Monday, August 08, 2022

२०७९ साल साउन २३ गतेको सम्पादकीय

 विकास निर्माणलाई गतिदिन साझा प्रयत्नको आवश्यकता

नुवाकोटमा सञ्चालनमा रहेका थुप्रै विकास निर्माणका कामहरू अरोध र समयमा प्रगती हुन नसकेको अवस्थामा देख्न सकिन्छ । त्यसो त पूर्वाधार निर्माण आयोजनाहरूको कार्यान्वनमा भइरहेको ढिलाइले जिल्लामा विकासमा अपेक्षित गति लिन नसकेको गुनासो सबैतिरबाट सुनिने गरेको छ । हुन पनि थुप्रै विकास निर्माणका आयोजनाहरू पूर्व निर्धारित समयमा सम्पन्न हुन नसकेका उदाहरण नुवाकोटमा प्रशस्त छन् । राष्ट्रिय महत्वको योजना गल्छी–सुवागढी सडकदेखि पछिल्लो समय सवाल उठेको शित भण्डारणसम्मको कुरा गर्दा विकास निर्माणका यस्ता आयोजनाहरू पूर्व निर्धारित समयमा सम्पन्न हुन नसकेको थुप्रै पाटाहरू रहेका छन् । पहिलो कुरा गर्दा निर्माण कार्यको समयावधि निर्धारण कुन आधारमा गर्ने भन्ने कुरा आउँछ । कुनै पनि ठेक्का वा निर्माण कार्य सम्पन्न हुन त्यो कार्य भित्रका सम्पुर्ण क्रियाकलापहरू सम्पन्न भएको हुनुपर्छ । प्रत्येक क्रियाकलाप पूरा गर्न लाग्ने समय ती क्रियाकलापमा लाग्ने जनशक्ति, निर्माण सामग्री र मेशिन औजारको परिमाण र तिनको उपलब्धता, अनि उक्त कार्य गर्न अपनाइएको निर्माण प्रविधिले निर्धारण गरेको हुन्छ ।  

पूर्व तयारीको चरण पूरा नहुँदै कार्यान्वनमा जानु, निर्माण उद्योगको क्षमता कम वा कमजोर हुनु, आयोजना व्यवस्थापनको संस्थागत पक्ष सवल नहुनु, नीति नियम र प्रक्रियागत बिषयमा सधै त्रुटी रहनु मुख्य रुपमा देखिएको छ । त्यस्तै, दक्ष प्राविधिक र श्रमिकको उपलब्धता, आधुनिक निर्माण प्रविधि प्रयोगको सामथ्र्य, जिल्लाको भौगोलिक/भौगर्भिक अवस्था अनि सामाजिक–साँस्कृतिक पक्षले पनि बलियै घर गरेको छ । जलवायु र मौसमी कारण अर्को महत्वपूर्ण पाटोको रुपमा रहेको हामी पाउन सक्छौं । हाम्रो भूगोल विशिष्ट प्रकारको अवस्थिति र मौसमको कारणले समेत आयोजना कार्यन्वयनको समय बढ्नमा केही हद सम्म मद्दत गरेको पाइन्छ । करिब ३ महिनाको मनसुनको अवधिमा प्रायः सबै भागमा अत्यधिक वर्षा हुने कारणले निर्माण कार्य सञ्चालन गर्न कठिनाइ छ । 

तर, यी सबै पक्षको सुक्ष अध्यायनबाट हामी विकास निर्माणको प्रक्रियालाई सुधार तर्फ लैजान भने सक्छौं । त्यसका लागि सरोकारवाला सबैंको दृढ इञ्छा शक्तिको आवश्यकता देखिन्छ । त्यसका लागि पूर्व तयारी गरेर मात्रै कार्यान्वयनमा जाने, निर्माण उद्योगको क्षमता विकास र अनुगमन उत्तम विकल्प रहनसक्छ । अनि निर्माण सामग्रीको सहज उपलब्धता पनि आवश्यक छ हामी भन्न सक्छौं । आयोजना व्यवस्थापनको संस्थागत पक्षमा सुधारमा हामीले खास ध्यान दिएको पाउदैनौं । अनि नीति नियम र प्रक्रियामा सरलीकरणको सवालमा पनि शुन्य बरावरकै अवस्था छ । सुधार नियमित र क्रमिक प्रक्रिया हो । हाम्रो आयोजना व्यवस्थापन र सार्वजनिक खरिद प्रक्रियामा पनि क्रमिक सुधार भइरहेका छन् । तथापि विकास र समृद्धिको राष्ट्रिय अठोट पूरा गर्न यो सुधार प्रक्रियालाई अझै व्यापक स्तर र द्रुत गतिमा लैजानुपर्ने हुन्छ । विकास आयोजना सफलता पूर्वक सम्पन्न गर्न कुनै एउटा निकायको मात्र नभई सरकारका सबै निकाय, सबै सरोकारवालाहरू र आम नागरिकहरूको सकारात्मक र सामूहिक प्रयत्न आवश्यक पर्छ । साथै हाम्रा सुधारका प्रयत्नहरू आयोजना कार्यन्वयनमा सम्बद्ध सबैलाई उत्प्रेरित गर्न सक्ने दिशामा अगाडि बढ्न सके अझ राम्रो हुनेछ ।

No comments:

Post a Comment