Monday, August 22, 2022

तारकेश्वर भ्रष्टाचारको अखडा


विदुर । तारकेश्वर गाउँपालिकाको नेतृत्व आर्थिक अनियमितता र कमिसनको खेलमा लागेको आरोप लागेको छ । सोही गाउँपालिका अन्तर्गतका वडाध्यक्ष सूर्यमान श्रेष्ठले गाउँपालिका अध्यक्ष शिव अधिकारी एकपछि अर्को आर्थिक अनियमितता र भ्रष्टाचारजन्य कार्यमा लागेको आरोप लगाएका हुन् । स्थानीय निर्वाचनबाट एकै पार्टी नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षमा अधिकारी र वडा नम्बर ३ को अध्यक्षमा श्रेष्ठ विजयी भएका थिए । जनप्रतिनिधिको रुपमा काम थालेको ३ महिनामै श्रेष्ठले आफ्नै अध्यक्ष विरुद्ध आरोप लगाएका रातोपाटीले लेखेको छ । 

गाउँपालिका कार्यालयको एलईडी डिस्प्ले (डिजिटल) बोर्ड निर्माण, सरकारी गाडी, स्वास्थ्य सामाग्री, पालिका भवन लगायतमा गाउँपालिका अध्यक्षको नियत सफा नदेखिएको श्रेष्ठको दाबी छ । अध्यक्ष नियोजित भ्रष्टाचारमा लागेपछि एउटा स्वतन्त्र नागरिक र इमान्दार जनप्रतिनिधिको हैसियतले जनता सामू आफूले स्पष्ट कुरा राखेको श्रेष्ठले सामाजिक सञ्जालमार्फत बताएका छन् । ‘मेरो पाटी विरोधी आवाज होइन, भ्रष्टाचारविरुद्धको आवाज हो । हरेक कुराको हिसाब गर्नेछौँ, अब याद रहोस् सबै टिकाउ हुँदैन’, श्रेष्ठले भने ।

डिजिटल बोर्डको ६ लाख !


गाउँपालिकाले कार्यालयमा डिजिटल बोर्ड राख्नका लागि झण्डै ६ लाख खर्चिएको छ । जुन विषय सार्वजनिक भएपछि अहिले चर्को विरोध गरिरहेका छन् । भ्याटसहित डिजिटल बोर्डमा ५ लाख ९६ हजार ६४० रुपैयाँ खर्चिएको हो । अनामनगरस्थित इनोभेटिभ मिडिया एण्ड मल्टिपल बिजनेस प्रालि मार्फत खरिद गरिएको बोर्डमा आर्थिक चलखेल भएको वडाध्यक्ष श्रेष्ठ लगायतको दाबी छ । श्रेष्ठले विज्ञापन प्रकाशन लगायतमा पनि उस्तै आर्थिक अनियमितता भएको आरोप लगाएका छन् । यस विषयमा गाउँपालिका अध्यक्ष अधिकारीले भने कुनै आर्थिक अनियमितता नभएको दाबी गरे । विज्ञापनका सम्बन्धमा उठेको प्रश्न पुरानो स्थानीय सरकारको विषय भएको र डिजिटल बोर्ड यही सरकारले खरिद गरेपनि त्यसमा आर्थिक अनियमितता हुन नसक्ने बताए ।

‘कुनै कम्पनीबाट बोर्ड खरिद गरिएको हो । त्यो अध्यक्षले गएर किन्ने कुरा पनि भएन । कर्मचारीले प्रक्रिया सम्मत ढंगले किनेको हो’, उनले भने, ‘प्रश्न उठेपछि मैले कम्पनीमा फोन गरेर सोधेको थिएँ । त्यति पर्छ भन्ने जानकारी आएको छ ।’ 

प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीले १० लाखसम्म कोटेशनमा सोझै खरिद गर्न सकिने प्रावधान अनुसार बोर्ड खरिद गरेको बताए । तीन वटा सप्लायर्स मार्फत कोटेशन मागेर नियम संगत ढंगले प्रक्रिया अघि बढाइएको भन्दै बोर्डको बिल भुक्तानी हुन पनि बाँकी रहेको बताए । ‘यो प्रश्न उठिसकेपछि हामीले सप्लायर्सलाई मूल्य समायोजन हुन सक्छ कि सक्दैन भनेर मौखिक रुपमा भनिसकेका छौँ’, उनले भने, ‘यो सबैले बुझ्ने कुरा हो, भोलि बजार मूल्य अनुसार नै बिल कायम गरेर भुक्तानी हुने हुन्छ । 

यस्तै सप्लायर्स कम्पनी इनोभेटिभ मिडियाका पदम सन्ज्यालले आफूले गाउँपालिकाको बोर्ड बनाउन ६४ हजारजति नाफा लिएको भन्दै यसमा कसैलाई कमिसन पनि नदिएको स्पष्ट गरे । उनले भने, यो गुणस्तरीय बोर्ड भएकाले पनि महँगो भएको हो । यो सामान्य रातो स्कोलिङ बोर्ड जस्तो होइन ।’ यसको बजार रेट नै प्रतिस्क्वायर फिट १४ हजार देखि १६ हजार ५०० रुपैयाँ सम्म रहेको उनको भनाइ छ । 

No comments:

Post a Comment