Monday, September 26, 2022

निर्वाचित जनप्रतिनिधि कारबाहीमा


विदुर । तोकिएका समयमा निर्वाचन खर्च विवरण नबुझाउने नुवाकोटका एक हजार ८६१ जना उम्मेदवार कारवाहीमा परेका छन् । 

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवार भएर समयभित्र खर्च विवरण नबुझाउने उम्मेदवारलाई आयोगले जारिवाना गर्ने निर्णय गरेको हो । तोकिएका समयमा निर्वाचन खर्च विवरण बुझाउने उम्मेदवार नुवाकोटमा ३१२ जना मात्र रहेको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिएका छन् । 

उनका अनुसार स्थानीय तह निर्वाचन अन्तरगत पालिका तह, पालिकाको कार्यपालिका सदस्य र जिल्ला समन्वय समितिसमेत गरेर तीन चरणको निर्वाचनमा दुई हजार १७३ जनाले उम्मेदवारी दिएका थिए । त्यसमध्ये तोकिएका समयमा खर्च विवरण बुझाउनेको संख्या ३१२ मात्रै छ । 

ढिलो गरेर बुझाउने ९४ जना र ढिलो भएको स्पष्टीकरण सहित बुझाउने २१३ जनालाई समेत निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ को उपदफा (१) बमोजिम जरिवाना हुने भएको छ ।  

आयोगको उक्त निर्णयले नुवाकोटमा निर्वाचित भएका पालिका तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षसमेत कारवाहीमा परेका छन् । कार्यपालिका र जिल्ला समन्वय समितिका उम्मेदवारको हकमा आयोगले स्पष्ट नपारेकाले के गर्ने भन्ने थप निर्णयको पर्खाइमा रहेको जिल्ला निर्वाचन अधिकारी गौतमले बताए । उनका अनुसार स्थानीय तह निर्वाचन अन्तर्गत पालिका, कार्यपालिका र जिल्ला समन्वय समितिसमेत गरेर तीन चरणको निर्वाचनमा उम्मेदवार भएका दुई हजार एक सय ७३ जनामध्ये विभिन्न पदमा पाँच सय ७४ जना उम्मेदवार निर्वाचित भएका छन् । 

समयभित्र खर्च विवरण बुझाउने ३१२ जनामा पराजित उम्मेदवारको संख्या आधाभन्दा बढी छ । 

तोकिएको समयभित्र निर्वाचन खर्च विवरण नबुझाउने नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई चार लाख ५० हजार तथा वडाध्यक्ष र वडा सदस्य पदका उम्मेदवारलाई  दुई लाख जरिवाना तिर्नुपर्ने भनिएको छ ।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारलाई तीन लाख ५० हजार तथा वडाध्यक्ष र वडा सदस्य पदका उम्मेदवारलाई एक लाख ५० हजार जरिवाना लाग्ने भनिएको छ ।

तोकिएको उक्त जरिवाना शुल्क छ महिनाभित्र नबुझाएमा नामावली प्रकाशित गर्ने, छ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउनेदेखि आयोगबाट गराउने आगामी सबै निर्वाचनमा भाग लिन अयोग्य ठहर गर्ने, उनीहरूको नामावली सेवा प्रवाह गर्ने सरकारी कार्यालयमा टाँस गरिने र तोकिएको जरिवानालाई सरकारी बाँकीसरह असुल गरिने भनिएको छ ।

नुवाकोटमा २३ सय मतदाता थपिए

विदुर । बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा भन्दा आसन्न संघ र प्रदेश निर्वाचनमा नुवाकोटबाट झण्डै २३ जना बढी मतदाता आफ्नो अधिकार प्रयोगका लागि सहभागी हुने  छन् । स्थानीय तह भन्दा अहिले २ हजार २९२ मतदाता थपिएका छन् । 

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका लागि नुवाकोटमा दुई लाख ३७ हजार ४३४ मतदाता कायम भएका थिए । त्यस बीचमा सञ्चालन भएको मतदाता नामावली संकलन कार्यक्रममा सहभागी भई चार हजार ५३७ जनाले फोटो खिचाएका थिए । आउँदो चुनावसम्म १८ वर्ष पुरा नहुने, मृत्यु भएकाहरूको विवरणलाई घटाउदा अघिल्लो चुनावमा भन्दा अबको चुनावमा झण्डै २३ मतदाता बढी हुने भएका हुन् । 

मङ्सिर ४ गते हुने निर्वाचनमा नुवाकोटका दुई लाख ३९ हजार ७२६ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने भएका छन् । मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पूरा भएका पुरुष मतदाताको संख्या एक लाख २३ हजार ९४१ तथा महिलाको संख्या एक लाख १५ हजार ७८२ र तेश्रो लिङ्गी मतदाता ३ जना छन् । 

जिल्ला मतदानस्थल १३२ र मतदान केन्द्र २८८ कायम भएको छ । नुवाकोटमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ तथा प्रदेशसभा निर्वाचन क्षेत्र ४ छ । क्षेत्र नं. १ मा १ लाख २० हजार ७५२ र क्षेत्र नं २ मा १ लाख १८ हजार ९७४ मतदाता छन् । १ को प्रदेशसभा (क)  मा ५९ हजार ४५९ र (ख) मा ६१ हजार २९३ र क्षेत्र नं. २ को प्रदेशसभा (क) मा ५९ हजार ४५३ र (ख) मा ५९ हजार ५२१ मतदाता छन् ।

No comments:

Post a Comment