 |
जिल्ला प्रशासन कार्यालयका अप्सरा पोखरेल तारकेश्वर–३ मालक्ष्मीलाई घरमै नागरिकता प्रदान गर्दै । |
विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले नागरिकहरूको सेवाका लागि घर घरमै पुगेर नागरिकता वितरण गरिरहेको छ । विशेष अवस्थामा रहेको नागरिकहरूलाई घरमै नागरिकता प्रदान गर्नका लागि एक वर्षदेखि प्रशासन कार्यालयले सक्रियता बढाएको छ । यस क्रममा बुधवार शारिरिक अपाङ्गता भएका तारकेश्वर गाउँपालिकाका दुई जनालाई घरमै नागरिकता वितरण भएको छ ।
शारिरिक रुपमा अपाङ्गता भएर जिल्ला प्रशासन कार्यालयसम्म आउन नसकेका उनीहरूलाई उनीहरूको घरमै पुगेर नागरिकता प्रदान गरेको नुवाकोटका निमित्त प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले बताए । उनका अनुसार तारकेश्वर गाउँपालिका वडा ३ हटियाका दुई जनालाई नागरिकता प्रदान गरिएको छ । २५ वर्षीय भवनाथ ढकाल र ५९ वर्षीया लक्ष्मी श्रेष्ठले यो सेवा पाएका हुन् । उनीहरूलाई नागरिकता दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट प्रशासकीय अधिकृत सुरेश श्रेष्ठ र अप्सरा पोखरेल गएका थिए ।
 |
जिल्ला प्रशासन कार्यालयका अप्सरा पोखरेल तारकेश्वर–३ मा भवनाथलाई घरमै नागरिकता प्रदान गर्दै । |
भवनाथ आजीवन अपाङ्गता भएका नागरिक हुन् भने लक्ष्मी २ वर्षदेखि ओछ्यानमा परेका छन् । ढकाल बोल्न र हिँडडुल गर्न पनि सक्दैनन् । दिसापिसाब लगायत सबै नित्यकर्म परिवारकै भरमा हुने गरेको उनका बुबा कृष्णलालले बताएका छन् । जन्मेदेखि नै उनको अबस्था उस्तै रहेको छ । उपचार गराउँदा सुस्तमनस्थिति भएको र हातगोडाले काम गर्दैन भनिएको बुवा कृष्णलालले बताए । खाना खुवाउने देखि सबै अरुले नै गर्नुपर्छ ।
पाँच सन्तानकी आमा लक्ष्मीको नसासम्बन्धी रोगका कारण शरीरको तल्लो भाग चल्दैन । उनी बोल्न सक्छिन् । तर, शौच गर्न अरूकै भर पर्नुपर्ने अवस्था रहेको श्रीमान् हरि श्रेष्ठले बताए । भारतको मुम्बइमा कार्यरत उनले ५ छोराछोरीको पढाई र घर खर्च धान्दै आएका थिए । श्रीमती थला परेपछि उनी स्वदेश फर्किएर लक्ष्मीको हेरचार गरिरहेका का छन् । ‘श्रीमतीको स्याहारसुसारमा लाग्दा कमाइ बन्द भएको छ, अहिले घर खर्च चलाउन समस्या हुन थालेको छ,’ उनले भने ।
शारिरिक रुपमा अपाङ्गता भएका उनीहरू नागरिकता नहुँदा राज्यबाट पाउने सुविधाबाट बन्चित थिएर । उनीहरू दुवैलाई नागरिकता दिलाउन २ वर्षदेखि प्रयास भइरहेको थियो । वडाध्यक्ष सूर्यमान श्रेष्ठका अनुसार तारकेश्वर गाँउपालिका वडा नम्बर ३ मा मात्रै ४१ जना शारिरिक रुपमा अपाङ्गता भएका व्यक्तिहरू छन् । उनीहरू जिल्ला प्रशासन कार्यालय त परको कुरा वडा कार्यालयसम्म जान सक्दैनन् ।
शुक्रवार तारकेश्वरमा घरमै जिल्ला प्रशासन कार्यालयको टोली पुगेर शारिरिक रुपमा अपाङ्गता भएकाहरूलाई नागरिकता प्रदान गरेको खबर फैलिएपछि धेरैले यो सुविधाको विषयमा सोधिखोजी थालेका छन् । यसरी एक/दुई जनाका लागि घरमै पुगेर कसरी प्रशासनले नागरिकता दियो होला भनेर सोध्ने र जानकारी लिनेहरूको संख्या बढेको छ । शारिरिक रुपमा अपाङ्गता भएका कारण हिडडुल गर्न नसक्ने र नागरिता नै बनाउनका लागि विदुर लैजान पनि असम्भव भएका अन्य नागरिकहरूका लागि घरमै नागरिकता प्राप्त गर्ने विधिका सोधिन थालेको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालका अनुसार विभिन्न रोगका कारण लामो सयमदेखि ओछ्यान परेका प्रमाणित हुने कागजात सहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपछि घरै पुगेर नागरिकता प्रदान गर्ने प्रक्रियाको सुरुवात हुन्छ । आवश्यकताको प्राथमिकिकरण र भुगोल अनुकुल पारेर प्रशासनले कर्मचारीलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने व्यवस्था मिलाउँदै आएको छ । घरघरमै सार्वजनिक सेवा दिने सरकारको नीति अनुसार नागरिकता वितरण गरिएको उनले बताए । ‘प्रशासन कार्यालयसम्म पुग्न नसक्ने जेष्ठ नागरिक, शारिरिक अपाङ्गता भएकाहरूलाई घरमै पुगेर सेवा दिनुपर्ने सरकारी नीति छ’ उनले भने, ‘सोही नीति अनुसार घरमै पुगेर नागरिकता दिदै आएका छौं ।’
अहिले पनि जिल्ला प्रशासन कार्यालयमा शारिरिक रुपमा अशक्त भएका कारण नागरिकता लिन विदुर आउन नसकेका तीन जनाको निवेदन परेको छ । विदुर नगरपालिकाको कल्यणपुर, ककनी गाउँपालिका र शिवपुरी गाउँपालिकाका एक/एक जनाको यस्तो निवेदन जिल्ला प्रशासन कार्यालयलाई प्राप्त भएको छ । उनीहरूलाई नागरिकता दिन कार्यालयको कामको चाप कम भएको अवस्था हेरेर टोली घरमा जाने अर्यालले बताए ।
नुवाकोटमा विदुर नगरपालिका वडा नं. ११ माथिल्लो गेर्खुमा २०७६ सालमा पहिलो पटक जिल्ला प्रशासन कार्यालय नुवाकोटका कर्मचारी घरमै पुगेर नागरिकता प्रदान गरेको थियो ।
२०७६ फागुन ८ गते त्यसबेला १७ वर्षीय कृष्णप्रसाद चालिसेलाई प्रशासकीय अधिकृत जनक रेग्मी र खरिदार राजु श्रेष्ठको टोलीले घरमै पुगेर नागरिकता प्रदान गरेको थियो । उनी हिँडडुल गर्न नसक्ने र दृष्टिविहीन हुन् । कृष्णप्रसादलाई बोकेर जिल्ला प्रशासन ल्याउन नसकेपछि प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको निर्देशनमा उनको घरमै पुगेर नागरिकता दिइएको हो । नुवाकोटमा घरमै गएर नागरिकता दिएको यसलाई पहिलो मानिएको छ ।
 |
नुवाकोटमा पहिलो पटक घरमा पुगेर नागरिकता वितरण गरिदै । |
एक वर्षमा सात जनाले पाए नागरिकता
विदुर । नुवाकोटमा एक वषको अवधिमा घरमै पुगेर जिल्ला प्रशासन कार्यालयले सात जनालाई नागरिकता प्रदान गरेको छ । नुवाकोटका निमित्त प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालका अनुसार तारकेश्वर गाउँपालिका बाहेक पञ्चकन्या गाउँपालिका, बेलकोटगढी नगरपालिका र ककनी गाउँपालिकामा यस अघि घरमै पुगेर नागरिकता प्रदान गरिएको थियो ।
पञ्चकन्या गाउँपालिकामा दुई जना, बेलकोटगढी नगरपालिका दुई जना, तारकेश्वर गाउँपालिका दुई जना र ककनी गाउँपालिकामा एक जनाले घरमै नागरिकता पाएका छन् ।
यसरी नागरिकता वितरण गर्नका लागि जिल्ला प्रशासन कार्यालयले नागरिकता शाखाका कर्मचारी, नागरिकतामा हस्ताक्षर गर्ने अधिकृतदेखि ढड्डानै घरमा पठाउने गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी अर्यालयका अनुसार ढड्डानै घरमा पठाउनु पर्ने भएकोले कार्यालयको काम सकिएपछि यो सुविधा दिइएको छ ।
धेरैजसो शुक्रवार जिल्ला प्रशासन कार्यालयबाट नागरिकता वितरण कार्य सकेर तीन बजेपछि त्यसरी नागरिकको घरमा ढड्डा बोकेर कर्मचारी पठाइने गरेको अर्यालले बताए ।
नागरिकहरूको समस्याप्रति गम्भिर देखिएको जिल्ला प्रशासन कार्यालयले त्यसरी दीर्घ रोगका कारण वा अन्य अशक्तताका कारण नागरिकता लिनका लागि विदुर आउन नसक्ने नागरिकहरूका लागि अतिरिक्त सेवा दिइरहेको हो । पछिल्लो समय नागरिक बनाउनका लागि गाउँ टोलमा घुम्ती शिविर पनि सञ्चालन नभएकोले अप्ठ्यारोमा परेका नागरिकहरूका लागि आफुहरूले सहयोग पु-याएको निमित्त प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले बताए । उनले भने– ‘यसरी हामीले दिने सेवाका लागि नागरिकहरूले कुनै खर्च वा शुल्क भुक्तान गर्नुपर्दैन ।’ उनका अनुसार नागरिकहरूलाई अपरझट नागरिकताको आवश्यकता पर्दा पनि जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको घटना नुवाकोटमा छ ।
लामो समय विरामी परेर काठमाडौंमा उपचार गरिरहेका एक जनालाई थप उपचारका लागि विदेश जानुपर्ने भएपछि नुवाकोट र काठमाडौंको सिमानामै पुगेर नागरिकता प्रदान गरिएको थियो । बिरामीलाई एम्बुलेन्समा राखेर नुवाकोटको सिमा ल्याइपु-याइएको र जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरू ढड्डा लिएर गुर्जेभञ्याङ पुगेका थिए । ‘भोलीपल्टै थप उपचारका लागि भारत जानुपर्ने भएको जानकारी प्राप्त भएपनि हामीले कार्यालयको तर्फबाट सेवा दिएका हौं’, अर्यालले भने ।
यसरी घरमै पुगेर नागरिकता दिने अधिकारी प्रमुख जिल्ला अधिकारीलाई हुने भएपनि प्रजिअहरूले खासै नागरिकका सुविधाका लागि प्रयास गरेको पाइदैन । जिल्लाभरी कुनै पनि ठाउँमा पुगेर आवश्यक कागजी र कानूनी प्रक्रिया पुरा गराएर अशक्त, अपाङ्गता भएका नागरिकहरूलाई नागरिक दिन सक्ने व्यवस्था छ ।
No comments:
Post a Comment