Monday, June 20, 2022

विपदको बेला खोज र उद्धारको पुर्व तयारी


विदुर । मनसुन सक्रिय भएसँगै पहाडी जिल्लाहरूमा देखिने विपत् रोकथामका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोटले चन्द्रज्योती माध्यमिक बिद्यालय पिपलटारमा अभ्यास गरेको छ । 

नुवाकोट स्थित नेपाली सेनाको श्रीनाथ गण गणले गएको सोमबार बिद्यालय परिसरमा एकीकृत विपत् प्रतिकार्य कृत्रिम घटना अभ्यास सञ्चालन गरेको हो । लगातारको वर्षातका कारण उत्पन्न हुने विपतमा नागरिकको कसरी उद्धार गर्न सकिन्छ भनेर अभ्यास गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । 

विपतजन्य घटना जुनसुकै समयमा पनि घट्न सक्ने भएकाले स्थानीयलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । सेनाले प्रतिकार्य अभ्यासमा बाढी पहिरोमा उद्धार गर्ने विधि, नदी वा तालमा डुबेको पीडितको उद्धार गर्दा प्रयोग हुने हाइलाइन रेस्क्यु, इम्प्रोभाइज थ्रोब्याक रेस्क्यु, फ्लिप डिलजस्ता विधिको प्रदर्शन गरेको थियो ।

ग्रामीण तहमा घरेलु विधि सहज हुने भएकाले ड्रम, खाली बोतल, जर्किनजस्ता स्थानीय सामग्रीको प्रयोग गरी डुंगा बनाएर गरिने इम्प्रोभाइज थ्रोब्याक रेस्क्यु गर्न सकिने बिषयलाई समेत  अभ्यासमा देखाईएको थियो । 

कार्यक्रममा जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले प्रतिकूल मौसममा सजग रहन सबै नागरिकलाई आह्वान गरेका छन् । उनले विपतमा परेर उद्धार हुनुभन्दा जोगिनुनै नै उपयुक्त हुने भन्दै त्यस्ता घटना परिहालेमा विपत् व्यवस्थापन समितिमा तत्काल जानकारी गराउन आग्रह गरेका छन् । 

मनसुन जन्य बिपद्मा बाढि, पहिरो लगायतका बिपद्हरू रहेकाले समुदायका नागरिकहरूलाई समेत सहभागी गराएर भएको अभ्यासले तत्कालै बिपद्बाट रेस्क्युको लागी नागरिकहरूनै अग्रसर हुनु पर्ने बताएका छन् । एकीकृत विपत् प्रतिकार्य कृत्रिम घटना अभ्यास कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, रेडक्रसकर्मी, नगरका विपत् उद्धारकर्मीहरूको टोली सहभागी थिए । 

कार्यक्रमका सहभागीले विपतको समयमा सम्बद्ध सबै निकाय सक्रिय रहनुपर्नेमा जोड दिएका छन् । नुवाकोटमा रहेको श्रीनाथ गणले विपतजन्य घटना रोकथामका लागि सचेतना कार्यक्रमदेखि अन्य थुप्रै अभियान निरन्तर रूपमा सञ्चालन गर्दै आइरहेको  छ । 

No comments:

Post a Comment