Monday, August 08, 2022

बद्री बिशाल : दुई पटक दर्शन गर्नुपर्ने देवालय


कपिलदेव खनाल

चार धाम मध्येको एक बद्रीनाथको बारेमा एउटा यहाँ प्रचलित रहेछ : ‘जो जाये बद्री, वो न आये उड्री’ । अर्थात् जसले बद्रीनाथ देखेको छ, उसले फेरि गर्भमा आउनु पर्दैन । अर्थात् दोस्रो पटक जन्मिनु पर्दैन । अनि शास्त्रका यसो पनि भनिएको रहेछ कि : मानिसले जीवनमा कम्तीमा दुईपटक बद्रीनाथको दर्शन गर्न‘पर्छ । मेरो चाहिँ यो पहिलो दर्शन हो । हामी हिजो भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा अलकनंदा नदीको किनारमा बास बस्यौं । यहाँ हिन्दू देवता विष्णुलाई समर्पित मन्दिर छ । यो दुई हजार वर्ष भन्दा अघिदेखि प्रसिद्ध तीर्थस्थलको रुपमा रहेको छ ।

धर्ममा उल्लेख गरिएको सबैभन्दा पवित्र स्थानहरू मध्ये बद्रीनाथ, बद्रीनारायण वा बदरिनाथ (तीन नामले पुकारिदो रहेछ) एक हो । बालखकालदेखि मैले चाहिँ बद्रीनाथ भनेर नै सुनेकोले म चाहिँ बद्रिनाथ नै भन्छु । खासमा बद्रीनाथ यो मन्दिर परिषरको शहरको नाम रहेछ । भगवान श्री बिष्णु स्वयम् भने ‘बद्री विशाल’ नाम दिएका छन् । यस विषयमा म केही बेरमा सोधिखोजि गर्छ‘ । यहाँ प्रचुर मात्रामा पाइने जंगली बेरीलाई बद्री भनिने भएकाले यस धामको नाम बद्री राखिएको भन्ने पनि लोकोक्ति रहेछ ।

यो चार धाम अन्तर्गत पर्छ । यो एक प्राचीन मन्दिर हो जसको निर्माण ७ औं देखि ९ औं शताब्दीमा भएको पाइन्छ । मन्दिरको नामबाट यसको वरिपरि रहेको सहरलाई बद्रीनाथ भनिएको रहेछ । यो स्थान समुद्र सतहबाट ३ हजार १३३ मिटर (१० हजार २७९ फीट)को उचाइमा छ । हिमाली क्षेत्रको कठोर मौसमका कारण मन्दिर वर्षको छ महिना (बैशाखको १८/२० देखि कात्तिकको १६/१८ गतेसम्म) खुला हुदो रहेछ । बद्रीनाथ मन्दिर खोल्ने समय बसन्त पञ्चमीको दिन तय हुने रहेछ । यो भारतको सबैभन्दा व्यस्त तीर्थस्थल मध्ये एक यहाँ बार्षिक रुपमा आउने तीर्थयात्रीको संख्या नेपालको जनसंख्या भन्दा तीन गुणा बढि हुँदो रहेछ । सरकारले राखेको आगमन रेकर्डको आधारमा पनि बार्षिक १० करोड भन्दा माथि यहाँ भक्तजन आएका छन् । सरकारको सबै यात्रुहरूको रेकर्ड राख्न सकेको छैन ।

बद्रीनाथ मन्दिरमा हिन्दू देवता विष्णुको एक रूप ‘बद्री नारायण’को पूजा गरिन्छ । यहाँ शालिग्रामको बनेको उनको १ मिटर (३.३ फिट) अग्लो मूर्ति छ, जसलाई आदि शंकराचार्यले आठौं शताब्दीमा नजिकैको नारद कुण्डबाट ल्याएर स्थापना गरेको मानिन्छ । यो मूर्तिलाई हिन्दूहरूले विष्णुको आठ स्वयम् प्रकट क्षेत्रहरू मध्ये एक मान्छन् । 

केदारनाथलाई भगवान शंकरको विश्रामस्थल मानिन्छ भने बद्रीनाथलाई ब्रह्माण्डको आठौं वैकुण्ठ भनिन्छ, जहाँ भगवान विष्णु ६ महिना सुत्छन् र ६ महिना जाग्छन् । यहाँ शालग्रामशिलाबाट बनेको बद्रीनाथको मूर्ति चतुर्भ‘ज ध्यान मुद्रामा छ । यहाँ नर–नारायण देवताको पूजा गरिन्छ र अखंड दीप प्रज्वलन गरिन्छ, जुन अचल ज्ञानको प्रतीक हो ।

पौराणिक लोककथाका अनुसार बद्रीनाथ र यसको वरपरको सम्पूर्ण क्षेत्र कुनै समय शिवभूमि (केदारखण्ड) को रूपमा अवस्थित थियो । जब गंगा नदी पृथ्वीमा अवतरण भयो, यो बाह्र धाराहरूमा विभाजित भयो । यस ठाउँबाट बग्ने धारा अलकनंदाको नामले प्रसिद्ध भयो । मान्यता अनुसार जब भगवान विष्णु आफ्नो ध्यानको लागि उपयुक्त स्थान खोज्दै थिए, तब उनलाई अलकनंदा नजिकको यो स्थान निकै मन पर्यो । विष्णु पुराणमा यस क्षेत्रसँग सम्बन्धित अर्को कथा पनि छ, जसअनुसार धर्मका दुई छोरा नर र नारायण थिए, जसले धर्म विस्तारका लागि धेरै वर्षसम्म यस स्थानमा तपस्या गरेका थिए । आफ्नो आश्रम स्थापना गर्नको लागि उपयुक्त ठाउँको खोजीमा उनले वृद्धि बद्री, योग बद्री, ध्यान बद्री र भविष्य बद्री गरी चार ठाउँको भ्रमण गरे । अन्ततः उनले अलकनंदा नदीको पछाडि एउटा तातो र एउटा चिसो पानी भेट्टाए, जसको वरपरको क्षेत्रलाई उनले बद्री विशाल नाम दिए ।यसै ठाउँका बारेमा व्यासजीले महाभारत यसो लेखेका रहेछन् : नर–नारायणले अर्को जन्ममा क्रमशः अर्ज‘न र कृष्णको रूपमा जन्म लिएका थिए । यही ठाउँमा पाण्डवहरूले आफ्ना पुर्खाहरूको पिण्डदान गरेका थिए । यसै कारणले आज पनि बद्रीनाथको ब्रम्हकपाल क्षेत्रमा तीर्थयात्रीहरूले आत्माको शान्तिको लागि आफ्ना पुर्खाहरूलाई पिण्ड दान चढाउँछन् ।

महाभारतमा बद्रीनाथको उल्लेख गर्दै लेखिएको छ : ‘अन्यत्र मृत्युः स्वधर्म ।’ अर्थात् ‘अन्य तीर्थमा विधिपूर्वक स्वधर्मको पालना गर्दा मृत्युबाट मात्र मोक्ष प्राप्त हुन्छ तर बद्री विशालको दर्शनले मात्र मानिसले आफ्नो मोक्ष आफ्नो हातमा प्राप्त गर्छ ।’ ७ औं शताब्दीदेखि ९ औं शताब्दीसम्म अल्वर ऋषिहरूले रचित नालायर दिव्य प्रबन्धग्रन्थमा यस मन्दिरको महिमाको वर्णन गरिएको छ । सेन्ट पेरियाल्वरद्वारा लिखित सात स्तोत्रहरू र तिरुमांगाई अल्वरद्वारा लिखित १३ स्तोत्रहरू यस मन्दिरलाई समर्पित छन् । यो मन्दिर भगवान विष्णुको समर्पित १०८ दिव्यदेशम मध्ये एक हो ।

यहाँका स्थानीयहरूसित मैले कथा पनि सुने । यो लोककथा अनुसार भगवान विष्णुले नीलकण्ठ पर्वतको छेउमा बालकको रुपमा अवतार लिएको अर्को प्रसङ्ग पनि सुन्न पाईदो रहेछ । जस अनुसार भगवान विष्णु आफ्नो ध्यान र विश्रामको लागी एक उपयुक्त स्थान को खोजी गर्दै थिए र यो स्थान अलकनंदा नदी को धेरै नजिक थियो । त्यसबेला यो स्थानमा भगवान शंकर र पार्वतीको वास थियो । यस्तो अवस्थामा विष्णुले एउटा युक्ति सोचे । अनि कथा यसरी सुरु हुन्छ :

एक दिन शिव र पार्वती घुम्न बाहिर गएर फर्केपछि ढोकामा एउटा सानो बच्चा रोइरहेको देखे । पार्वतीलाई माया लाग्यो र बच्चा उठाउन लाग्दा शिवले रोकेर कसरी र कहाँबाट एकाएक यहाँ आयो बुझ्न भने । तर पार्वतीले मानिनन् र बच्चालाई घर भित्र लगे । उनले बच्चालाई त्यहीँ सुताएर नजिकैको तातो कुण्डमा शिवसँग नुहाउन गइन् । दुवै फर्किएपछि घरको ढोका भित्रबाट बन्द भएको पाए । पार्वतीले शिवलाई सोधिन् कि अब के गर्ने ? शिवले यो तिम्रो बच्चा हो म केहि गर्न सक्दिन । केही नयाँ ठाउँ भेट्टाए राम्रो हुन्छ, किनकि अब ढोका खुल्ने छैन र म यो ढोका जबरजस्ती खोल्ने छैन भने । भनिन्छ कि शिव र पार्वती त्यो ठाउँ छोडेर केदारनाथ गए र बच्चा जो भगवान विष्णु थिए त्यहीँ बसे । यसरी भगवान विष्णुले जबरजस्ती बद्रीनाथलाई आफ्नो विश्राम स्थल बनाए ।

भगवान विष्णु ध्यानमा लीन हुँदा धेरै हिउँ पर्न थाल्यो । विष्णु र उनको घर पूर्णतया हिउँमा डुब्न थाले । यो देखेर माता लक्ष्मी विचलित भइन् । त्यसपछि उनी स्वयं भगवान विष्णुको समीप उभिएको बेरी (बद्री) रूखको रूप धारण गरी सबै हिउँ आफैंमा बोक्न थालिन् । लक्ष्मीजी भगवान विष्णुलाई सूर्य, वर्षा र हिउँबाट बचाउनको लागि कठोर तपस्यामा संलग्न भइन् । धेरै वर्ष पछि, जब विष्णुले आफ्नो तपस्या पूरा गरे, उनले लक्ष्मीलाई हिउँले ढाकिएको देखे । अनि उनले भने : ‘हे देवी ! तिमीले पनि म जस्तै तपस्या गरेका छौ, त्यसैले आजदेखि तिम्रो साथमा यो धाममा मेरो पुजा हुनेछ र तिमीले बद्री रुखको रूपमा मेरो रक्षा गरेकोले आजदेखि म बद्रीको नाथ (बद्रीनाथ) भनेर चिनिनेछु । यसरी भगवान विष्णुको नाम बद्रीनाथ भयो ।

बद्रीनाथमा धेरै प्राचीन स्थलहरू रहेछन् । अलकनन्दको किनारमा अवस्थित अद्भूत तातोपानीको मुहान जस्तै जसलाई‘तप्त कुण्ड’ भनिन्छ । ब्रह्म कपलु नामक समतल मञ्च पौराणिक कथामा ‘नाग’ शिलाको उल्लेख छ । शेषनागको कथित छाप भएको ढुङ्गा ‘शेषनेत्र’ हो । भगवान विष्णुको पदचिह्न ‘चरणपादुका’ हो । गढवाल रानी भनेर चिनिने अग्लो हिउँले ढाकिएको शिखर नीलकण्ठ बद्रीनाथबाट देखिन्छ ।

मन्दिरमा बद्रीनाथको दाहिनेपट्टि कुबेरको मूर्ति पनि रहेछ । उद्धवजी उनको अगाडि र उत्सवमूर्ति उनको अगाडि छ । हिउँ जमेको बेला उत्सवमूर्तिलाई हिउँदमा जोशीमठ भन्ने ठाउँमा बोकेर लगिदो रहेछ । उद्धवजीको चरणपादुका छ । देब्रेपट्टि नरनारायणको मूर्ति छ । उनीहरूको नजिकै श्रीदेवी र भूदेवी छन् । 

पुराणका अनुसार भूकम्प, बाढी र खडेरीपछि गंगा लोप हुनेछ र यस गंगाको कथा बद्रीनाथ र केदारनाथ तीर्थस्थलको रोचक कथासँग जोडिएको छ । भविष्यमा बद्रीनाथ नदेखेको हुनाले नर र नारायण हिमाल मिल्ने दिन बद्रीनाथको बाटो पूर्ण रुपमा बन्द हुने जनविश्वास छ । भक्तहरू बद्रीनाथ जान पाउने छैनन् । पुराणका अनुसार वर्तमान बद्रीनाथ धाम र केदारेश्वर धाम आगामी केही वर्षमा लोप हुने र वर्षोपछि भविष्यमा भविष्य बद्री नामको नयाँ तीर्थको जन्म हुनेछ । जोशीमठमा अवस्थित नरसिंह भगवानको मूर्तिको एक हात वर्षेनी पातलो हुँदै गएको जनविश्वास पनि छ । जुन दिन यो हात लोप हुन्छ, ब्राद्री, केदारनाथ जस्ता तीर्थस्थलहरू पनि लोप हुन थाल्नेछन् । 

उत्तर भारतमा अवस्थित छ, यहाँ ‘रावल’ भनिने मुख्य पुजारीहरू दक्षिण भारतको केरला राज्यको नम्बुदिरी सम्प्रदायका ब्राह्मणहरू हुन् । श्री बद्रीनाथ र श्री केदारनाथ मन्दिर अधिनियमू अन्तरगत उत्तराखण्ड सरकारद्वारा मनोनीत १७ सदस्यीय समितिले बद्रीनाथ र केदारनाथ दुवै मन्दिरको व्यवस्थापन गर्दो रहेछ ।

यहाँ नेपाल, नेपाली र नेपालीपन बाक्लो फेला पर्दो रहेछ । हाम्रो भाषामा बोल्दापनि यहाँका आधासरोले बुझ्दा रहेछन् । गण्डकी अञ्चलको नाममा गेष्ट हाउसपनि यहाँ छ । हामीले बिर्सिसकेको यो नाम साईनबोर्डमा पढ्दा पनि अर्को एक आनन्द मिल्दो रहेछ ।

नेपाली धर्मशाला ८७ बर्ष अघि यहाँ बनेको रहेछ । १९९२ सालमा तत्कालीन श्री ३ महारानीको नाममा यहाँ बनेको धर्मशाला ‘बालचन्द्र भवन’ अहिले तीन वटा ब्लकमा छ । विभिन्न कालखण्डमा दानबिरहरूले यो धर्मशालाको अङ्श अङ्श निर्माण र मर्मत गराउने गरेका रहेछन् । हामी चाहिँ गएराति नेपालका पुर्वप्रधानमन्त्रि स्वर्गीय गिरिजाप्रसाद कोईरालाले प्रधानमन्त्री हुदाको समयमा १ लाख २५ हजार भारु खर्च गरेर आफ्ना पिताको नाममा निर्माण गराएका कक्षमा बिश्राम गर्यौ ।



केदारनाथमा बलराम दाईसंग भएको त्यो भेट

श्री केदारनाथ दर्शनका क्रममा बलराम बाजपेयी (बल्लु दाइ) सित भएको भेट यस्तो आत्मीय बन्यो छुट्टिने बेलामा हामीले धेरै बेरसम्म एक अर्काको हात सुम्सुम्याई रहेको थियौँ । बल्लु दाईले नोभेम्वरमा जन्मथलो नुवाकोट आउछु भनेका छन् ।

केदारनाथ मन्दिर परिषरमा पुजाका सामाग्रीको व्यापार गर्ने यिनी विदुर नगरपालिकाको आगापुटारमा जन्मिएका रहेछन् । कक्षा ५ सम्म उहीँ पढेका उनी तीन दाजुभाई र बिहिनि सहित करिव ४० वर्ष अघि (म जन्मेकै थिईन) यता आउदा १२/१३ बर्षका रहेछन् । यिनिका दाजुभाई र बहिनिले आगापुटार र गेर्ख‘टारको स्कुलमा पढेका रहेछन् । उनका पिताजि विद्युत प्राधिकरणमा काम गर्ने क्रममा उता पुगेका रहेछन् । बल्लु दाईको मामाघर थप्रेक रहेछ । यताको गुप्तकाशीमा परिवारको बसोवास रहेछ । केदारनाथमा भएको घर २०१३ को प्रकोपले ध्वस्त भएको रहेछ । सरकारले निर्माण गरिदिने भएकोले उनले केदारनाथमा घर चाहिँ बनाएका रहेनछन् । २०१३ को प्रलयमा केदारनाथमै हज्जारौं मानिस मरे, सय भन्दा कम संख्यामा उसबेलामा यहाँका मानिसहरू जिवित रहेकोमा यिनी बल्लु दाइ र उनका दाजु ध्रुब पनि रहेछन् । ‘हामी दाजुभाइ थियौँ उस रात, हामीलाई सिन्कोले समेत कोतरेन । मेरो आमा र बाको कर्मको फल हो यो’ उनले सुनाए ।

हाम्रो भाषा सबै बुझ्ने बल्लु दाईले नेपाली भाषा बोल्न चाहिँ बिर्सिएछन् । खाना नख्वाई हामीलाई पठाउन मरिगए नमागेका यिनले नुवाकोटमा बितेको बचपन र उसबेलाका साथिभाईको खुप याद गरे । नुवाकोटको जानकारी, हालखबर सञ्चार माध्यमतिर रुचिसित खोजी गर्ने यिनको बानी रहेछ । परिचयको क्रममै मेरो नाम बताए पछि उनले भने कि‘ कपिलदेव खनाल त न्युजतिर आउने नाम जस्तो लाग्यो त, तपाईंको नाम धेरै वार पढेको छु ।’ नुवाकोटमा अधिकाङ्श व्यक्तिहरूको नाम नै लिएर सोधिखोजी गरे । नुवाकोटमा जन्मिएका दुई दाजुभाई केदारनाथमा छन् सोधिखोजी गर्नु होला है भनेर खबर गर्ने ढुङ्गेका रमेश बस्नेतसित बल्लुदाईको भिडिओ कुराकानी गराएँ । ‘मेयर चाहिँ मैले नचिनेको नामका रहेछन्, को हुन् ?’ उनले सोधे । हामीले चिनाउने थुप्रै कोणका परिचय दियौं, उनी चिनिपो हाल्छु कि, सम्झिपो हाल्छु कि भनेर घोत्लिरहे ।

‘बलरामले जन्मस्थनका पाँच जनालाई मन्दिर भ्रमण गराईरहेका छन्’ भन्ने हल्ला भुषको आगो झै भईसकेको रहेछ मन्दिर परिषरमा । हामी फर्कन थाल्दा मन्दिरका पुजारीदेखि होटलवाला, पुजाका सामाग्रीको व्यापार गर्नेहरू धेरैको हामी प्रती आदरभाव थियो । धेरैले हामीलाई सोधे :‘आपलोग बलरामका रिस्तेदार हे ?’

No comments:

Post a Comment