खरानीटार । तादी गाँउपालिकाको पर्यटकीय क्षेत्र बाघमारालाई कृषि क्षेत्रको रुपमा विकास गर्ने गरी गाउँपालिकाको सहयोगमा तादी वडा नं. ४ ले काम अघि बढाएको छ । त्यस क्षेत्रलाईे फापर र आलुको पकेट क्षेत्र बनाउन थालेको हो ।
पकेट क्षेत्रका लागि अहिले त्यहाँ रहेको दुई हजार पाँच सय रोपनीभन्दा बढी जग्गामा फापर लगाउनका लागि तयार गरिएको तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङले बताएका छन् । नुवाकोटमा रहेका पर्यटकीय क्षेत्रमध्ये उच्च भूगोलबाट (समुन्द्री सतहदेखि दुई हजार मिटर) जिल्लाको धेरै स्थानको अवलोकन गर्न सकिन्छ । बाघमारालाई धार्मिक र पर्यटकीय क्षेत्रका रुपमा संरक्षण, प्रवद्र्धन, प्रचारप्रसारसहित आर्थिक उपार्जनका लागि फापर र आलु लगाएर ‘कृषि–पर्यटन’को विकास गर्ने योजना तय भएको हो ।
लामो समयदेखि बाँझो रहेका किसानका जग्गामा अहिले स्काभेटर र डोजर लगाएर खन्ने र सम्याउने काम भइरहेको छ । सूर्योदय, सूर्यास्त, गर्मीमा शीतल र जाडोमा घाम ताप्न बाघमारा पुग्ने पर्यटकलाई अवलोकन गराउने र उनीहरूलाई फापरको डिढो र आलुको तरकारी परिकार पस्कन पकेट क्षेत्र बनाउन सुरु गरिएको वडा नं. ४ का अध्यक्ष अश्विनकुमार पाण्डेले बताए ।
अहिले स्थानीय तीनसय घरधुरी किसानको दुई हजार पाँचसय रोपनी जग्गामा फापर छर्न बाँझो जग्गा खनजोत गरेर तयारीका क्रममा छ । वर्षौंदेखि बाँझो रहेको जग्गालाई पकेट क्षेत्र बनाउने तयारीले कृषि उत्पादन र पर्यटन वृद्धि हुने आशामा स्थानीय किसान उत्साहित छन् ।
गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराईले किसानको जग्गा सम्याउने, मनाङ र मुस्ताङमा फलेको फापरको बीउ ल्याउने, सिँचाइ सुविधा उपलब्ध गराउने लगायतमा गाउँपालिकाको अनुदान रहेको जानकारी दिएका छन् ।
दसैँ लगत्तै पछि फापर रोप्ने र आलु लगाउने योजनामा रहेको उनले बताए । पर्याप्त सिँचाइ अभावले बाँझो रहेको भञ्ज्याङमा कृषिमार्फत आर्थिक लाभ र पर्यटकीय आकर्षण बढाउने योजना रहेको अधिकृत भट्टराईले बताएका छन् । फापर र आलुको साथमा गराका डिलमा हावापानी सुहाउँदो तरकारी र फलफूल लगाउने समेत योजना किसानको छ ।
धार्मिक एवं पर्यटकीय महत्वका रुपमा रहेको बाघमारा भञ्ज्याङमा अहिले ‘पिकनिक’ र ‘नाइटस्टे’ का लागि पुग्ने पर्यटकलाई अब तीर्थ यात्रासँग जोड्ने लक्ष्य छ । काठमाडौँको सुन्दरीजलबाट नुवाकोटको दुप्चेश्वर, यही बाघमाराको मध्यभाग भएर सागरकुण्ड, राहुचुली, सूर्यकुण्ड हुँदै रसुवाको गोसाइँकुण्ड पुग्न सकिन्छ । विसं २०६८ मा निर्माण सम्पन्न भएको सुन्दरीजल–गोसाइँकुण्ड पदमार्ग हाल जीर्ण अबस्थामा रहेको छ । उक्त पदमार्गलाई अब बाघमाराबाट सुरु गरेर सागरकुण्ड, राहुचुली, सूर्यकुण्ड, गोसाइँकुण्डसम्मको पदयात्रा गराउने योजना वडाको रहेको छ ।
गाउँपालिकाले बाघमारा क्षेत्रमा रहेका सरकारी जग्गामा व्यवस्थित वनभोज क्षेत्र, उद्यान, गुम्बा, पोखरीलगायत धार्मिक र पर्यटकीय संरचना निर्माण गर्ने लक्ष्य लिएको छ । स्थानीयवासीले घरबास (होमस्टे), शेर्पा र तामाङ समुदायको संस्कृति र संस्कार, वेषभूषा र भाषालाई प्रर्वद्धन गर्न साथ दिने प्रतिबद्धता जनाएका छन् ।
No comments:
Post a Comment