![]() |
माइला विक शनिवार तारबाट निकालिएपछि फुटुङ्गमा रहेको नवजीवन परोपकार समाजमा । |
विदुर । शनिवार झण्डै आठ घण्टा एक पुरुषले उच्च भोल्टेज क्षमताको प्रसारण लाइन (हाइटेन्सन)मा समय विताए । घण्टौंसम्म तारतारै उता उता हिडिरहेका उनका कारण नुवाकोट मात्रै नभई दुनियाँ नै तरंगित बन्यो । मानसिक सन्तुलन ठिक नभएको भनिएका ति पुरुषलाई अहिले काठमाडौं राखिएको छ । उनलाई शनिवार राती नै काठमाडौं लगिएको छ ।
ककनी गाउँपालिकास्थित विद्युत्को प्रसारण लाइनमा झुण्डिएका युवकलाई नेपाली सेनाको टोलीले शनिवार राती उद्धार गरेको हो । तालिमप्राप्त सैनिकहरू टावरमा चढेपछि शनिबार बिहानदेखि तारमा बस्दै आएका व्यक्ति ओर्लिएका हुन् । ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङका अनुसार ककनी वडा नम्बर ७ घाँडेफेदीबाट तल झारिएको हो । साँझ ७ः२० मा उनलाई बिजुलीको तारबाट जमिनमा उतारिएको थियो । परिवार नभएकोले जिल्ला प्रहरी कार्यालय नुवाकोटले काठमाडौं फुटुङ स्थित नवजीवन परोपकार समाजमा उपचार र संरक्षणका लागि शनिवार राती नै राखेको छ ।
उच्च भोल्टेज क्षमताको प्रसारण लाइनमा बेलकोटगढी नगरपालिका १३ का ४२ बर्षिय माइला भनिने हिमबहादुर सुनार विक शनिबार बिहान ११ बजेतिर चढेका थिए । उनी पोलमा चढ्न थालेपछि करेन्ट लाग्न सक्ने भन्दै स्थानीयको खबरपछि प्राधिकरणले उक्त प्रसारण लाइनको बिजुली काटेको थियो । बिक तारमा झुण्डिएर हिँडिरहेको अवस्थामा स्थानीयहरूले भिडियो समेत बनाएर सार्वजनिक गरेका थिए । बिक तारमा झुण्डिएको तस्बिर र भिडियो शनिबार दिनभर सामाजिक सञ्जालमा व्यापक रुपमा सेयर गरिएको छ ।
झन्डै ८ घण्टापछि बिकलाई सेनाको टोलीले उद्धार गरेको हो । बिक तारमा चढेर लामो समय नओर्लिएका कारण देशभरको विद्युत् व्यवस्थापन प्रणाली अस्तव्यस्त भएको थियो । नेपाल विद्युत् प्राधिकरणका अनुसार बिहान ११ बजेदेखि करिब ६५ मेगावाट बिजुली प्रणालीभन्दा बाहिर गएको थियो । ‘८ घण्टासम्म माथिल्लो त्रिशूली–३ ’ए’ र अर्को ५ मेगावाट जतिको सानो आयोजनाको बिजुली प्रसारण प्रभावित बन्यो,’ प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले भने, ‘प्रणालीमा त्यत्ति ठूलो परिमाणमा बिजुली अभाव भएपछि लोड व्यवस्थापनका लागि कतै लाइन काट्ने, कतै कम क्षमतामा बिजुली पठाउने गरिरह्यौं ।’ माग धान्नका लागि दिनभरी नै भारतबाट समेत बिजुली ल्याइएको थियो ।
No comments:
Post a Comment