Monday, September 05, 2022

दसैंको सामान नेपाल छिर्न पाएन

रसुवा । बाढी, पहिरो र कोभिडको बहाना बनाउँदै चिनियाँ पक्षले रसुवागढी नाका खोल्ने र बन्द गर्दा नेपाली व्यवसायीले पैसा तिरेर ल्याएको अर्बौँको सामान अलपत्र परेको छ । चीनको तानाशाही र हेपाहा नीतिले गर्दा विगतदेखि नै चीनप्रति सकारात्मक रहँदै आएका नेपाली अहिले चीनप्रति नकारात्मक बन्न थालेका छन् । नेपालको चीनतर्फको दुई नाका रसुवागढी र तातोपानी सञ्चालनमा चिनियाँ पक्षले जालझेल गर्दा नेपालीको चीनलाई हेर्ने सोचाइमा परिवर्तन आएको छ । अझ नुवाकोट र रसुवावासीको त चीनप्रति नकारात्मक भावना पैदा हुँदै गएको छ ।

चीनले भूकम्पपछि नुवाकोट दरबारलगायत पुरातात्विक महत्वका भवन पुनर्निर्माण गर्ने भनेर ओगटेर राखिरहेको छ । उक्त दरबार भारत सरकारले बनाइदिने भनेको थियो । चीनको कारणले हालसम्म नुवाकोट दरबार फलामको टेको दिएर त्रिपालले छोपेर राखिएको छ । 

त्यसैगरी, नुवाकोट–काठमाडौं जोड्ने छहरे–टोखा सुरुङमार्ग पनि अनुदानमा सर्भे गरी निर्माण गर्ने भनेर ओगटेर राखेको तीन वर्ष बितिसकेको छ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी योजनाको स्याफ्रुबेँसी–रसुवागढी खण्ड निर्माण गर्ने सम्झौता गरेर ६ वर्षदेखि काम अगाडि बढाएको छैन । उक्त सडकखण्ड चीनकै कारणले अरू देशले सहयोग गर्न पाएको छैन । 

भूकम्प र कोरोनाको बहाना बनाएर चीनले सिन्धुपाल्चोकको तातोपानी र रसुवागढी नाका विगत सात वर्षदेखि सहज रूपले सञ्चालन हुन दिएको छैन । यो नाका सञ्चालनमा चीनले अवरोध गर्दा नेपाली व्यवसायीले लगानी गरी आयात गरिएको अर्बौँ रुपैयाँको सामान बाटोमै अलपत्र भइरहेको छ । बाटोमै सामान अलपत्र भएको कारण साना र मझौला धेरै व्यवसायी पेसाबाट पलायन भएका छन् भने सयौँ व्यवसायी टाट पल्टेका छन् । 

रसुवा र तातोपानी नाकाबाट आउने सामान भारतको कोलकाता बन्दरगाह हुँदै नेपाल भित्र्याउँदा व्यापार लागत प्रतिकन्टेनर एक हजार अमेरिकी डलरसम्म बढी पर्ने गरेको छ । रसुवागढी बाट १५ दिनमा नेपाल आइपुग्ने सामान भारत हुँदै ल्याउँदा दुई महिनासम्म लाग्ने गरेको व्यवसायीले बताएका छन् । उत्तरी नाकाबाटै सामान ल्याउँदा तुलनात्मक रूपमा सस्तो र कम समय पर्ने भएकाले पनि व्यवसायीले सकेसम्म रसुवागढी नाकानै रोज्ने गरेको रसुवा भन्सार कार्यालय प्रमुख नारायण प्रसाद मैनालीले बताए । 

तर, नाका अनियमित हुँदा भने व्यापार प्रभावित भइरहेको छ ।

रसुवा भन्सार कार्यालय प्रमुख मैनालीले नेपालका आयातकर्ताले मगाएको मालवस्तु रूटमै रहेको बताउनु भयो । तर, नाका बन्द हुँदा ती सामग्री नेपाल भित्रिने विषय अनिश्चित छ । नाका औपचारिक जानकारी नदिई बन्द भएकाले कहिले खुल्छ भन्ने एकिन मिति रहेको छैन् । दैनिक सरदर १० ट्रक सामग्री भित्रिने रसु्वागढी नाकामा नेपालले मगाएका एक सय ५० ट्रक सामग्री चीनतर्फ अड्किएको छ ।

चीनले कोभिड संक्रमण बढेको भन्दै ३ सातादेखि नाका पूर्ण रूपमा बन्द गराएको छ । यसले गर्दा दसैँका लागि मगाइएको सामान चीनतर्फ अड्किएको छ । दसैँका लागि मगाइएका लत्ताकपडा, जुत्ताचप्पल, गार्मेन्टका कच्चा पदार्थ, विद्युतीय सामग्रीलगायत सामान सिगात्से, खासा तथा केरुङमा अड्किएका छन् । 

No comments:

Post a Comment