Monday, September 12, 2022

काँग्रेस प्रवक्ता महतको अडान नुवाकोटमै

विदुर । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत नुवाकोटको क्षेत्र नं. १ र काठमाडौं निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस भएका छन् । तर उनी आफैं भने काठमाडौंबाट नभई नुवाकोटबाटै चुनाव लड्ने अडानमा छन् । गठबन्धन गर्दा सहजै जित्ने देखेर महत कुनै हालतमा नुवाकोट १ नछाड्ने अडानमा छन् । प्रदेश सभाका दुबै क्षेत्र वा नुवाकोट २ माओवादीलाई दिन सकिने महतको तर्क रहेको छ ।

२०७४ को चुनावमा महत काठमाडौं ५ बाट उम्मेदवार बनेका थिए । तर वाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका ईश्वर पोखरेल झण्डै १० हजार मतअन्तरले विजयी भए । पोखरेलले २३ हजार २९ मत ल्याउँदा महतले १३ हजार १६९ मत पाएका थिए । यो निर्वाचन क्षेत्रमा ३० वैशाखको स्थानीय निर्वाचनमा वडा तहमा पाएको मतका आधारमा अहिले पनि एमाले पहिलो छ । उसको १९ हजार २२९ मत छ भने काँग्रेसको १४ हजार ५३२ मत छ । २७३९ मतका साथ राप्रपा तेश्रो, १ हजार ५५३ मतका साथ एकीकृत समाजवादी चौथो र १ हजार १३९ मतका साथ माओवादी केन्द्र पाँचौं स्थानमा छ । गठबन्धन गर्दा पनि एमाले अगाडि भएका कारण डा. महतले काठमाडौं ५ मा उठ्ने रुची देखाएका छैनन् । त्यही कारण सत्ता गठबन्धनको सिट बाँडफाँटमा पनि काँग्रेसले यो क्षेत्रमा अडान लिएको छैन ।

महत निकट एक नेता भन्छन्, ‘नुवाकोट १ बाट उठ्ने उहाँको तयारी छ, काठमाडौं ५ मा उठ्नुहुन्न ।’ महतको नाम गृहक्षेत्र नुवाकोट १ बाट पनि सिफारिस भएको छ । नुवाकोट १ बाट २०७४ मा माओवादी केन्द्रका हितबहादुर तामाङ निर्वाचित भएका थिए । स्थानीय चुनाव २०७९ को मतका आधारमा भने यो क्षेत्रमा माओवादीभन्दा काँग्रेसको मत धेरै छ । वडा तहमा काँग्रेसले २८ हजार ९६२ र माओवादी केन्द्रका उम्मेदवारले २३ हजार २०० मत पाएका छन् । त्यस्तै तेस्रो स्थानमा रहेको एमालेको १८ हजार २६७ मत छ ।

गठबन्धन गर्दा सहजै जित्ने देखेर महत कुनै हालतमा नुवाकोट १ नछाड्ने अडानमा छन् । बरु प्रदेश सभाका दुबै क्षेत्र वा नुवाकोट २ माओवादीलाई दिन सकिने महतको तर्क छ । ‘अघिल्लोपटक माओवादीले एक्लैले जितेको होइन, एमालेको पनि मत मिसिएको थियो’ महत निकट एक नेता भन्छन्, ‘माओवादी फेरि जित्न काँग्रेसको मत चाहिन्छ । काँग्रेसकै मतले जित्ने भएपछि 

नुवाकोट २ मा उठेपनि हुन्छ ।’ नुवाकोट २ मा प्रत्यक्षतर्फ आकांक्षी रहेका नेता अर्ज‘ननरसिंह केसीलाई समानुपातिक निर्वाचन पद्धतितर्फ सिफारिस गरिएको छ । यद्यपि उनले यसमा असहमति जनाएका छन् । नुवाकोट २ मा बहादुरसिंह लामा पनि आकांक्षी छन् । तर संस्थापन समूहका भएकाले उनलाई मनाउन सकिने महत पक्षको तर्क रहेको छ । 

काठमाडौं ५ मा भने काँग्रेसले उम्मेदवार भेट्टाएको छैन । यद्यपि पाँच जनाको विषयमा छलफल भइरहेको छ । क्षेत्रीय समितिले सुधा त्रिपाठी, श्याम खड्का, दामोदर खड्का, प्रेमबहादुर खड्का र रमेश खड्काको नाम वैकल्पिकमा राखेर सिफारिस गरेको छ । त्यसमध्ये क्षेत्रीय सभापति श्याम खड्काको सम्भावना बढी छ । ‘प्रकाशशरण दाजु यहाँ उम्मेदवार नहुने भए काँग्रेसबाट क्षेत्रीय सभापति श्याम खड्का उठ्नुहुन्छ’ क्षेत्रीय सचिव रजनी थापाले भनिन् ।

काँग्रेसको क्षेत्रीय समितिले गठबन्धनका अन्य दललाई काठमाडौं ५ छोड्न नसकिने बताएको छ । । गठबन्धनका अरु दलको मत न्यून रहेकाले काँग्रेसले अन्य दलको उम्मेदवारलाई स्विकार्न नसकिने क्षेत्रीय सभापति श्याम खड्काले बताए । ‘अरुको मत खासै छैन । एमालेपछि काँग्रेसको हो । त्यसैले अरुको उम्मेदवार स्वीकार्न सकिँदैन’ खड्काले भने ।

No comments:

Post a Comment