Monday, June 27, 2022

सिसडोलमा रंगशाला बनाउने बालेनको चाहना

 

विदुर । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले काठमाडौंको फोहोर अन्तिम व्यवस्थापन हुँदै आएको सिसडोल ल्याण्डफिल साइटमा रंगशाला निर्माण गर्ने चाहना रहेको बताएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ्सँग फुटबल विकासका सन्दर्भमा कुरा गर्दै प्रमुख शाहले सिसडोल साइटको फोहोरलाई उचित व्यवस्थापन गरेर रंगशाला तथा पार्क निर्माण गर्ने योजना रहेको बताएका हुन् । ‘सिसडोल ल्याण्डफिल साइटको फोहोरलाई उचित व्यवस्थापन गरेर हामी सुन्दर रंगशाला तथा पार्क निर्माण गर्न चाहन्छौं । काठमाडौंको टुँडिखेललगायत महानगरका अन्य पार्क र मैदानमा फ्लडलाइट जडान गरेर राति खेल्न मिल्ने बनाउँछौँ,’ प्रमुख शाहको भनाइ छ ।

कुराकानीका क्रममा शाहले, काठमाडौंबाट लिग खेल्ने खेलाडी उत्पादन गर्न ग्रासरुट फुटबलका कार्यक्रम सञ्चालन गर्न चाहेको बताए । ‘यसका लागि सम्बन्धित पक्षसँग सहकार्य गर्छौँ,’प्रमुख शाहले भने, ’अहिले पनि काठमाडौं महानगरले महानगरमा भएका ‘ए डिभिजन,’‘वि डिभिजन’ र ‘सी डिभिजन’फुटबल क्लबहरूलाई खेल सञ्चालन गर्न आर्थिक सहयोग उपलब्ध गराइरहेका छौं ।’ 

नेपाली फुटबलको विकास र विस्तार गर्न आफूहरू महानगरसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै एन्फामा वरिष्ठ उपाध्यक्ष नेम्बाङ्ले, सुशासन, आर्थिक पारदर्शिता र विकेन्द्रीकरणलाई व्यवहारमा लागू गर्दै नेपाली फुटबललाई अगाडि बढाउने बताए ।

यसै बीच, सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले फोहोरको समस्या झनै विकराल बन्दै गएको बताएकी छिन् । बिहीबार काठमाडौंमा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्र शिलान्यास गर्दै झाँक्रीले सहरको फोहोरको समस्या एकजना गरिबको समस्यालाई निवारण गर्नेभन्दा पनि ठूलो रहेको बताएकी हुन् । 

उनले सहरमा फोहोरको समस्या विकराल रहेको भन्दै यसलाई बेलैमा समाधान गर्न‘पर्नेमा जोड दिइन् । झाँक्रीले फोहोर गर्नेबाटै रकम उठाएर फोहोरको काम गर्न नसके पुस्तौँसम्म ऋणको भारी बोकिरहनुपर्ने बताइन् । उनले फोहोर घरबाट चोक र खोलामा लगेर थुपार्ने परिपाटी बन्दै गएको भन्दै यसलाई बेलैमा व्यवस्थापन गर्न आवश्यकता औँल्याइन् । 

उनले भनिन्, ‘सहरका समस्या झनै विकराल छन् । सहरमा बस्ने मान्छेले फोहोर गर्छन्, फोहोर विसर्जन गर्ने समस्या एकजना गरिबको जीवनलाई निवारण गर्नेभन्दा झनै ठूलो छ । सहरमा बस्नेले फोहोर उत्सर्जन गरिरहेका छन् । आफूले गरेको फोहोर ढल, ढलबाट खोलामा सुक्खा फोहोरहरू बाहिर ल्याएर चोकमा थुपार्ने संस्कृति बढेर आएको छ, त्यसले हाम्रो गरिबीलाई घटाउनको लागि लगानी गर्न‘पर्ने नेपाल सरकारको शक्ति, सामर्थ्य, ऋण, पैसा, आम्दानी सबै कुराको अतिरिक्त खर्च यसको व्यवस्थापनमा लागेको छ भन्ने कुरा हामीले थाहा पाउनुपर्छ ।’ झाँक्रीले असफलताबाट सिकेको पाठलाई अब नयाँ ढंगले अघि लैजानुपर्नेसमेत बताइन् ।

No comments:

Post a Comment