Monday, August 22, 2022

२ लाखको कामलाई १० लाख रुपैयाँ भुक्तान

खरानीटार । गाउँको सिंहदरवार भनिएका स्थानीय सरकारमा अनियमितता कत्तिसम्म झाङ्गिएको छ भन्ने उदाहरण नुवाकोटको तादी गाउँपालिकाले दिएको छ । तादी गाउँपालिकामा भुक्तान हुनुपर्ने भन्दा झण्डै आठ लाख रुपैयाँ बढी उपभोक्ता समितिलाई पठाइएको घटना सार्वजनिक भएको छ । 

गएको आर्थिक वर्षको अन्तिम दिन समयमा भएको यो अनियमितता ढाकछोप गर्न गाउँपालिकाको कार्यालय आफंै लागि परेको छ । गाउँपालिका अध्यक्ष सन्तमान तामाङ यस विषयमा मौन देखिएका छन् । यही विषयले उग्र रुप लिने अनुमान गर्दै गाउँपालिका अध्यक्ष सन्तमान तामाङले असार यता गाउँकार्यपालिकाको बैठक समेत राखेका छैनन् । कानुन अनुसार महिनाको कम्तिमा एक पटक कार्यपालिका बैठक बस्नुपर्ने हुन्छ । अनियमितता पत्ता लगाएका गाउँपालिका उपाध्यक्ष सञ्जु प्याकुरेल भने कार्यपालिकाको बैठक तत्कालै राख्नुपर्ने र उक्त योजनादेखि अन्य विषयमा छलफल हुनुपर्ने बताइरहेका छन् । गाउँपालिका अध्यक्ष सन्तमान तामाङले आज सोमवार (भदौ ६ गते) कार्यपालिका बैठक राखिएको प्रतिक्रृया दिएका छन् । 

यही काण्डका कारण तत्कालिन प्रमुख प्रशासकीय अधिकृत अर्जुन आचार्य झोला बोकेर बाटो लागिसकेका छन् । उनको ठाउँमा अहिले प्रयास भट्टराई साउन १५ देखि छन् ।  आचार्य साउन १३ गते शुक्रवार हिडेका र १५ गते आइतवार नयाँ प्रशासकीयका रुपमा भट्टराई हाजिर भएका हुन् । 

भट्टराई केही वर्ष अघि जिल्ला प्रशासन कार्यालय नुवाकोटमै कार्यरत थिए । उनी इलाका प्रशायि कार्यालय सातविसेमा समेत बसेर केही समय काम गरेका थिए । 

त्यस बेलाका लेखा अधिकृत दिपेश भण्डारी गाउँपालिकामै ‘कार्यरत’ छन् । तर उनी लामो समयदेखि कार्यालयमा छैनन् ।   

तादी गाँउपालिका वडा नं. ३ स्थित टुटुङ–रिमालडाँडा–कोइरालाचेत खानेपानी योजनामा अनियमितता भएको हो । १० लाख रुपैयाँ र त्यसको १० प्रतिशत जनश्रमदान गरी ११ लाख  रुपैयाँको उक्त आयोजनामा काम भएको मुल्याङ्कन भने २ लाख ३५ हजार १३८ रुपैयाँ ४६ पैसाको भयो । त्यसमा विभिन्न कर कटाएर उपभोक्ता समितिलाई गाउँपालिकाले भुक्तान गर्नु पर्ने रकम १ लाख ९२ हजर २५८ रहेकोमा गाउँपालिकाले १० लाख रुपैयाँकै चेक उपभोक्ता समितिका अध्यक्ष एकहादुर वाग्लेलाई बोकाएर पठाए । 

उक्त योजना बागमती प्रदेश सभाका उपसभामुख एवं नुवाकोट क्षेत्र नं. १ को प्रदेश ‘क’ का सांसद राधिका तामाङको पहलमा तादी–३ मा भित्रिएको हो । 

असार २४ गत राती पउने १२ बजे उक्त चेक गाउँपालिकाको कार्यालयमै तयार भएको थियो । लेखा शाखामा कामको भिड भएकोले त्यस दिन अन्य फाँटका कर्मचारीलाई समेत सहयोग गर्न बोलाइएको थियो । तर अन्य कर्मचारी भएको समयमा त्यो चेक लेखिएको थिएन । ‘म पउने १२ बजे लेखा शाखाबाट हिडेको हुँ, म हुँदासम्म त्यो चेक लेखिएको थिएन’, एक कर्मचारीले भने– ‘चेकहरू राती १२ बजेभित्र सिस्टममा इन्ट्री गरिसक्नु पर्ने थियो, त्यस कारण त्यो चेक रातको पउने १२ देखि १२ बजेको बीचमा लेखिएको हो ।’ प्रमुख प्रशासकीय अधिकृत आचार्य र लेखा अधिकृतले ३० गते मात्रै उक्त चेकमा हस्ताक्षर गरेर उपभोक्ता समितिका अध्यक्ष वाग्लेलाई हस्तान्तरण गरेका थिए । लेखा अधिकृत भण्डारीले कार्यालयमै बोलाएर उक्त चेक पठाएका थिए । त्यसपछि उपभोक्ता समितिका अध्यक्ष वाग्ले, लेखाअधिकृत भण्डारी र प्रमुख प्रशासकीय अधिकृत आचार्यबीच पटक पटक विवाद र ‘एकान्त’ हुन थालेको थियो । 

साउन ८ गते मात्रै आठ लाख रुपैयाँ बढी भुक्तान भएको कुरा बाहिर आएपछि यसले चर्चा पाएको हो । उपभोक्ता समितिका एक सदस्यले गाउँपालिकाबाट बढी रकम लिएको र अध्यक्ष वाग्ले त्यसलाई मिलाउन दौडधुप गरिरहेको चुहाएका थिए । 

लाखौं रकम अनियमितता गरेको अधिकृत अर्जुन आचार्यलाई मायाको चिनो नै दिएर साउन १३ गते गाउँपालिकाबाट बिदाई गर्दै तादीका अध्यक्ष सन्तमान तामाङ । तस्बिर : इमेज

यस विषयका सम्पूर्ण कागजपत्रहरू गाउँपालिकाको कार्यालयले ‘गोप्य’ भन्दै लुकाएको छ । कार्यपालिका सदस्यहरूले समेत यस विषयमा अध्ययन गर्नका लागि कागज माग गर्दा नपाएको गुनासो गरेका छन् । यस घटनालाई गाउँपालिका अध्यक्ष सन्तमान तामाङले कर्मचारीहरू मार्फत् छोप्ने प्रयास गरिरहेका छन् । साउन १५ देखि प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत भट्टराईले यस विषयमा अनभिज्ञता दर्शाउने गरेका छन् भने पुर्व अधिकृत आचार्यले भने कर्मचारीको गल्तीका कारण त्यसो भएको र उक्त घटनामा आफ्नो कुनै सम्लग्नता र खराब नियत नरहेको बताएका छन् । ‘यस विषयमा मैले सुनेको छु, तर ठ्याक्कै कागज चाँही हेर्न भ्याएको छैन’ अधिकृत भट्टराईले भने ।

गाउँपालिकाका एक कर्मचारीका अनुसार उपभोक्ता समितिका पदाधिकारीले रकम फिर्ता गर्ने बचन दिएका छन् । त्यसैले उनीहरूले ‘इमान्दारिकासाथ’ बढी पैसा फिर्ता गर्ने प्रतीक्षामा गाउँपालिका कार्यालय रहेको छ । ति कर्मचारीका अनुसार उपभोक्ता समितिले दुई लाख रुपैयाँ भने गाउँपालिकाको खातामा जम्मा गरेको छ । बाँकी रहेको रकम पनि खातामा जम्मा गर्ने तीन पटक उनीहरूले भाखा कटाएका छन् । तर गाउँपालिकाले रकम फिर्ता भएको प्रमाण भने सार्वजनिक गरेको छैन । उपभोक्ता समितिका अध्यक्ष वाग्लेले ‘बाँकी रकम आजै खातामा हाल्ने’ भनेर जनप्रतिनिधि र कर्मचारीसंगहरू मौखिक रुपमा पटक पटक भनेका छन् । 

यसरी काम गरेको भन्दा बढी रकम भुक्तान भएको पाइएपछि गाउँपालिकाका अन्य योजनाहरूमा पनि अनियमितता भएको हुनसक्ने आशंका बढेको नागरिकहरूले बताउन थालेका छन् । 

गाउँपालिका अध्यक्ष सन्तमान तामाङले यस घटनालाई गाउँपालिकाले गम्भिरताका साथ लिएको र बढी भुक्तान भएको रकम असुलउपर गराउनका लागि प्रयास भइरहेको बताएका छन् । असार २४ गते अन्तिम चेक लेख्ने क्रममा गत आवको बाँकी रहेको रकम भुक्तन हुनुपर्ने भएकोले बढी गएको हो की भन्ने अनुमान भएपनि असार ३१ गते नै त्यस बेलाका प्रमुख प्रशासकीय अधिकृत आचार्यले बढी रकम उपभोक्ता समितिलाई भुक्तान भएको जानकारी आफुलाई गराएको गाउँपालिका अध्यक्ष तामाङले बताएका छन् । ‘त्यही बेलादेखि छानविनका लागि आवश्यक प्रक्रिया र रकम फिर्ता ल्ष्याउने काम सुरु गरेका छौं’, तामाङले भने– ‘केही रकम फिर्ता आएको सुनेको छु, समिितले फिर्ता नगरे कर्मचारीहरूबाट असुलउपर हुन्छ, रकम हराउदैन ।’

धारमा प्रशासकीय अधिकृत

प्रयास भट्टराई
खरानीटार । तादी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गर्न प्रयास भट्टराई तयारी अवस्थामा रहेको जस्तै देखिए । साउन १३ गते ‘अपर्झट’ हिडेका भनिएका प्रमुख प्रशासकीय अधिकृत अर्जुन आचार्य र अहिलेका प्रमुख प्रशासकीय अधिकृतको जाने र आउने ‘ग्याप’ नै रहेन । साउन १३ गते शुक्रवार आचार्य हिडे, १४ गते शनिवार कार्यालय बिदा, १५ गते आइतवार भट्टराई हाजिर । 

कर्मचारीको भुल भनिएको उक्त लाख बढी भुक्तानी भएको घटनालाई ‘ह्याण्डील’ गर्ने तागत नभएकै कारण आचार्य हिडेको अनुमान अहिले तादी गाउँपालिकाका जनप्रतिनिधिहरूले गर्न थालेका छन् । एक जनप्रतिनिधिले भने– ‘त्यसैले घटनालाई थाम्न सक्ने गरी नै अहिलेको प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराईलाई गाउँपालिका अध्यक्ष सन्तमान तामाङले ल्याएका हुन् ।’ एउटा प्रमुख प्रशासकीय अधिकृत सरुवा भई हिडेपछि अर्को ल्याउन कत्तिको मुस्किल खेप्नु पर्छ भन्ने उदाहरण तादीमै प्रशस्त छन् । अघिल्लो पाँच वर्षको कार्यकालमा आधा समय निमित्त प्रमुख प्रशासकीय अधिकृतले थामेका थिए । यत्तिका ठुलो काण्ड भएकै समयमा एक मिनेट पनि खाली नहुने गरी अधिकृत आइपुग्नुले गाउँपालिकाको अध्यक्ष तर्फपनि प्रश्न तेर्सिएको छ । ‘हामीलाई आचार्य जान लागेको शुक्रवार थाहा भयो, आइतवार नयाँलाई स्वागत गर्नुपर्यो भनेर अध्यक्षले बोलाए’ एक जनप्रतिनिधिले भने । 

    उनका अनुसार प्रमुख प्रशासकीय जाने र आउने घटनाक्रम पालिका अध्यक्ष बाहेक कुनै जनप्रतिनिधिको जानकारीमा थिएन ।  

तर गाउँपालिका अध्यक्ष तामाङले आचार्यले मन्त्रालयमा सरुवा मागिरहेको जानकारी भएपछि नयाँ अधिकृतका लागि खोजी केही दिन अघिबाटै भइरहेको बताए । ‘यसमा मेरो कुनै चलखेल छैन, बरु उहाँले (अहिलेका प्रमुख प्रशासकीय अधिकृत भट्टराई) मलाई चिन्नुभएको रहेछ, पहिल्यै नुवाकोट बसेका कारण, मैले त चिनेको पनि थिइन’, तामाङले भने– ‘मन्त्रालयले सक्षम कर्मचारी छन् प्रशासनिक क्षेत्रका लागि भनेपछि मैले सहमती जनाएको हुँ ।’

साउन १५ गते हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराई आफ्नो सरुवा साउन ८ गते नै भएको र ९ गते रमाना लिएर १५ गते तादी गाउँपाकिलामा हाजिर भएको बताउछन् । ‘म स्थानीय तहमा काम गर्न इच्छुक भएर सरुवा मागिरहेको थिएँ, तादी गाउँपालिकामा खाली भएकोले मैले सरुवा लिएको हुँ, गाउँपालिका अध्यक्षलाई नुवाकोट बस्दा पहिल्यै चिनेको भएपनि उहाँले मलाई गाउँपालिकाको कार्यालय पुगेपछि मात्रै चिन्नुभएको हो’ भट्टराईले भने । 

तर उनलाई कर्मचारी भन्दा गाउँपालिकाका अध्यक्षको अनुकुल काम गर्न थालेको आरोप लागेको छ । नेपाली काँग्रेस र माओवादी केन्द्रको बराबरी उपस्थिति रहेको तादी गाउँपालिकामा अहिले गाउँपालिका अध्यक्ष तामाङ अनुकुलमा काँग्रेसको काम र क्रियाकलाप देखिएको छ । असारमा भएको गाउँकार्यपालिका बैठकले करारका कर्मचारीहरूलाई असोज मसान्तसम्म मात्रै म्याद थप गर्ने निर्णय गरेकोमा उनले न्यायीक सहजकर्तामा एक वर्षको नियुक्ती दिएर काँग्रेस कार्यकर्तालाई कर्मचारीको रुपमा निरन्तरता दिएको कार्यपालिकाका एक सदस्यले बताए । ‘बैशाखमा भएको निर्वाचनमा काँग्रेसको तर्फबाट उपाध्यक्षमा उम्मेदवारी दिन ठिक्क परेको व्यक्तिलाई नियुक्ति दिइएको छ, त्यो पनि उनीमात्रैलाई एक्कै वर्षको,’ उनले भने– ‘हामीले कागजपत्र माग गर्दा हाकिमले अध्यक्षको आदेशमा भनिरहेका छन् ।’ असोज मसान्तपछि करारका कर्मचारीहरूको विषयमा निर्णय गर्ने गरी कार्यपालिका बैठक बस्नुपर्नेमा त्यसको कुनै तयारी नभएको एक वडा अध्यक्षले बताए । 

प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराईले आफुले मन्त्रालयको पत्रको कार्यान्वयन मात्रै गरेको र गाउँपालिका आएपछिको आफ्नो पहिलो र एक मात्रै काम त्यही रहेको बताएका छन् । उनले भने– ‘मन्त्रालयले गाउँपालिकालाई पत्र पठाएर न्यायीक सहजकर्तालाई निरन्तरता दिनु भनेकोले सोही व्यहोराको पत्र मात्रै लेखेको हुँ, अन्य कुनै कर्मचारीको विषयमा केही नियर्ण वा नियुक्ति भएको छैन ।’

गाउँपालिका अध्यक्ष सन्तमान तामाङले भने प्रदेश सरकारबाटै म्याद थप भएर आएको र तलब समेत उतैबाट आउने भएकोले आफुहरूले त्यसको प्रक्रिया मात्रै पुरा गरेको बताए । तामाङले भने– ‘अन्य करारका कर्मचारीहरूको विषयमा कुनै निर्णय भएको छैन र उनको म्याद प्रदेशबाटनै थपिएको हो, हामीले कुनै निर्णय गरेको वा नियुक्ती दिएका छैनौं ।’  

गाउँपालिकाको चुनावमा एक्लाएक्लै प्रतिस्पर्धा गरेर १४÷१४ सिट जितेपछि गाउँकार्यपालिकाको निर्वाचनमा काँग्रेस र माओवादी मिलेको थियो । चार सिट जितेको एमालेलाई पाखा लगाउन काँग्रेस–माओवादीले गरेको मोर्चाबन्दी लामो समय नजाने अनुमान काँग्रेस माओवादीकै नेताहरूले गर्न थालेका छन् । ‘गाउँपालिका अध्यक्ष तामाङ काँग्रेसको पृष्ठपोषणमा केन्द्रीय भएको प्रष्ट भएपछि माओवादी नयाँ रणनीतिको तयारीमा छ’, माओवादी तादी गाउँपालिकाका एक नेताले भने– ‘सहकार्य र सह अस्तित्वको मर्मलाई अध्यक्षले भुले ।’ 

तादी गाउँपालिकाको कार्यपालिकामा नेपाली काँग्रेसको पालिका अध्यक्ष, दुई वडा अध्यक्ष र पालिका सदस्य तीन गरी ६, माओवादी केन्द्रको पालिका उपाध्यक्ष, तीन वडा अध्यक्ष र पालिका सदस्य तीन गरी ७ र एमाले एक वडा अध्यक्षको उपस्थिति छ ।   

माओवादी–अध्यक्ष दुरी बढ्दै

खरानीटार । गाउँपालिका अध्यक्ष निर्वाचित भएलगत्तै सन्तमान तामाङले काँग्रेसको भातृ संस्थाको अधिवेशन गाउँपालिकाको कार्यालयमा गराएपछि विवाद भएको थियो । शिक्षक संघको अधिवेशन उनले गाउँपालिकाको कार्यालयमै गराएका थिए । तर त्यसको अघिल्लो दिन माओवादीले पार्टीको एक कार्यक्रमका लागि गाउँपालिकाको बैठक कक्षा माग गर्दा उनले कुनै दल विशेषको कार्यक्रम गर्दा राम्रो सन्देश नजाने भन्दै ठाउँ दिएनन् । 

अहिलेको जनप्रतिनिधिहरूको कार्यकालको पहिलो बार्षिक बजेट तथा नीति सार्वजनिक गर्ने कार्यक्रममा प्रमुख अतिथि माओवादीका नेता हितबहादुर तामाङ हुने सम्भावना देखेपछि कुनै पनि दलको नेतालाई गाउँपालिकाको कार्यक्रममा कहिल्यै प्रमुख अतिथि नबनाउने उनले दावी गरे । संघीय सांसद वा प्रदेश सांसदलाई प्रमुख अतिथि बनाएर कार्यक्रम गर्न माओवादी केन्द्रले प्रस्ताव गरेपछि हितबहादुर तामाङ वा राधिका तामाङ प्रमुख अतिथि हुने देखेर कुनै दलको नेतालाई प्रमुख अतिथि नबनाउने उनले बताएको एक सदस्यले भने । तर बजेट घोषणा समारोहमा उनले काँग्रेस तादी गाउँपालिकाका सभापति नारायणप्रसाद पाण्डेलाई प्रमुख अतिथिका रुपमा आसन ग्रहण गराए । पुर्व गाउँपालिका अध्यक्ष पाण्डेलाई काँग्रेस गाउँपालिका सभापतिका रुपमा प्रमुख अतिथि बनाइएपनि माओवादीले त्यस बेला कुनै प्रतिक्रृया दिएन । 

    तर यस विषयमा सबै कार्यपालिका सदस्यहरूको सहमती भएको गाउँपालिका अध्यक्ष तामाङले बताएका छन् । ‘पाण्डेलाई त्यस बेलामा पुर्व गाउँपालिका अध्यक्षको हैसियतले प्रमुख अतिथि बनाइएको थियो, हितबहादुर तामाङ वा राधिका तामाङको विषयमा कुनै चर्चा भएको थिएन’, अध्यक्ष तामाङले भने– ‘अघिल्लो कार्यकालको बाँकी काम र अनुभवलाई समेत जोड्न सकिने हेतुका कारण उहाँलाई त्यसबेलामा रोजिएको हो ।’ तर माओवादकिा एक जनप्रतिनिधिका अनुसार पाण्डेलाई पुर्व प्रमुखका रुपमा त्यसबेलाका कार्यक्रममा आसनग्रहण र परिचय गराइएको थिएन । सम्वोधनका बेला एक÷दुई पटक पुर्व अध्यक्ष भनिएपनि काँग्रेस सभापतिकै हैसियत दिइएको थियो ।   

जिल्ला समन्वय समितिको निर्वाचन सकिएको भोलिपल्टको घटनाले भने माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरू सन्तमान तामाङसंग सशंकित बनेका छन् । समन्वय प्रमुखमा निर्वाचित माओवादी केन्द्रका रजिन्द्रबिक्रमसिंह ठकुरी तादी गाउँपालिकाको कार्यालय हुँदै आफ्नो गाउँपालिका पञ्चकन्या जाँदै थिए । यस विषयमा जानकारी पाएका गाउँपालिका उपाध्यक्ष सञ्जु प्याकुरेलले अध्यक्ष सन्तमान तामाङले जानकारी गराएका थिए । अध्यक्षलाई जानकारी गराएर समन्वय प्रमुख ठकुरीको स्वागतमा गेटमा उपाध्यक्ष र माओवादीबाट निर्वाचित केही पालिका सदस्यहरू मात्रै उभिए । ‘दोहो¥याएर सन्तमानलाई समन्वय प्रमुखको स्वागत गर्न जान आग्रह गर्न गएका एक जनप्रतिनिधि र एक जना कर्मचारीले तामाङको हप्की खाए’ एक जनप्रतिनिधिले भने । तामाङ आफ्नो कार्यकक्षबाट ओर्लिएनन्, बरु समन्वय प्रमुख ठकुरी उनको कार्यकक्षमा पुगेर आफुलाई निर्वाचित गर्न भुमिका खेलेकोमा आभार व्यक्त गर्दै आफुलाई अघिल्लो कार्यकालको अनुभव सहित मार्गनिर्देश गर्न आग्रह गरे । 

तर यस विषयलाई अतिरञ्जित गरिएको अध्यक्ष तामाङले बताए । उनका अनुसार सडकमै स्वागत गर्न जाने र उतैबाट समन्वय प्रमुख जाने कुरा सुनेपछि आफ्नो कार्यालयमा आउनुपर्ने मात्रै त्यसबेलामा कुरा भएको थियो । ‘म अरुको हैसियत, मानमर्यादाको विषयमा अझ याद गर्ने मान्छे मैले उहाँलाई त्यसो भनेको होइन, हाम्रो कार्यालय प्रमुखज्यूले नटेकी जान पाउनुहुन्न पो भनेको हुँ’ तामाङले भने । आफुले सडकमा पुगेर चाँही स्वागत नगर्ने चाँही भनेको बताए । 

उनै तामाङले दुई साता अघि काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत खरानीटार आउँदा आफ्नो कार्यालयबाट बाहिर निस्केर अमरज्योती माविको कम्पाण्ड परिसरमा महतलाई खादा लगाएर स्वागत गरेका थिए ।

तामाङ यस अघिको जिल्ला समन्वय समितिको प्रमुख भएका कारण आफुले नेतृत्व गरेको संस्थाको प्रमुख आउदा उनले गर्ने सम्मान र आदारभावको अपेक्षा हामीले गरेका थियौ, तर समन्वय प्रमुख होइन एउटा माओवादी आयो भन्ने गरी उनले ब्यवहार देखाए’ माओवादीका एक नेताले भने । अध्यक्ष तामाङ भने आफ्नो र माओवादी केन्द्र बीच दुरी बढेको कुनै आभाष नै नभएको बताउँछन् । संविधानले समेत स्थानीय सरकारमा अल्पमत, बहुमत र प्रतिपक्षको कल्पना नगरेकोले समभावका साथ संविधानको मर्म अनुसार आफु चल्ने तामाङको प्रतिक्रृया छ ।

No comments:

Post a Comment