Monday, June 20, 2022

६ अर्ब ५५ करोड राजस्व संकलन

रसुवा । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८÷७९ को ११ महिनामा ६ अर्ब ५५ करोड रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको छ । 

चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म कार्यालयले ६ अर्ब ५५ करोड ४५ लाख ६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो । कार्यालयले यो अवधिमा ६ अर्ब २५ करोड २६ लाख ९ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । 

यो लक्ष्य भन्दा ४.८३ प्रतिशत बढी हो । कार्यालयले चालु आर्थिक वर्षमा ६ अर्ब ८२ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयात बढेका कारण  राजस्व सङ्कलन बढेको प्रमुख भन्सार अधिकृत राम मैनालीले बताए । तर पछिल्लो समय आयातमा कमी आएको छ । कार्यालयले राखेको लक्ष्य भन्दा समग्रमा राजश्व संकलनमा वृद्धि भएको देखिएपनि आयातमा सुधार आउन सकेको छैन । गएको जेठ महिनामा लक्ष्यको तुलनामा ९२.१३ प्रतिशत मात्र राजस्व सङ्कलन भएको कार्यालयको तथ्याङ्क छ । 

कार्यालयले जेठमा ५५ करोड ९३ लाख ६६ हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ५१ करोड ५३ लाख २८ हजार रुपैयाँ मात्रै सङ्कलन भएको छ ।      २०७६ माघयता नाकाबाट आयात निकै कम भएको छ । २०७६ माघ १५ गतेदेखि २०७७ जेठ तेस्रो सातासम्म नाका बन्द गरिएको थियो । अहिले एकतर्फी रूपमा नाका सञ्चालन भइरहेको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण २८ महिनादेखि रसुवागढी नाकाबाट सामग्री आयात घटेपछि राजस्व सङ्कलन प्रभावित बन्दै गएको छ । कार्यालयले आर्थिक वर्ष २०७२÷७३ मा ७४ करोड ३३ लाख २६ हजार, आव ०७३÷७४ मा २ अर्ब ९२ करोड १८ लाख २ हजार, आव ०७४÷७५ मा ४ अर्ब ५९ करोड २३ लाख १९ हजार, ०७५÷७६ मा १० अर्ब ६० करोड २४ लाख १९ हजार, आर्थिक वर्ष २०७६÷७७ मा ८ अर्ब २७ लाख ७७ हजार र गत आर्थिक वर्ष २०७७÷७८ मा ३ अर्ब ५४ करोड २७ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयको तथ्याङ्क       रहेको छ ।

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, टेलिकमका सामग्री र फलफूल आयात हुँदै आएको छ । नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ । कोभिडका कारण निर्यात लामो समयदेखि ठप्प रहँदै आएको छ ।

२०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २५० भन्दा बढी सवारी साधन आवतजावत गथ्र्यो । चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।

No comments:

Post a Comment