विदुर । काँग्रेस–माओवादी गठबन्धन हुँदा आसन्न संघीय निर्वाचनमा नुवाकोट क्षेत्र नं. १ कसले लिने भन्ने चासो र चिन्ता राजनीतिक दलको केन्द्रीय तहसम्म पुगेको छ । काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले क्षेत्र नं. १ बाट चुनाव उठ्ने घोषणा गरेपछि माओवादी केन्द्रका नेताहरू अघिल्लो हप्ता अध्यक्ष प्रचण्डलाई भेट्न पुगेका थिए । भेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफुले जितिरहेको निर्वाचन क्षेत्र नछाड्ने र यस विषयमा काँग्रेसका सभापति शेरबहादुर देउवासंग नै कुरा हुने बताएका छन् ।
‘हामी अध्यक्षलाई भेट्न उहाँको निवासमा पुगेको हौं, उहाँले नुवाकोटको क्षेत्र नं. १ काँग्रेसलाई नदिने कुरामा हामीलाई आश्वस्त पार्नुभएको छ’ हितबहादुर तामाङले भने । भेटका क्रममा प्रचण्डले वाग्मती प्रदेशको बलियो निर्वाचन क्षेत्र मध्येका नुवाकोटको १ नंं पनि रहेकोले त्यस्तो नहुने बताएका छन् । पार्टीको समसामयिक विषय छलफलका लागि अध्यक्षकहाँ पुगेको बेला यो विषयमा पनि कुरा उठेको तामाङले बताए । ‘क्षेत्र नं. १ हामीलाई चाहियो भन्न अध्यक्षको निवासमा पुगेको हैनौं, कुराकानीको क्रममा प्रसङ्ग चलेको हो ।’ उनले भने
क्षेत्र नं. १ मा काँग्रेसबाट डा. प्रकाशशरण महतले माओवादीसहितको गठबन्धनबाट टिकट लिने हल्ला चलिरहेकै बेला नुवाकोटमा माओवादी नेताहरूले अध्यक्ष प्रचण्डसँग भेटेर आफ्नो निर्वाचित क्षेत्रहरू कायम राख्न आग्रह गरेका हुन् । प्रचण्डले नुवाकोट निर्वाचन क्षेत्र नं. १ का विषयमा जिल्ला पार्टी र यसअघि जितेको नाताले पनि आफूसँग सल्लाह नगरी निर्णय नलिई नबोल्ने बताएको सांसद तामाङले बताएका छन् । सांसद तामाङ, माओवादी केन्द्र नुवाकोट इञ्चार्ज विमला सुवेदी, वाग्मती प्रदेश उपसभामुख राधिका तामाङ, प्रदेश सांसद हिरानाथ खतिवडा, माओवादी केन्द्र वाग्मती प्रदेशका उपाध्यक्ष रामप्रसाद ढुंगाना, नुवाकोट संयोजक पुष्प लामिछाने प्रचण्डको निवास खुमलटार पुगेका थिए ।
केही दिनअघि काँग्रेसका नेता डा. महत समेत प्रचण्डलाई भेट्न उनको निवासमा पुगेका थिए । क्षेत्र नं. १ मा आफुलाई उम्मेदवार बनाउनका लागि प्रस्ताव दिएर गएका महतलाई प्रचण्डले ‘सल्लाह गरौंला’ भनेर फर्काएका थिए ।
No comments:
Post a Comment