Monday, August 29, 2022

काँग्रेसलाई उम्मेदवार पाउन मुस्किल

विदुर । विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नेतृत्व परिर्वतनका लागि यही भदौ २२ गते आठौ अधिवेशन हुँदै छ । यसका लागि ठूला राजनीतिक दलहरू आन्तरिक गृह कार्यमा जुटेका छन् । यसपटकको चुनावमा नेपाली काँग्रेस–माओवादी केन्द्र र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । 

सत्तागठबन्धनमा रहेको एकीकृत समाजवादी पार्टीले भने गठबन्धनमा सहभागी नहुने घोषणा गरेको छ । जिल्ला उपसचिव उद्धव पनेरुले बोग्लै प्यानल बनाउने घोषणा गरेका छन् । माझिटारको च्वाडी पब्लिक माविको ब्यवस्थापन समिति गठनमा काँग्रेसले दपेटेकै कारण समाजवादीले काँग्रेसलाई समर्थन नगर्ने मनस्थिति बनाएको बुझिएको छ । काँग्रेसबाट निर्वाचित विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले गठबन्धनको मर्मलाई समेत ख्याल नगरेर ब्यवस्थापन समिति गठनमा नाङ्गो हस्तक्षेप गरेको भन्दै समाजवादीका नेता तथा कार्यकर्ताहरूले औपचारिक रुपमै असन्तुष्टि जनाउँदै आएका छन् । 

काँग्रेस–माओवादीले चुनावका लागि कार्यदल बनाएको भएपनि छलफलमा भने जुटिसकेको छैन । मुख्य दलका नेताहरू काठमाडौं भएको र उनीहरू मंगलवारसम्म जिल्ला आएपछि पद भागबण्डा देखि अन्य विषयमा छलफल आरम्भ हुने बताइएको छ ।   समाचार श्रोतका अनुसार काँग्रेसले अध्यक्ष लिने, उपाध्यक्ष र सचिव माओवादीलाई दिनेगरी अनौपचारिक छलफल चलिरहेको छ । त्यसो हुँदा काँग्रेसका छत्रबहादुर डंगोल अध्यक्षको उम्मेदवार हुने छन् । उपाध्यक्षमा माओवादीबाट रघुनाथ रिमाल, भोजराज पनेरु र रामहरि घिमिरे मध्ये एक जना उम्मेदवार बन्ने छन् । हाल कार्य समितिमा सचिव समेत रहेका रिमाल भने कुनै पनि पदमा उम्मेदवारी दिन इच्छुक छैनन् । 

काँग्रेसमा समेत अध्यक्षको उम्मेदवार बन्न ‘सच्चा ईच्छा जाहेर गर्ने’ को अभाव भएको बताइएको छ । सुरुमै पराजित हुने मानसिकताका कारण काँग्रेसभित्रै अध्यक्ष उठ्नेको अभाव भएको हो । संस्थाको विधान अनुसार एक कार्यकाल कार्यसमितिमा भएका व्यक्तिमात्रै अध्यक्ष, पदाधिकारीको उम्मेदवार हुन पाउने व्यवस्थाले काँग्रेसलाई उम्मेदवार भेट्याउन मुस्किल परेको हो । डंगोल, अघिल्लो पटक नारायणबहादुर खनालसंग पराजित राजेन्द्र अर्याल र एक कार्यकाल सदस्य भएका बद्रीप्रसाद त्रिपाठी मध्ये एकलाई अध्यक्ष बनाउने चर्चा बजारमा छ । चुनाव जित्ने बलियो आधार नभएकै कारण बलियो दाबी पेश गर्नेहरू नभेटिएपछि डंगोलले ‘पार्टीका लागि हारेपनि म उठ्छु’ भनेर नेतृत्व तहमा वचन दिएका छन् ।  

एमालेको तर्फबाट सञ्जिबहादुर श्रेष्ठको नेतृत्वमा टिम तयार हुने बताइएको छ । श्रेष्ठ अहिले उपाध्यक्ष छन् । सुरुमा बाम गठबन्धको प्रयास गरेका श्रेष्ठले अहिले खानेपानीमा ठुलो राजनीतिक मुद्दा स्थापित गरेर बखेडा गर्न नहुने बताउदै काम गर्नेहरूको टिम तयार गर्ने बताएका छन् । एमाले भने अन्य पार्टीको रणनीतिको स्वरुप आएपछि मात्रै योजना बनाउन प्रतीक्षा गरिरहेको छ ।

संस्थामा कत्ति मतदाता कामय भएका छन् भन्ने चाँही दुई दिनमा टुङ्गो लाग्ने अध्यक्ष नारायण खनालले जानकारी दिए । पुराना धाराहरूको नविकरणको अध्यावधिक भइरहेकोले ढिला भएको हो । २४ सय पुराना धारा मध्ये नविकरण नभएका धाराको विवरण हेर्ने काम भइरहेको छ । झण्डै १५ सय धारा नयाँ थपिएको छ । तत्काल ३८ सय हाराहारीमा देखिएको भएपनि पुराना धाराको विवरण निकाल्दा घटेर ३५ सय हाराहारीमा मतदाता हुने अनुमान छ । 

No comments:

Post a Comment