Monday, June 13, 2022

राष्ट्रिय चर्चा पाएको नुवाकोटको विद्यालय


विदुर । गएको साता उत्कृष्ठ केही सामुदायिक विद्यालयहरूको सूचीमा नुवाकोटको एक सामुदायिक विद्यलायको नाम समेत देख्दा धेरै अलमलमा परे । आफ्नो छिमेकमा भएको गाउँमा भएको विद्यलाय उत्कृष्ठ विद्यलायको सूचीमा देख्दा धेरै अभिभावकहरूले त पत्याउनै मानेनन् । अनि कत्ति अभिभावक र विद्यार्थीहरू त अलमलमा समेत परे । 

विद्यार्थीको अधिक चाप हुने १२ सरकारी विद्यालय शिर्षकमा बाहिर आएको एक समाचारमा विदुर नगरपालिका वडा नं. १२ स्थित विरेन्द्र माविको पनि चर्चा भयो । हुन त शहरदेखि गाउँसम्म नियाल्ने हो भने, निःशुल्क विद्यार्थीहरूलाई पठनपाठन गराउने विद्यालयहरू निकै कम भेटिन्छन् । त्यसमा पनि अभिभावकहरू विद्यार्थीहरूले गरूङ्गो झोला बोकेर हिड्दा मात्र धेरै पढ्ने सम्झिन्छन् । शैक्षिक क्षेत्रमा पनि एक प्रकारको विभेद कायमै छ सरकारी विद्यालय र बोर्डिङ विद्यालयबीचको । अभिभावकहरूलाई सरकारी विद्यालयहरूको नाम त्यति धेरै थाहा हुन्न तर, बोर्डिङ स्कुलहरूको सबैलाई थाहा हुन्छ । जहाँ शिक्षालाई पनि दुई भागमा छुट्याइन्छ ।

कोभिड पछिको अस्तव्यस्त शैक्षिक क्षेत्र विस्तारै चलाएमान बन्दैछ । विद्यालयको गतिविधिहरू केही परिवर्तन भएको हामी आफैंले पनि देख्न सक्छौं । केही नयाँ आश गर्न लायक विद्यालयहरू पनि छन् भने केही अस्तव्यस्त । यसैबीच फरक शैली र गुणस्तरीय शिक्षामा दखल राख्दै आएको नुवाकोटको विदुर–१२ चैनपुरमा रहेको विद्यालय हो ‘विरेन्द्र माध्यमिक विद्यालय’ । जसको स्थापना २०३८ सालमा भएको थियो । विभिन्न कारणले अप्ठ्यारो परिस्थितिको सामना गर्दै आएको विरेन्द्र माविले महेन्द्र माध्यमिक विद्यालयको शाखा विद्यालयको रूपमा रहेर केही समय पठनपाठन गराएको थियो । पछि समस्या समाधान तर्फ लम्किएपछि विद्यालयले आफै सरकारबाट स्विकृती लिएर पठनपाठन शुरूवात गरेको थियो । विभिन्न अड्चन र समस्याहरूको समाधान गर्दै उक्त विद्यालयले हाल ४ औँ दशक पार गरिसकेको छ । 

२०७२ सालमा आएको भुकम्पले गर्दा विद्यालयको भौतिक भवनमा क्षति पुगेपछि विद्यालय बन्द हुने अवस्थामा पुगेको र पछि दुई दाताहरू राजेन्द्र खड्का र उपिन्द्र खड्काको पहलमा विद्यालय हाल नुवाकोट जिल्लाकै पहिलो नम्बरको उत्कृष्ट विद्यालय बन्न सफल भएको विद्यालयका विज्ञान शिक्षक रामेश्वर पौडेलले बताए । विद्यालय परिवार राजेन्द्र र उपिन्द्रले यस विद्यालय सञ्चालन गर्न पुर्याएको योगदान प्रति आफुहरू नतमस्तक रहेको बताउँछ । विद्यालयमा यतिबेला ५ सय हाराहारी विद्यार्थीहरू अध्यायनरत छन् । भौतिक संरचनाको कमी र विद्यालयको स्रोत साधनले गर्दा सिमित विद्यार्थी मात्रै भर्ना गरिएको विद्यालयले जनाएको छ । 

करिव ७÷८ वटा वडाका विद्यार्थीहरूले यस विद्यालयमा पठनपाठन गर्दै आइरहेका छन् । विद्यालयमा पहिला नेपाली माध्यमबाट पठनपाठन हुदैँ आएको थियो । नयाँ संरचना र भुकम्प पछिको विद्यालयमा विद्यार्थीहरूको चाँपले गर्दा हाल विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन गराउदैँ आइरहेको छ । हाल उक्त विद्यालयमा १६ जना शिक्षकहरू अध्यापन गराउदैँ आइरहेका छन् । शिक्षकहरूको लगनशीलता र विद्यार्थीहरूको मिहिनेतले गर्दा विद्यालय यस अवस्थामा पुगेको अभिभावकहरू बताउँछन् । आफ्नो विद्यार्थीहरूलाई विद्यालयले नीःशुल्क रूपमा गुणस्तरीय शिक्षा उपलब्ध गराउदैँ आइरहेकोमा आफुहरू खुसि रहेको अभिभावकहरू बताउँछन् । विद्यालयमा ३ जना शिक्षकहरू र ४ जना कर्मचारीहरू निजी स्रोतको खर्चमा तलव लिन्छन् भने बाँकी अरू सरकारले विद्यालयलाई उपलब्ध गराउदैँ आएको रकमबाट तलव पाउँने गरेका छन् । यतिहुदाँ हुदैँ पनि विद्यालयले जिल्लाकै उत्कृष्ट साइन्स ल्याव तथा उत्कृष्ट कम्युटर ल्याव सञ्चालन गर्दै आइरहेको छ ।

विद्यालयले टाढाका विद्यार्थीहरूको सहजताका लागि एउटा बसको सुविधा समेत सञ्चालन गरेको छ भने अर्को बस चाडैं सञ्चालनमा ल्याउने तयारी रहेको छ । विद्यालयले विद्यार्थीका लागि पुस्तक तथा विद्यालय पोशाक निःशुल्क उपलब्ध गराउदैँ आइरहेको छ । गरिव तथा जेहेन्दार विद्यार्थीहरूको लागि कपि, कलम समेत विद्यालयले नै उपलब्ध गराउदैँ आइरहेको छ । साथै विद्यालयले विद्यार्थीहरूको कक्षा ८ तथा कक्षा ९, १० को रजिस्टेशन फारम समेत विद्यार्थीहरूबाट एक रूपैयाँ पैसा नलिई विद्यालयले नै भरिदिने र आवश्यकता अनुसारको निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गर्दै आइरहेकाले आफुहरूलाई थप सहज भएको विद्यार्थीहरू बताउँछन् । यसले गर्दा हामीले परिक्षामा गुणस्तरीय अंक प्राप्त गर्ने गरेको विद्यार्थीहरूले बताएका छन् ।

विद्यालय विहान १० बजेबाट सञ्चालन भएर साँझ ४ बजेसम्म पठनपाठन हुने र विद्यालयले सामाजिक, अंग्रेजी, गणित, नेपाली, विज्ञान, कम्युटर, शारीरिक शिक्षा, पेशा व्यवसाय, इकोनोमिक्स, अप्सनल म्याथ लगायतका विषयहरू पठनपाठन गराउदैँ आइरहेको विज्ञान शिक्षक रामेश्वर पौडेलले जानकारी दिए । उनले अगाडि थप्दै विद्यालयलाई यहाँसम्म पुर्याउन हालका वडाध्यक्ष उपिन्द्र खड्काको ठुलो साथ सहयोग रहेको बताए । विद्यार्थीको हालको नतिजा उत्कृष्ट रहेको छ । ‘यस वर्ष हामीले भौतिक संरचनाको कमी र विद्यालयको स्रोत साधनले गर्दा ६० जना मात्र नयाँ विद्यार्थी भर्ना गर्न सकेका छौँ । कोभिडका कारण यस वर्ष हाम्रो विद्यालयबाट २३ जना विद्यार्थीहरू मात्र एसईई परिक्षामा सहभागी भएका थिए भने, आगामी वर्ष ३२ जना विद्यार्थीहरू सहभागी हुन्छ’ पौडेलले भने । 

दाताहरूको सहयोगबाट सञ्चालनमा आएको विद्यालयको गुणस्तर देख्दा अभिभावकहरू हर्षित छन् । विद्यालयलाई वार्षिक करिव एक करोड भन्दा माथि पैसा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा हालका विदुर नगरपालिका–१२ का वडाअध्यक्ष उपिन्द्र खड्काले उपलब्ध गराउदैँ आइरहेका छन् । विद्यालयले नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूलाई एउटै नजरले हेर्ने र एकैकिसिमको व्यवहार गर्ने गरेको छ । विद्यालयलाई हाल मावि तहसम्म बढुवा गरि कक्षा १२ सम्म सञ्चालन गर्ने लक्ष्य रहेको र त्यसै अनुरूप प्रक्रिया अगाडि बढाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा हालका विदुर नगरपालिका–१२ का वडाअध्यक्ष उपिन्द्र खड्काले बताए । विगत लामो समयदेखि निःशुल्क शिक्षा दिदैँ आएपनि सरकारको आखाँमा यस विद्यालय नपरेकोमा खड्काले दुःख व्यक्त गरे । 

विद्यालयले निःशुल्क रूपमा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूलाइ खाजा तथा खाने पानी समेत टाढाको बाटोबाट निःशुल्क रूपमा ल्याएर उपलब्ध गराउदैँ आइरहेको छ । भर्ना हुन आउने विद्यार्थीहरूको लागि पुस्तक, पोशाक उपलब्ध गराउदै आएको छ । विद्यालयले कोभिड महामारीको समयमा स्थानीयवासीहरूको सुविधाका लागि कोभिड ल्याव, आइसोलेसन तथा क्वारेन्टाइनको समेत व्यवस्था गरेको थियो ।



No comments:

Post a Comment