Monday, September 12, 2022

२०७९ साल भदौ २७ गतेको सम्पादकीय

 डेंगु प्रति उच्च सतर्कता जरुरी

एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु पनि हो । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका सुरुवाती लक्षणहरू हुन् । एक प्रकारको विषाणुबाट डेङ्गु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेंगु घातक हुन्छ । अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) को तथ्यपत्रअनुसार डेंगुले गर्दा शरीरको रगत जम्न (क्लटिङ) प्रक्रिया अव्यवस्थित हुन्छ  । यसको घातक रुप हुँदा सम्पूर्ण शरीरमा रक्तस्राव हुन थाल्छ । डेंगु ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । डेंगु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । फलस्वरुप मानिसहरू सिकिस्त हुने गर्छन् । डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो । यो एडिस लामखुट्टेले मानिसलाई बिहान, बेलुका तथा दिउँसोको समयमा टोक्ने गरेको चिकित्सकहरू बताउँछन् ।

यो रोग मानिसबाट मानिसमा सर्दैन तर डेंगुको संक्रमण भएको व्यक्तिलाई टोकेको लामखुट्टेले स्वास्थ व्यक्तिलाई टोक्दा भने यो रोग सर्छ । डेंगु सार्ने लामखुट्टेले सफा पानी जमेको ठाउँमा फुल पार्ने गर्छ । वर्षातपछि पानी जम्ने स्थानहरूमा एडिस इजिप्टाई जातको लामखुट्टेको संख्या बढी हुने हुँदा वर्षातपछि डेंगुको संक्रमण पनि बढेको पाइन्छ । पानी जम्ने टिनका डब्बाहरू, रङ्गका खाली डब्बा, थोत्रा तथा पुराना टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, कुलर, पानीका ट्यांकी आदिमा यो जातको लामखुट्टेले फुल पार्ने र नयाँ लामखुट्टेको संख्या बढाउँने काम गर्छ । 

एक्कासी उच्च ज्वरो आउनु, लगातार ५ देखि ७ दिनसम्म ज्वरो आउनु, असाध्यै टाउको दुख्नु, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु, ढाड जोर्नी तथा मांसपेशीहरू दुख्नु, शरीरमा बिमिरा आउनु यसको लक्षणहरू हुन् । खास गरी, डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाईबाट बच्नुपर्छ । पानी जम्न सक्ने भाँडाहरू जस्तैः गमला, फुलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीको काम नलाग्ने टायर आदिमा  पानी जम्न नदिने उपाय गर्न‘पर्छ । पानीका ट्याङ्कीमा लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ । कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक–दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने गर्नुपर्छ । फुलदानीमा रहेको पानी कम्तीमा हप्तामा दुई पटक फेर्न‘पर्छ । एडिस एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा पनि प्रायः पूरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउनु पर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्न‘ पर्छ साथै साना केटा केटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्छ । लामखुट्टेको टोकाईबाट बच्न लामखुट्टे भगाउने मल्हम पनि दल्न सकिन्छ । घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ । घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने गर्न‘पर्छ ।

यसको इतिहास हेर्ने हो भने सन् २००४ मा पहिलोपटक डेंगु संक्रमण नेपालको चितवनमा देखापरेको थियो । त्यसपछि बर्सेनी यो रोगका बिरामी बढ्दै जाँदा हाल यो महामारीका रूपमा देखापरिसकेको छ । विज्ञको दाबीअनुसार डेंगुको संक्रमण दर नेपालमा अझै बढ्दै गइरहेको छ । अझैं दुई महिना यसको जबर्जस्ती प्रभाव रहने अनुमान चिकित्सकले गरेका छन् । जसका कारण सबैमा चिन्ता बढाएको छ । त्यसैले लामखुट्टेको टोकाइबाट बच्न पानी जम्न सक्ने भाँडा गमला, फुलदान, खालीबट्टा, अलकत्रा वा मट्टीतेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायरलगायतमा पानी जम्न नदिएर सतर्कता अपनाउनुपर्छ । सबैले सर्तकता अपनाऔं र डेंगुबाट बचौं ।

विश्व स्वास्थ्य संगठनको (डब्लुएचओ) अनुसार, यो दशकमा विश्वभरि नै डेंगुको विस्तारमा नाटकीय रूपमा वृद्धि भएको छ । हालैको आंकलनअनुसार विश्वव्यापी रुपमा वर्षेनी ३९ करोड मानिसमा डेंगुको संक्रमण हुने गरेको छ । विश्वभरिका १ सय २८ मुलुकका ३ अर्ब ९० करोड व्यक्ति डेंगु भाइरसको संक्रमणको जोखिममा रहेको अर्को अध्ययनमा उल्लेख छ । डब्लुएचओका अनुसार गएका ५० वर्षमा यो रोगको संक्रमण ३० गुणा बढेको पाइएको छ । प्रत्येक वर्ष झन्डै २० हजारभन्दा बढी व्यक्तिको डेंगुकै संक्रमणबाट ज्यान गुमाउँछन् । विश्वको आधाभन्दा बढी जनसंख्या यो रोगको जोखिममा छन् । विश्वस्वास्थ्य संगठनले डेंगुलाई खतरनाक रोग मानेको छ । यसको कुनै उपचार नभएकाले पनि विशेष सतर्क अपनाउन आग्रह गरेको छ ।

No comments:

Post a Comment