प्रदूषित बनेको छ । प्रदूषणका कारण खोलामा त अब कुनै जीव छैनन्, बस्तीको जीवनसमेत संकटमा छ ।

२०६३ सालमै १६ बेडको अस्पताल निर्माण गर्ने सहमतिमा भनिएको थियो तर अहिलेसम्म बनेन । सम्झौतापत्रमा अस्पताल र भेटनेरी अस्पताल पनि निर्माण गर्ने भनिएको थियो, त्यो पनि भएको छैन । स्थानीय स्वास्थ्यचौकीमा पनि औषधि छैन । स्वास्थ्यचौकीमा एक/एक जना एचए र स्टाफ नर्स, एक जना अहेव, एक जना ल्याब असिस्टेन्ट र दुई जना कर्मचारी कार्यरत छन् । तर, अहिले झाडापखाला लागेका बिरामीलाई जीवनजलसमेत दिन नसक्ने अवस्थामा स्वास्थ्य चौकी छ । तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षमा स्वास्थ्यचौकीमा ५२ सय बिरामी आएका थिए भने यसपालि जेठमै यो संख्या ६४ सय पुगेको छ । फोहोरका कारण रोग बढिरहेको र झाडापखाला, टाइफाइड, छालासम्बन्धीका रोगी मात्र होइन, बस्तीमा क्यान्सर पनि बढेको छ । विभिन्न संघसंस्थाले बेलाबेलामा गर्ने स्वास्थ्य परीक्षणमा सिसडोलका बासिन्दाहरूमा विभिन्न स्वास्थ्य समस्या फेला पारिरहेको छ । फोहोरसँगै आउने दुर्गन्ध, जमिन र जल प्रदूषणले स्वास्थ्यमा नकारात्मक असर पुगेको देखिन्छ । क्यान्सरका रोगी बढेको देखिन्छ, कारण फोहोरको टक्सिन हुन सक्छ । सिसडोलका बासिन्दा बिरामी हुँदा उपचार गर्न अस्पताल छैन, स्वाथ्यचौकीमा हेल्थ असिस्टेन्ट नभएकाले अहेवले चलाएका छन् । 

स्वास्थ्यचौकीमा सिटोमोलको गोली छैन, तर सशस्त्र प्रहरी भने राइफलमा गोली लोड गरेर तैनाथ छ । स्वास्थ्यचौकी दिउँसो दुई बज्दानबज्दै बन्द हुन्छ, तर सशस्त्रको बेस क्याम्प भने २४ सै घण्टा सक्रिय छ ।

पछिल्लो केही दिनदेखि फोहोर ल्याउन रोक लगाउन स्थानीयहरू आन्दोलित छन् । सरकार उनीहरूलाई दमन गर्न थालेको छ । झाडापखालाका लागि जीवनजल र सामान्य रोगका लागि औषधिको एक गोली ब्यवस्था नगर्ने सरकारले आन्दोलन दमन गर्ने भन्दै प्रहरीलाई हातहितयार र गोली सहित पठाएको छ । अत्याचारमा परेका स्थानीय विरोधमा उत्रिएलान् भनेर सरकारले सशस्त्र प्रहरीको पोस्ट नै खडा गरेको छ । सशस्त्र प्रहरी बल नेपाल, ल्यान्डफिल्ड साइड सुरक्षा बेसमा डीएसपीको कमान्डमा ३० जना सुरक्षाकर्मी खटिएका छन् । स्वास्थ्यचौकीमा सिटोमोलको गोली छैन तर सशस्त्र प्रहरी भने राइफलमा गोली लोड गरेर तैनाथ छ । स्वास्थ्यचौकी दिउँसो दुई बज्दानबज्दै बन्द हुन्छ, तर सशस्त्रको बेस क्याम्प भने २४ सै घण्टा सक्रिय छ । त्यति मात्र होइन, सिसडोल पुग्नुअघि कागती  गाउँमा पनि अस्थायी प्रहरी चौकी छ । जहाँ असईको कमान्डमा ७ जना प्रहरी २४ सै घन्टा खटिन्छन् । सिसडोलबाट आउने दुर्गन्ध, प्रदूषणको प्रकोप वरपरका गाउँका वासिन्दाहरूले समेत सहँदै आएका छन् । पहिला दुर्गन्ध रोक्न नियमित रूपमा औषधि छरिन्थ्यो । तर, अहिले त्यो पनि बन्द भएको छ । पहिले बस्तुलाई खुवाउनेदेखि धार्मिक कर्म र नुहाउनका लागि स्थानीयहरूले कोल्पु खोलाको पानी प्रयोग गर्थे । खोलाकै पानी प्रयोग गरेर धान रोप्थे । अहिले पानी नै विषाक्त भएको छ । ५० मुरी धान फल्ने खेतमा अहिले ७ मुरी पनि फल्दैन ।

यो सबै समस्याको जानकारी सरकारसंग छ, किनकी सरकार आफ्नै सिसडोलमा समस्या सिर्जना गर्दै आइरहेको छ । अनि महानगरपालिकाले आफ्नो प्रतिवद्धता कार्यान्वयनका लागि कहिल्यै सकारात्मकसम्म भएको पनि देखिएको छैन । यसरी नागरिहरूमाथी अत्याचार गरेर भइरहेको फोहोर व्यवस्थालाई तत्कालै रोक्नु जरुरी छ । नागरिकहरूको स्वास्थ्य, कृषि उत्पादनमा ह्रास आउन नदिने प्रयासको थालनी अनि पानीको संरक्षण र वातावरण सुरक्षणलाई प्राथममिकतामा  राखेर मात्रै हुने फोहोर व्यवस्थापन स्थानीय नागरिकहरूका तफृबाट स्विकार्य हुनसक्छ । यसतर्फ तत्कालै सोच्नु, नागरिकहरूको पक्षमा काम थाल्नु जरुरी छ । 

No comments:

Post a Comment