![]() |
विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ नगरपालिकाको कार्यकक्षमा । |
विदुर । विदुर नगरपालिका प्रमुख (मेयर) राजन श्रेष्ठले कार्यकालको सपथ लिएको तीन महिना भएको छ । जेठ महिनाको आधाआधीबाट मेयरको कुर्चीमा बसेका श्रेष्ठको पहिलो निशानामा करारका कर्मचारी परे । आफ्नै अकर्मण्यताका कारण नगर सभालाई फालामको चिउरा बनाएका उनले अहिलेसम्म त्यो चिउरा चपाउन सकेका छैनन् । करारका कर्मचारी हटाएर आफ्ना मान्छे नियुक्त गर्ने उनको ‘ओपन सेक्रेट’ ले अहिलेसम्म निरन्तरता पाइरहेको छ ।
त्यसो त, नेपाली काँग्रेसको पनि एउटा गुटका कार्यकर्ताहरूको मात्रै भती केन्द्र बनाउने मेसो मिलाउन थालेपछि काँग्रेसहरूबाटै बिरोधको आबाज आउन थालेको छ ।
हाल नगरपालिका भित्र स्वंयमसेबक शिक्षकको नाममा काम गर्दै आएका सबै शिक्षकहरूलाई हटाएर पुनः नयाँ भर्र्तको लागि सूचना प्रकाशित गरेसँगै काँग्रेसको भर्ती केन्द्रको रुपमा नगरपालिकालाई विकास गर्न लागेको आरोप लाग्न थालेको छ । यसअघि करारमा राखिएका कर्मचारीहरू अधिकांशलाई निकालिएको छ । उक्त स्थानमा कसरी आफ्ना कार्यकर्ताहरू राख्ने भन्ने बिषयमा मेयर श्रेष्ठ काँग्रेस निकट कर्मचारी संघसँग परामर्शमा छन् । खुल्ला प्रतिष्पर्धाको नाममा आफ्ना कार्यकर्ताहरूलाई ‘सेटल’ गर्न श्रेष्ठले पुराना करारका कर्मचारीहरू हटाईएका थिए । हटाईएका मध्येबाट पनि आफु अनुकुलका ‘कर्मचारी जस्ता देखिने कार्यकर्ता’लाई पुनः कार्यालयमा बोलाएर अहिलेनै दैनिक ज्यालादारीमा हाजिरी गराइरहेको सुन्नमा आएको वडा नं. २ का अध्यक्ष दीपक कायस्थले बताए ।
आफु अनुकुल रहेका कर्मचारीहरूलाई नगरपालिकाको बिभिन्न शाखामा र वडा कार्यालय सम्म पठाएर दैनिक ज्यालादारीमा गराएर काममा लगाउदै आएको नगरपालिकाकै एक कर्मचारीले बताएका छन् । असार मसान्तमा करारमा रहेका कर्मचारीहरू हटाउदै अर्को सूचना पछि मात्रै कर्मचारीको ब्यबस्थापन गर्ने भनिएपनि आफु अनुकुल रहेकाहरूलाई साउन १ गतेबाटै कार्यालयमा दैनिक ज्यालादारीमा मेयर श्रेष्ठले गोप्य रुपमा राखेका छन् । ‘हामीले हाजिरी कापी हेर्दा स्थायी कर्मचारीहरूको मात्रै हाजिरी भएको देखिन्छ, तर करारका कर्मचारीहरू दैनिक रुपमै हाजिर गर्छन्, वडा नं. १ का अध्यक्ष लेलिन रञ्जित भन्छन्– ‘ति कर्मचारीहरूको हाजिरिकापी नै गोप्य राखेको बुझिएको छ ।’
दुई आर्थिक बर्ष अगाडीदेखि विभिन्न बिद्यालयमा काम गरिरहेका स्वंयमसेबक शिक्षकको ब्यबस्था नगरपालिकाले गर्दै आएको छ । हाल उनीहरू सबैलाई हटाएर ४० जना स्वंयमसेबक शिक्षकहरू सूचना मार्फत् माग गरेको हो ।
२० जना माध्यमिक तह र २० जना आधारभुत तहको लागि माग भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार खनालले बताए । विदुर नगरपालिकाले गएको बुधवार ४० जना शिक्षक माग गरेको हो ।
तर मेयर राजन श्रेष्ठले भने यसअघि नगरपालिकाको मातहतमा रहेका नगर स्वंयमसेवक शिक्षकहरूको करार अवधि सकिएकोले नयाँ नियुक्तिको प्रक्रिया थालिएको प्रतिक्रृया दिएका छन् ।
लामो समयदेखि कार्यपालिकाको बैठक समेत राख्न नसकेका मेयर श्रेष्ठको एक्लो लहड र सुरमा संस्थागत गतिविधि हुँदै आएको छ । विदुर नगरकार्यपालिकामा नेकपा एमालेको बहुमत छ ।
यसै बीच, काँग्रेसबाट निर्वाचित मेयर राजन श्रेष्ठलाई काँग्रेसभित्रैबाट पनि ‘चेतावनी’ आउन थालेको छ । पार्टीको एउटा गुटलाई मात्र लिएर हिडेको आरोप उनलाई छ । ‘सिमित ब्यक्तिहरूको झुण्डले घेरिएका मेयर श्रेष्ठ उनीहरूकै सल्लाहमा कार्य सम्पादन गर्दै आएका छन्’ काँग्रेसका एक नेताले भने । उनका अनुसार चुनावमा आर्थिक दान गरेका ब्यक्तिहरूको घेरामा मेयर श्रेष्ठ छन् ।
राजनीतिमा सिकारु देखिएकाहरू मेयरको हर्ताकर्ता बनेर काम गराउन थालेपछि भविष्यको राजनीति संकटमा पर्न सक्ने भन्दै काँग्रेसका पुराना कार्यकर्ताहरू मेयरको छेउछाउ पर्न छाडेका छन् ।
No comments:
Post a Comment