दुप्चेश्वर । साउन २४ गते रातीको अबिरल बर्षासंगैको बाढि पहिरोले क्षति पु-याएको स्थानको संघीय सांसद हितबहादुर तामाङ र बागमती प्रदेशका उपसभामुख राधिका तामाङले निरिक्षण सहित सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएका छन् । बिषयगत कार्यालयका प्रमुख एवं प्रतिनिधि सहित बाढी पहिरोले पु-याएको क्षतिको निरिक्षण गर्न पुगेका तामाङद्धयले समुन्द्रटारदेखी राउतबेशीको झघरेसम्म निरिक्षण गरी सम्बन्धित कार्यालय र गाँउपालिकालाई यथासक्य बास्तविक क्षति संकलन र उचित व्यवस्थापनको लागी निर्देशन दिएका हुन् ।
निरिक्षण तथा क्षती संकलनको लागी सिञ्चाई डिभिजन कार्यालय, कृषि ज्ञान केन्द्र, पुर्वाधार विकास कार्यालय, सडक डिभिजन कार्यालय, पशुसेवा कार्यालय, खानेपानी कार्यालयका कर्मचारीहरू बाढी पहिरो क्षेत्रमा पुगेका थिए । बिषयगत कार्यालयहरूलाई बास्तविक क्षति संकलन गरी जिल्ला विपद व्यवस्थापन समितिमा तत्काल पेश गर्नको लागी निर्देशन दिईएको छ । बास्तविक क्षति संकलन पश्चात प्रदेश र संघमार्फत गर्न सकिने सहयोग र क्षति पुगेको स्थानको विकासको लागी पहल गरिने सांसद हितबहादुर तामाङले बताए । उनले बाढी र पहिरोका कारण आधा दर्जनभन्दा बढि पक्की पुल, सडक, सिञ्चाई, खानेपानीमा क्षति पुगेका कारण संघिय सरकार र प्रदेश सरकार मार्फत निर्माण गर्नको लागी तत्कालै पहल गर्ने बताए ।
उक्त स्थानहरूको निरिक्षण गर्दै बागमती प्रदेशका उपसभामुख राधिका तामाङले विपदको समयमा राजनीतिक पार्टी नभनी सबैलाई समान व्यबहार गर्नको लागी पालिका र वडालाई निर्देशन दिएका छन् । उनले विपदमा तत्कालको लागी सुरक्षित स्थानमा बसेर बाच्ने र बचाउने कार्यगरी बास्तविक क्षती संकलनको लागी निर्देशन दिए । उनले तत्कालको लागी खानेपानीको आवश्यकता रहेकोले सम्बन्धित कार्यालय मार्फत ५ हजार मिटर पाईप समेत उपलब्ध गराएका छन् ।
उपसभामुख तामाङले क्षती संकलन पश्चात उचित क्षतिपुर्ती र विनास भएका पुर्वाधारहरूको निर्माणका लागी कुनै कसुर बाँकी नराख्ने बताएका छन् । बाढी पहिरो अबलोकन गर्दै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रबिक्रमसिंह ठकुरीले बर्षायामको समय अझै बाँकी रहेकाले सचेत भएर सुरक्षित स्थानमा बस्नको लागी आग्रह गरेका छन् । प्रमुख ठकुरीले बिपदको समयमा सरकारको मुख नताकी सामाजिक कार्यमा सक्दो सहयोग गर्न आग्रह गरेका छन् ।
गत साउन २४ गते राती अबिरल बर्षसंगै आएको बाढी र पहिरोले दुप्चेश्वर गाँउपालिकामा सयौ घर लगायत हजारौ रोपनी धानखेतमा क्षति पु-याएको छ । दुप्चेश्वरको वडा नम्बर ३ राउतबेशीको ८५ घरपरिवारको धानखेतमा क्षति पुगेको छ भने १० भन्दा बढि घर जोखिममा परेको वडा अध्यक्ष ध्रुवकर केसीले जानकारी दिए ।
वडा नम्बर २ को गाँउखर्कको बडरे, हुङ, बेप्चो लगायतका स्थानमा गएको पहिरोका कारण १५ रोपनी धानबाली नष्ट भएको छ । ५ घर जोखममा रहेकाले स्थानान्तरणनै गर्न पर्ने वडा अध्यक्ष विरवल तामाङले जानकारी दिएका छन् ।
वडा नम्बर ४ को बेतीनीको धारापानी र कन्दनका ३० घरधुरी उच्च जोखिममा रहेकाले बस्तीनै स्थानान्तरण गर्नुपर्ने अबस्था रहेको वडा अध्यक्ष ज्ञानबहादुर तामाङले बताए । सयौं रोपनी खेतमा लगाईएको धानबाली नष्ट हुनुका साथै खानेपानी, सिञ्चाईका कुलो, नहरमा क्षती पुगेको उनको भनाई रहेको छ ।
वडा नम्बर ५ बालकुमारीमा १२ घरमा क्षति हुनुका साथै धानबाली नष्ट भएको छ । यसैगरी वडा नम्बर ६ समुन्द्रटारमा २९ परिवारको घरखेतमा क्षती पुगेको छ ।
दुप्चेश्वर गाँउपालिकाको वडा नम्बर २, ३, ४, ५ र ५ मा २ सय भन्दा बढी परिवारको धानबाली नष्ट भएको छ भने ५० भन्दा बढी घरहरू उच्च जोखिममा रहेको छ । बाढीले चन्द्रमती खोलाको तटबन्धन पुर्ण रुपमा क्षति भै वस्ती जोखिममा परेको गाँउपालिकाका अध्यक्ष शंकरबहादुर थापाले बताएका छन् । अध्यक्ष थापाका अनुसार सबै वडामा खानेपानी तथा सिञ्चाईमा क्षती पुग्नुका साथै चन्द्रमती खोला मुहानगरी भ्याङ्ले सिम्ले सिञ्चाई कुलो पुर्ण रुपमा क्षती भएको छ ।
No comments:
Post a Comment