Monday, June 27, 2022

साना तीन दलले मात्र बुझाए निर्वाचनको खर्च विवरण

 विदुर । स्थानीय तह निर्वाचन सकिए पनि नुवाकोटमा साना राजनीतिक दलहरूले मात्रै खर्च विवरण बुझाएका छन् । ठुला अधिकांश दलले निर्वाचन आयोगमा खर्चको विवरण बुझाएका छैनन् । 

खर्च विवरण नबुझाउनेमा सानादेखि राष्ट्रिय मान्यता प्राप्त ठूला २५ दल छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार नेकपा राष्ट्रवादी, मंगोलियन नेसनल अर्गनाइजेसन र मौलिक जरोकिलो पार्टीका ९५ जना उम्मेदवारले आफ्नो खर्च विवरण बुझाएका छन् । जिल्ला निर्वाचन कार्यालय नुवाकोटका अनुसार १० हजारदेखि ३ लाख ५९ हजार रुपैयाँसम्मको खर्च भएको विवरण बुझाएका छन् । 

कम खर्च भएको मौलिक जरोकिलो पार्टीले १० हजार रुपैयाँ देखाएको छ भने बढी नेकपा राष्ट्रवादीले ३ लाख ५९ हजार रुपैयाँ खर्च भएको देखाएको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ मा निर्वाचन प्रचारप्रसार खर्चको विवरणमा दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोगले तोकेको कार्यालय समक्ष पेस गर्नुपर्ने उल्लेख छ । यसरी प्राप्त भएको खर्चको विवरण सम्बन्धित कार्यालयले आयोगमा पठाउनुपर्ने भनिएको छ । नुवाकोटमा २५ दलले अहिलेसम्म खर्च विवरण बुझाएका छैनन् । खर्च विवरण नबुझाउनेलाई जरिवाना गर्ने कानुनी प्रावधान रहेको छ । 

२८ वटा दलले निर्वाचनमा सहभागी थिए । नुवाकोटमा १२ स्थानीयतह छन् । त्यसमा ८८ वटा वडा छन् । स्थानीय निर्वाचनमा २ हजार ३ जना उम्मेदवार चुनावी मैदान थिए भने २ जना दलित महिला निर्विरोध भएका थिए । अरू पार्टीको खर्च विवरण आउन बाँकी रहेको निर्वाचन कार्यालयका प्रमुख जयप्रसाद गौतमले बताए । स्थानीय तह निर्वाचनमा सहभागी भएका २ हजार ३ जना मध्ये ६८५ जनाको धरौटी जफत भएको छ । सदरमतको १० प्रतिशत भन्दा कम भए धरौटी जफत गरिन्छ ।

No comments:

Post a Comment