विदुर । निर्वाचन आयोगको मतदाता नामावलीमा दोहोरो नामावली हुनेको नागरिकता समेत छानविन हुने भएको छ । गत साता विदुरमा भएको एक कार्यक्रममा सरोकारवालाहरूले एकै व्यक्तिले फरक फरक नागरिकता नम्वर राखेर मतदाता नामावलीमा दुईपटक नाम सवावेश गराएको पाइएको बताएपछि जिल्ला प्रशासन कार्यालयले नागरिकतामाथीनै छानविन हुने जनाएको हो ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले एकै व्यक्तिको सबै विवरण उही तर नागरिकता नम्वर फरक देखिएको प्रमाण पुगेमा उसलाई तत्काल दोहोरो नागरिकता लिएको मुद्दामा कारबाही थाल्ने बताएका हुन् । जिल्ला निर्वाचन कार्यालयले मंगलवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले दोहोरो नामावली रहेकाहरूको सबै विवरण उही नागरिकता नम्वर मात्रै फरक रहेको धेरै उदाहरण भेटिएकोले त्यस्ता ब्यक्तिहरूको नागरिकता दोहोरो रहेको विषयमै कारबाही हुने पर्ने बताएका थिए । स्थानीय तह निर्वाचनमा एकै व्यक्तिको दुईवटा मतदाता नामावली देखिएको, उनीहरू फोटो फरक फरक समयमा खिचिएको पाइएको र नागरिकता नम्वर पनि फरक भेटिएकोले दोहोरो नामलाई एकोहोरो मात्रै कायम गर्ने नभई नागरिकता दुई वटा लिलएको वा झुट्टा नागरिकता विवरण पेश गरेको विषयमा छानविन हुनुपर्ने माग गरेका थिए ।
उक्त विषयलाई सम्वोत्रन गर्दै प्रमुख जिल्ला अधिकारी रिसालले त्यस्ता व्यक्तिहरूको विषयमा लिखित वा मौखिक उजुरी प्राप्त भएपनि तत्कालै दोहोरो नागरिकता लिएको विषयलाई प्राथमितामा राखेर कारबाही हुने बताएका छन् ।
जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले यस्ता विषयामा राजनीतिक दलको आवरण र शक्तिको दवावमा प्रशासन नपरी बारबाही गर्नु उत्तम हुने बताएका छन् । उनले जुनसुकै राजनीतिक दलको नेता कार्यकर्ताहरू त्यो किसिमको अपराधमा भेटिएपनि खुट्टा नकमाई कारबाही गर्न आग्रह गरेका छन् ।
नेपाली काँग्रेस नुवाकोटका उपसभापति राजु थापाले आसन्न संघीय र प्रदेश सभा निर्वाचनलाई मर्यादित र स्वच्छ राख्नका लागि मतदाता नामावावलीदेखिनै काम थाल्नु पर्ने तर्फ निर्वाचन आयोयको ध्यानाकर्षण गराएका थिए । उनले देखिदाका मसिना घटनाक्रमले नै निर्वाचनमा गम्भिर असर परिरहेको बताएका छन् । नेकपा एमालेका अरुणकुमार श्रेष्ठ, नेकपा माओवादी केन्द्रका उत्तम घिमिरे, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ईन्द्रबहादुर पण्डित, लगायतले आसन्न निर्वाचनका लागि निर्वाचन आयोगले तत्कालै गर्नुपर्ने कामहरूको विषयमा सुझाव दिएका छन् । माओवादी केन्द्रका उत्तम घिमिरेले हरेक निर्वाचनबाट गल्ती सच्याउदै परिकृष्त हुनै पर्ने निर्वाचन आयोग परम्परागत रुपमै निर्वाचन गराउने शैलीमा केन्द्रीत रहेको बताए । जसले गर्दा पुराना घटनाहरू दोहोरिने र चुनावलाई निर्वाचन आयोग र सरकारी पक्ष नै मर्यादित बनाउनका लागि दत्तचित्त हुनेगरेको आभाष गर्न नसकेको बताएका छन् ।
नुवाकोट नागरिक समाजका अध्यक्ष बद्रीप्रसाद त्रिपाठीले बेलकोटगढी नगरपालिकामा उम्मेदवारी दिएका व्यक्तिको अन्तिम उम्मेदवार नामावलीमा नामनै नभेटिएको र उम्मेदवारी नै नदिएका व्यक्ति चाँही उम्मेदवार बनेको घटना सुनाउँदै निर्वाचन आयोगले निर्वाचनको समयमा गम्भिर हेलचेक्र्याई गर्ने गरेको बताएका छन् ।
झण्डै दुई लाख ४२ हजार मतदाता
विदुर । नुवाकोटमा स्थानीय तह निर्वाचनपछि ४ हजार ५३७ जना मतदाता थपिएका छन् । यो सगै कुल मतदाताको संख्या २ लाख ४१ हजार ९ सय ७१ पुगेको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा २ लाख ३७ हजार ४३४ मतदाता नुवाकोटमा थिए ।
स्थानीय तहको निर्वाचन पछि नयाँहरूको लागि असार १ गते देखि फोटो सहितको मतदाता नामावली दर्ता गर्न सुरु भएको थियो । नेपाल सरकारले मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने मिति साउन १९ गते तोकेपछि २० गतेबाट मतदाता नामावली संकलन कार्य रोकिएको छ । असार १ गतेदेखि श्रावण २० गतेसम्ममा जिल्ला प्रशासन कार्यलय, इलाका प्रशासन कार्यलय सातबिसे र निर्वाचन कार्यालयमा गरी ४ हजार ५३७ जनाले मतदाताको लागि फोटो खिचाएको निर्वाचन कार्यलय नुवाकोटका निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिएका छन् । थप भएका सहित नुवाकोटमा कुल मतदाताको संख्या २ लाख ४१ हजार ९ सय ७१ पुगेको उनले बताए ।
नुवाकोटमा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र २ वटा र प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र ४ वटा छ । त्यस मध्ये प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा ३१ हजार ६ सय १ पुरुष, २८ हजार ३ सय १८ महिला र अन्य २ गरी ५९ हजार ९२१ जना छन् ।
प्रदेश सभा (ख) मा ३२ हजार १४२ पुरुष, २९ हजार ६२० महिला र १ जना अन्य गरी ६१ हजार ७६३ मतदाता छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा ३० हजार ९६२ पुरुष र २९ हजार ७४ महिला गरी ६० हजार ३६ जना मतदाता छन् । प्रदेश सभा (ख) मा ३० हजार २१७ पुरुष र ३० हजार ३४ महिला गरी ६० हजार २५१ मतदाता छन् ।
संघ र प्रदेशको निर्वाचनलाई लक्षित गरी यहि भदौँ १२ गतेदेखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन भइरहेको छ । जिल्लामा रहेका सबै मतदाताहरूको विवरण निर्वाचन आयोगबाट प्राप्त भइसकेकोले उक्त विवरण स्थानीय तह र सबै वडा कार्यलयहरूमा टाँस गर्नको लागि उपलव्ध गराउने निर्वाचन अधिकारी गौतमले जानकारी दिएका छन् ।
नुवाकोटको १२ स्थानीय तहमा १ सय ३२ मतदान स्थान र २ सय ८७ वटा मतदान केन्द्र कायम गरिएको छ ।
No comments:
Post a Comment