विदुर । नुवाकोट र रसुवाका अधिकांश किसानहरू जग्गा बिर्ता समस्याबाट प्रताडित भएका छन् । नुवाकोटको तारकेश्वर–५ का चूडामणी गजुरेलको उत्पादन हुने जग्गा सबै बिर्ता छर । घरपरिवारको जीविकोपार्जन खेतीबाटै चलेको छ । उनी पुस्तौंदेखि पिरोलेको बिर्ता समस्या समाधान नहुँदा दुःखी छन् ।
नुवाकोट र रसुवा राजधानीनजिकै भए पनि बिर्ता समस्याले पिरोलिरहँदा पनि राज्यको ध्यान पुगेको छैन । यी जिल्लामा केन्द्रीय राजनीतिमा प्रभाव पार्न सक्ने नेताहरू धेरै छन् । तर यस्ता किसानहरूको समस्या समाधानमा कसैको पनि ध्यान जान सकेको छैन । सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले २०७१ सालमा गरेको रसुवा र नुवाकोट केन्द्रित अध्ययन अनुसार २ हजार २७६ परिवार बिर्ता समस्यामा छन् । यो संख्या अझ बढी हुन सक्ने अनुमान छ । काठमाडौं उपत्यकामा आक्रमण गर्दा हारेपछि गायत्री पुरश्चरण महायज्ञ गर्न बनारस गएका पृथ्वीनारायण शाहलाई एक बाबाले रामचन्द्र र कालिकाको मन्दिर बनाए शक्ति बढ्ने सल्लाहपछी, बनारसबाट फर्किएलगत्तै बेत्रावतीमा रामचन्द्रको र धैबुङको कालिकास्थानमा कालिकाको मन्दिर बनाउन लगाएको भनाई छ ।
बिर्ता समस्याका कारण अहिले नुवाकोट, रसुवा लगायतका किसानहरू उपयोग गर्दै आएको
जग्गाको समुचित प्रयोगगर्नबाट बञ्चित रहेका छन् । जग्गा धितो राखी छोरीछोरी पढाउन, व्यापार–व्यवसाय गर्न वा खरखाँचो टार्नका लागि किसानले लालपुर्जाको आवश्यकता महसुस गरेपछि जग्गा बिर्ता भएको थाहा भएको थियो ।
रसुवा र नुवाकोटमा एकै पटक किसानहरूले बिद्रोह सुरु गरेका थिए । किसान विद्रोहको सुरुआत २०४५ सालबाटै छिटफुट रूपमा भए पनि २०५२ सालमा बिर्ता जग्गा सङ्घर्ष समिति बनेपछि, यो आन्दोलन औपचारिक भएको थियो । भूमि अधिकार मञ्च रसुवाका अध्यक्ष हेमनाथ खतिवडाका अनुसार ‘पैसा र शक्तिको आडमा कतिपय स्थानीय नेताले बिर्तावालाहरूलाई प्रलोभनमा पारी जग्गा आफ्नै नाममा ल्याएका छन् ।
तर विकराल समस्याको रुपमा रहेको यी दुवै जिल्लामा यस विषयमा दीर्घकालिन रुपमा ठोस काम हुन नसकेको खतिवडाले बताएका छन् ।
No comments:
Post a Comment