विदुर । पोष्टबहादुर बोगटी प्रतिष्ठानको सातौं बार्षिक साधारण सभाबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इञ्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ अध्यक्षमा चयन भएका छन् ।
गत शनिबार सम्पन्न सातौं वार्षिक साधारणसभाले पुनलाई सर्वसम्मत अध्यक्ष चुनेको हो । उपाध्यक्षमा सांसद हितबहादुर तामाङ र श्रीकृष्ण अधिकारी, महासचिवमा निर्मल आचार्य चयन भएका छन् ।
२ ०१० साल साउन ३ मा नुवाकोटको तत्कालीन तुप्चे गाविस–२ भित्रीनीटारमा जन्मिएका बोगटीको ६१ वर्षको उमेरमा २०७१ साल भदौ ३० गते हृदयघातका कारण निधन भएको थियो । नुवाकोटका बोगटी तत्कालीन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष थिए । सादा जीवनशैली र सबैसँग घुलमिल हुन सक्ने क्षमताका कारण बोगटी माओवादीभित्र र बाहिर समेत लोकप्रिय रहेका थिए ।
पहिलो संविधानसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर–३ बाट निर्वाचित बोगटी ऊर्जा, शिक्षा र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका थिए ।
बोगटीका एक मात्र छोरा रवी बोगटी तत्कालीन शाही नेपाली सेनाको कारबाहीमा २०५९ सालमा उत्तरी धादिङको सत्यदेवीमा मारिएका थिए । प्रतिष्ठानले शिक्षा, स्वास्थ्य जस्ता सामाजिक सेवाका कार्यहरू गर्दै आएको छ ।
No comments:
Post a Comment