निर्भीक पत्रकारितामा प्रतिबद्ध छौं
आजबाट हामी १५ वर्ष पूरा गरी १६ औं वर्षमा प्रवेश गरेका छौं । इमेज साप्ताहिकको यस वार्षिकोत्सवका अवसरमा सम्पूर्ण पाठक, शुभेच्छुक र सहयोगीहरूमा हृदयदेखि नै शुभेच्छा प्रकट गर्न चाहन्छौं । दोश्रो जनआन्दोलन २०६२÷६३ पछिको परिवर्तन भएको राजनैतिक र सामाजिक परिवेशसँगै नुवाकोटमा व्यावसायिक पत्रकारिताको दिगो जग बसाल्ने प्रयत्नस्वरूप इमेजको आरम्भ भएको थियो । यो यात्राले अहिले डेढ दशक पूरा गरेको छ । यसबीचमा अनेक संकट, समस्या र सफलतासँग साक्षात्कार गर्दै हामी यहाँसम्म आइपुगेका हौं । चुनौतीलाई कुशलतापूर्वक छिचोल्दै अगाडि बढ्नु नै हाम्रो नियतिजस्तो बनेको छ ।
निर्भीक पत्रकारितामा कुनै सम्झौता नगर्ने ऊर्जा पनि सायद यसैले दिएको हो । जस्तोसुकै प्रतिकूलता भोग्नुपरे पनि निष्पक्ष पत्रकारितालाई अगाडि बढाउने हाम्रो निष्ठामा कहिल्यै कमी आउने छैन । यसबीचमा हामीले पत्रिकालाई थप परिस्कृत र परिमार्जन गर्ने क्रम जारी राखेका छौं । मुद्रण र अन्य प्राविधिक संयन्त्रलाई पनि थप चुस्त बनाउने काम भएको छ । यस साप्ताहिकलाई अनलाईन संस्करणमा समेत जोडेर पाठकको थप हातहातमा पु¥याउने प्रयास भएका छन् । पाठकहरूका हाते स्क्रिन र कम्प्युटरमा हरेक क्षण भरपर्दा समाचार सामग्रीहरू यथेष्ट रूपमा पु¥याइरहेका छौं । यसलाई अझ क्षेत्रगत ढंगले विस्तार गर्दै लैजाने हाम्रो योजना छ । हामी सदैव लोकतन्त्र, कानुनी राज र संवैधानिक मूल्यमान्यताका पक्षमा उभिँदै आएका छौं ।
भर्खरै स्थानीय तहको निर्वाचन सकिएर नयाँ जनप्रतिनिधि आएका छन् । स्थानीय तह संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको महत्वपूर्ण आधारस्तम्भ हो । जनप्रतिनिधिले संघीय शासन व्यवस्थालाई सफल बनाउन नैतिकता, इमानदारिता र पारदर्शीताका साथ काम गर्न‘पर्छ भन्नेमा हामी दृढ छांै । स्थानीय सरकार सञ्चालन गर्ने सबै शासकको एउटै उद्देश्य जनसेवा हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । सूचनाको हकको संरक्षण र प्रेस स्वतन्त्रतालाई सबैले अंगीकार गर्नुपर्छ भन्ने हाम्रो ठहर छ । जस्तासुकै कठिन परिस्थितिमा पनि हामी हाम्रा सामग्रीलाई विश्वसनीय, विश्लेषणात्मक, तथ्यपरक बनाउन संवेदनशील भएर अघि बढिरहने प्रतिबद्धता व्यक्त गर्दछौं ।
यो १५ वर्षमा हामीले बुझेको एउटै सत्य भनेको नागरिकहरलाई सही सूचना सही समयमा दिनु नै हो । यहाँ अनेक नाम र वहानामा पाठकलाई भ्रमित पोर्न प्रयास हुने गरेका छन् । यस बीचबाट हामीले तपाईलाई ठिक सूचना ठिक समयमा दिनु नै छ । त्यो हाम्रा लागि चुनौतीका रुपमा पनि छ । त्यसो त, हामी चुनौती चिन्न, बुझ्न र चुनौतीको सामना गर्न सक्ने भइसकेका छौं ।
नुवाकोटका हरेक परिवर्तनको इतिहास र संघर्षसँग हामी पनि सँगै छौँ, त्यसैले हामीले चिनेको र निर्माण गरेको चुनौती पनि नेपाली समाजले बोल्ने भाषा र भोगिरहेको आशा, निराशा र सकसकै लयमा बोल्छ । सरकार, बजार र अरु थरीथरीका सत्ताले निर्माण गर्ने रंगिविरंगी सूचना र विचारको बाढी पनि उर्लिरहेकै हुन्छ । यो बाढीको बीचमा समाज र आधारभूत जनताको जीवनमा चलिरहेको वास्तविक संघर्ष र परिवर्तनको कुरा छोपिएको हामी बुझ्न सक्छौं । नेताहरूका भाषण, उद्घाटन र उनीहरूका भजनलाई अझै पनि आम सञ्चारका माध्यमहरूले उच्च भन्दा पनि उच्च प्राथमिकता दिएकै देखिन्छ । जसले आम नागरिकहरूको दैनिक र सोचमा केही पनि प्रभाव पार्दैन, सहयोग गर्दैन । भएकै कुरा लेख्न अझै पनि कल काप्ने गरेको हामीले देखेका छौं, यही देखेका कारण हामी निर्भिक भएर कलमलाई थप बलियो र दह्रोसंग समातिरहेका छौं । हुनै पर्ने के भएन र हुन नहुने के के भए त्यो सबै हामीले उदांगो पार्दै आएका छौं । र यो १६ औं वर्ष प्रवेशको अवसरमा पनि यस्तै गरी निर्भीक पत्रकारिताको प्रतिबद्धता जाहेर गर्दछौं ।
अन्त्यमा, फेरि पनि हाम्रा तपाई सम्पूर्ण सहकर्मी, पाठकवृन्द, विक्रेता, वितरक, विज्ञापनदातालगायत सबै सहयोगी एवम् शुभेच्छुक महानुभावहरूलाई १६ औं वार्षिकोत्सवको उपलक्ष्यमा र नेपालीहरूको मुख्य चाड बडा दशैंको सुखद् अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
No comments:
Post a Comment