Monday, August 08, 2022

लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको संख्या बढ्यो

धुञ्चे । कोरोना संक्रमण मत्थर हुँदै गएपछि लाङटाङ क्षेत्र घुम्न आउने विदेशी तथा स्वदेशी पर्यटक बढेका छन् ।

तामाङ सम्पदामार्ग, लाङटाङ र गोसाइँकुण्ड क्षेत्र घुम्न विदेशी तथा स्वदेशी पर्यटक आउने क्रम बढेको हो । कोरोनाका कारण शून्य भएको लाङटाङ क्षेत्रमा घुम्न आउने विदेशी तथा स्वदेशी पर्यटकको संख्यामा वृद्धि भएको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए । 

आर्थिक वर्ष ०७८/७९ मा १८ हजार ६ सय ५१ जना विदेशी तथा स्वदेशी पर्यटक लाङटाङ, गोसाइँकुण्ड तथा तामाङ सम्पदामार्ग घुम्न गएको तथ्याङ्क रहेको छ । यसमध्ये १५ हजार ६ सय ३९ जना स्वदेशी र ३ हजार १२ जना विदेशी पर्यटक छन् ।

आर्थिक वर्ष ०७७/७८ मा स्वदेशी र विदेशी गरी ४ हजार ५७२ पर्यटक लाङटाङ आएको निकुञ्जको तथ्याङ्क छ ।

यस्तै, आर्थिक वर्ष ०७७/७८ को तुलनामा आर्थिक वर्ष ०७८/७९ मा स्वदेशी पर्यटक चार गुणा र विदेशी पर्यटक दस गुणा बढेका छन् । कोरोना देखिनासाथ लाङटाङ क्षेत्र घुम्न आउने पर्यटकको संख्या ०७६ पुस महिनाबाट ह्वात्तै घटेको थियो । तर यति बेला पर्यटक आउन थालेपछि यहाँका होटल तथा पर्यटन व्यवसायी उत्साहित भएको होटल तथा पर्यटन व्यवसायी संघ रसुवाका अध्यक्ष निसान गजुरेलले बताए । पर्यटकहरू पदयात्राका लागि लाङटाङ, गोसाइँकुण्ड र तामाङ सम्पदामार्ग जाने गर्छन् । लकडाउन भएको आर्थिक वर्षमा लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा स्वदेशी र विदेशी गरी करिब १७ हजार पर्यटक घुम्न पुगेका थिए । 

निकुञ्जले ०७५ असोज २९ देखि लाङटाङ र गोसाइँकुण्ड जाने स्वदेशी पर्यटकको पनि तथ्यांक राख्न थालेको छर । लाङटाङ र गोसाइँकुण्ड जाने स्वदेशी पर्यटकसँग प्रवेश शुल्क लिन थालेपछि तथ्यांक राख्न थालिएको निकुञ्जले बताएको छ । निकुञ्जले स्वदेशी पर्यटकसँग प्रवेश शुल्कबापत एक सय रुपैयाँ लिँदै आएको छ । रसुवामा पर्यटकका लागि घुम्न तीन वटा पदमार्ग छन् । धुन्चे गोसाइँकुण्ड हुँदै सिन्धुपाल्चोकको हेलम्बुसम्म गोसाइँकुण्ड पदमार्ग, स्याफ्रुबेंसी हुँदै लाङटाङसम्म लाङटाङ पदमार्ग र स्याफ्रुबेंसीदेखि गोल्जुङ, गत्लाङ, चिलिमे, थुमन, टिमुरे, बृदिम हुँदै स्याफ्रुबेंसीसम्म तामाङ सम्पदा मार्ग छन् ।

यस क्षेत्रमा आउने पर्यटकले गणेश तथा लाङटाङ हिमालको मनोरम दृश्य, निकुञ्ज क्षेत्रभित्रका जैविक विविधता, रामसार साइटमा सूचीकृत धार्मिक तीर्थस्थल गोसाइँकुण्ड, तामाङ सम्पदामार्गभित्र रहेको तामाङ कला र संस्कृति अवलोकन गर्ने पाउने छन् ।

No comments:

Post a Comment