हुन त पानीको स्वाद हुदैन भनिन्छ, कहिले काहीँ सधै पिउने गरेको पानीको पनि फरक स्वाद त आएको पनि अनुभुती छ । तर यो झरनाको पानीको स्वाद भने अर्को लाग्यो । केही मिसिएको स्वाद पानीमा पाए । बद्रीनाथ धामबाट करिब ७ किलोमिटर दुरीमा रहेको अलकानन्द नदीको उद्गमस्थल ‘बशुधारा’मा मैले गरेको यो अनुभव हो । यस मुहानको पानी सिधै हिमालबाट बगेर यहाँसम्म आइपुग्दा धेरै जडीबुटी छोएको भएर यसको स्वाद फरक रहेको यहाँ भेटिएका भेडा गोठाला र ‘बाबा’हरूले बताए ।
यस झरनामा पानीको धारा करिब चार सय फिटको उचाइबाट झरिरहेको छ अनि पानी चट्टानमा ठोकिदाको आबाज यस्तो डरलाग्दो सुनिदो रहेछ कि, त्यो पानीको आबाज मात्रै हो भन्ने बानि पारेर मन ढुक्क हुन मलाई धेरै बेर लाग्यो । यो झरना यति अग्लो रहेछकि पहाडको फेददेखि पहाडको टुप्पोसम्मको पूरै झरनालाई एकै दृष्यमा देखिदो रहेनछ । राम्रो लेन्स भएको क्यामेरामा भने अट्दो रहेछ ।
बद्रीनाथ जाने सबै भक्तहरू वसुधारा झरना हेर्न रहर गर्दा रहेछन्, तर माना गाउँबाट झण्डै ६ किलोमिटर पैदल हिड्नु पर्ने, चिसो र तप्पिउतप्पिउ परेको उकालो बाटोका कारण धेरै यात्रीहरू बिचबाट फर्कदा रहेछन् । हामीलाई झण्डै ३ घण्टा लाग्यो माना गाउँबाट बशुधारा पुग्न ।
स्थानीयहरूको भनाई अनुसार यस झरनाको विशेषता यो हो कि यो झरना मुनी जाने हरेक व्यक्तिमा पर्दैन । भनिन्छ यो मुहानको पानी पापीलाई पर्दैन । त्यसो त शास्त्र अनुसार पञ्च पाण्डवकालमा सहदेवले यहाँ प्राण त्याग गरेका थिए । उनीहरू स्वर्ग जान यहि बाटो हिडेका थिए ।
बशुधाराको केही पर देखिने पहिरो गएको जस्तो स्थान छ, जहाबाट मन्दाकिनी नदी सुरु भएको जस्तो देखिन्छ । तर यो नदी धेरै माथिबाट बगेर आएको छ । यहि बशुधाराबाट १८ किलोमिटर माथि महापथ छ अरे, युधिष्ठिर चाहि यही बाटो भएर स्वर्ग तर्फ लागेका थिए । पाँच पाण्डवका अन्य सदस्य भने बशुधाराबाट माथि जान नसकेपछि सहदेवले यही प्राण त्यागेर स्वर्ग लागे भने अन्य बशुधाराको यो विशाल पहाड चढेर स्वर्गको यात्रा गरे ।
००००००
आज म हिन्दुस्तानको अन्तिम गाउँ वा उत्तराखण्डको अन्तिम गाउँ भनेर चिनिने ‘माणा’ गाउँ र यसको पनि अन्तिम वा भनु हिन्दुस्तानको अन्तिम पसलसम्म आइपुगेको छु । यो गाउँलाई ‘माना’ पनि भन्ने गरेको पाईयो । यो गाउँ चीनसँग सीमा जोडिएको रहेछ । यहाँबाट चिन २५ किलोमिटरको दुरीमा रहेछ । त्यस तर्फ जानका लागि भारत सरकारले सडक निर्माण गरिरहेको रहेछ । पवित्र बद्रीनाथबाट चार किलोमिटरको दूरीमा यो गाउँ अवस्थित छ । यस गाउँको नाता महाभारतकाल, भगवान श्री गणेश र महर्षि बेदब्याससँग पनि जोडिएको रहेछ । यस गाउँबाट पाण्डवहरू स्वर्ग गएको विश्वास गरिन्छ । यस्तै महाभारतको रचना पनि यहि भएको रहेछ । यस गाउँसँग सम्बन्धित धेरै रहस्यमय र रोचक कुराहरू रहेछन्, जसले मलाई छक्क पारेको छ ।
करिब १९ हजार फिटको उचाइमा रहेको यस गाउँको नाम मणिभद्र देवको नामबाट ‘मन’ राखिएको बताइएको छ । पौराणिक मान्यताका अनुसार यो भारतको एक मात्र गाउँ हो जसलाई पृथ्वीका चार धाममध्ये सबैभन्दा पवित्र मानिन्छ । यो गाउँलाई श्रापमुक्त र पापमुक्त पनि मानिन्छ ।
यहाँका स्थानीयहरू र यस गाउँको बारेमा जानेबुझेकाहरूको एउटा बलियो विश्वास यो रहेछ कि : यहाँ आउने हरेक मानिसको गरिबी हट्छ । यस गाउँलाई भगवान शिवको विशेष आशीर्वाद प्राप्त भएको बताइन्छ र यहाँ जो आउँछ, उसको गरिबी हट्छ भनिदो रहेछ ।
‘भीम पुल’ भनेर चिनिने यस गाउँमा महाभारत कालमा बनेको पुल अहिले पनि रहेछ । भनिन्छ कि जब पाण्डवहरू यस गाउँबाट स्वर्ग जाँदै थिए, उनीहरूले यहाँ रहेको सरस्वती नदीको पारी जाने बाटो मागेका थिए तर सरस्वती नदीले बाटो दिन अस्वीकार गरेपछि महाबली भीमले दुईवटा ठूला ढुङ्गा तोडेर उठाए र नदीमाथि राखेर आफ्नो लागि बाटो बनाए । यसपछि पाण्डवहरू यो पुल पार गरेर स्वर्गतिर लागेछन् । भीम पुल भारी ढुंगाले बनेको यस्तो सुरक्षित पुल हो, जहाबाट आज पनि हज्जारौं मानिसको आवतजावत हुन्छ । भीमपुलको ढुङ्गामा पाँच औँलाको छाप पनि देखिन्छ । जब भीमले आफ्नो हातले यो ढुङ्गा उठाए तब यी निशान ढुङ्गामा परेको विश्वास छ । डरलाग्दो गडगडाहट सहित गहिरिएर बगेको सरस्वती नदिमा मानिस नपरुन् भनेर यस पुलको माथि सुरक्षाका लागि प्याराफिट बाउन्ड्री बनाएको छ ।
यो गाउँमा रहस्यले भरिएको गुफा रहेछ, जसलाई ‘व्यास गुफा’ भनिन्छ । यो सानो गुफा भए पनि हजारौं वर्ष पहिले महर्षि वेदव्यासले यस गुफामा बसेर वेद र पुराणको संकलन गरेको बताइन्छ । यस गुफामा वेदव्यासले भगवान श्री गणेशको सहयोगमा महाभारतको रचना गरेको पनि विश्वास गरिन्छ । वेदव्यास गुफा पनि आफ्नो अद्वितीय छानाको लागि भारतभरि प्रसिद्ध रहेछ । यो छत हेर्दा धेरै पानाहरू एक अर्को माथी थुप्रिएको जस्तो देखिन्छ । यो छतको बारेमा रहस्यमय विश्वास छ । भनिन्छ कि यो महाभारतको कथाको त्यो अंश हो, जसको बारेमा महर्षी वेदव्यास र भगवान श्री गणेशजी बाहेक कसैलाई थाहा छैन ।
महर्षी वेदव्यासले भगवान श्री गणेशलाई महाभारतका ती पानाहरू लेख्न लगाएका थिए तर उनले ती पानाहरूलाई त्यस महाकाव्यमा समावेश गरेनन् र आफ्नो शक्तिले ती पानाहरूलाई ढुङ्गा बनाएका थिए ।
ढुङ्गाका यी रहस्यमय पानालाई आज ‘व्यास पोथी’ भनेर पुकारिदो रहेछ । जुन यो गुफाको बाहिर भागमा देखिन्छ । टाढाबाट हेर्दा एउटा सिङ्गै पहाड कितावको पाना चाङ्ग जस्तै देखिन्छ ।
त्यो रहस्य के थियो, जुन वेदव्यासले संसारलाई बताउन चाहेनन् । महाभारतको यो ‘हराएको अध्याय’ साँचो हो वा कथा, कसैलाई थाहा छैन, तर जत्ति हेरेपनि र जसरी हेरेपनि व्यास गुफाको छतमा ठूलो किताब राखिएको देखिन्छ ।
यो माना गाउँमा गणेश गुफा पनि रहेछ । जहा श्री गणेशजीले व्यासजीको आदेशमा पुराण लेखेका थिए ।
No comments:
Post a Comment