Monday, September 05, 2022

बाढीपहिरोबाट नुवाकोटमा ४० करोडको क्षती

साउन अन्तिम साता दुप्चेश्वरमा बाढीले पु-याएको क्षतीको अवलोकन गर्दै । फाइल तस्बिर 

विदुर । प्राकृतिक प्रकोेपका कारण नुवाकोटको नौं स्थानीय तहमा झन्डै ४० करोडको क्षती पुगेको छ । 

नुवाकोटको तादी, विदुर, शिवपुरी, दुप्चेश्वर, लिखु, शिवपुरी, तारकेश्वर, पञ्चकन्या, किस्पाङ र सूर्यगढी गाउँपालिकामा बाढीपहिरोले साउनमा ठूलो क्षती पु-याएको छ । ति पालिकाहरूमा नागरिकका घरजग्गा, पशुचौपाया, निजी तथा सार्वजनिक संरचनामा क्षती पु-याएको छ । 

दुप्चेश्वरको वडा नम्बर १ देखि ६ सम्म ३ सय ४ धुरी जोखिममा परेका छन् । विदुरमा ३८, तादीमा २४, किस्पाङमा १३, शिवपुरीमा ८ सूर्यगढीमा ६ र तारकेश्वरमा २ घरधुरी उच्च जोखिममा परेको प्रतिवेदन तयार भएको नुवाकोटको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिएका छन् । उनका अनुसार बढी क्षती दुप्चेश्वर गाउँपाकिलामामा पुगेको छ । त्यहाँ १ हजार ४७८ रोपनीमा लगाएको करिब १ करोड मूल्य बराबरको धानबाली नष्ट भएको छ । ४५ वटा सिँचाइ कुलो र ३२ वटा खानेपानी योजनामा क्षती पुगेको छर ।

दुप्चेश्वरको समुद्रटारदेखि सानो गोल्फु भन्ज्याङ सम्मका विभिन्न स्थानमा करिब ४ किलोमिटर सडकमा क्षती पुगेको छ । दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाले हाल पनि समय समयमा पहिरो खस्ने क्रम नरोकिएकाले धेरै नागरिकलाई सुरक्षित स्थानमा राख्नुपर्ने आवश्यकता रहेको बताए । 

विदुर नगरपालिकाको वडा नं. ५, ७, १० र ११ मा १ सय १५ रोपनीमा लगाइएको धानबालीमा क्षती पुगेको छ भने ५ वडा पसल नष्ट भएका छन् । सडक, खानेपानी र सिँचाइ कुलो गरी २४ ठाउँमा क्षती पुगेको छ । लिखुको १ देखि ६ वडामा ४४ सिँचाइ कुलो योजना नष्ट भएका छन् । 

किस्पाङ गाउँपालिकाको नेलगाउँ, पैरेबेंसी र पुरानोगाउँ र सातदोबाटे बढी जोखिममा छन् । बाढीपहिरोले सूर्यगढीको १ देखि ५ वडासम्म सडक, खानेपानी र सिँचाइ कुलो गरी २४ वटा योजनामा क्षती पुगेको छ । तादीको वडा २ देखि ४ सम्म सिँचाइ कुलो, ४ वटा कृषि फार्म र ५ सय रोपनी खेतमा लगाइएको धानबाली नष्ट भएको छ ।

तादीखोलामा निर्माण भएका ४ वटा पुलमा पनि बाढीले क्षती पु-याएको छ । पञ्चकन्या–२ र तादी–६ जोड्ने पुल, तादी–४ र पञ्चकन्या–४ जोड्ने सातबिसेको पुल र भ्याङ्लेको पुलमा क्षती पुगेको हो । दुप्चेश्वर गाउँपालिकामा मात्रै सडक, खानेपानी, सिँचाइ कुलो र संरक्षणमा गरी १० करोड रुपैयाँभन्दा बढी रकमको क्षती देखिएको छ । विदुरको ५, ७, १० र ११ वडामा गरी ८ करोड बराबरको क्षती भएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, पञ्चकन्यामा पनि १ वडादेखि ५ सम्ममा ६० रोपनीमा लगाइएको धानबाली नष्ट भएको छ । शिवपुरीको ५, ६ र ८ वडाका सडक, खानेपानी र सिँचाइ कुलो गरी १४ वटा ठाउँमा क्षती पुगेको प्रतिवेदनमा उल्लेख छ ।

पुल मर्मत र भत्किएका सडकमात्रै बनाउन ११ करोड रुपैयाँ लाग्ने सरोकारवाला निकायले हिसाव निकालेको छ । दुप्चेश्वरका विभिन्न वडाका गरी २९ घरधुरीलाई जिल्ला विपद् व्यवस्थापन समितिले टेन्ट र ४० धुरीलाई त्रिपाल र रेडक्रसले खाना पकाउनेलगायतका हाइजेनिक किट प्रदान गरेको प्रजिअ रिसालले बताए । 

No comments:

Post a Comment