विदुर । नुवाकोट र रसुवा कार्यक्षेत्र रहेको पूर्वाधार विकास कार्यालय नुवाकोटले दुई जिल्लामा ४५६ योजना कार्यान्वयन गर्ने भएको छ ।
त्यसको लागी चालु आर्थिक वर्षमा करिब दुई अर्ब बजेट प्राप्त भएको कार्यालय प्रमुख वीरेन्द्रकुमार ब्रजाचार्यले जानकारी दिए । उनका अनुसार सडक र पुल निर्माणको कार्यान्वयनमा रहेका १३ वटा बहुवर्षीयसहित थप आएका चार सय ५६ योजनालाई दुई अर्ब ९५ करोड बजेट प्राप्त भएको हो ।
बहुवर्षीयअन्तर्गत नौ सडक र चार पक्की पुललाई निरन्तरता दिन थप बजेट आएको छ । अधिकांश योजना एक आवको लागि प्राप्त भएकाले अब सुरु गरेर समयमै सम्पन्न गर्न प्रक्रियाअघि बढाउन लागेका कार्यालयले जनाएको छ ।
प्राप्त भएको बजेट, योजना तथा कार्यक्रम अनुसार बहुवर्षीय अन्तर्गत नौ योजनामा ५७ करोड, सहरी तथा स्थानीय सडकको ३४८ योजनामा ८८ करोड १० लाख, सडक मर्मत सम्भार र सुरक्षा तथा अन्य पूर्वाधारका २२ योजनामा तीन करोड ८० लाख, सडक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत १५ वटा योजनामा चार करोड १४ लाख प्राप्त भएको छ । सम्भावित प्रादेशिक सडक चार योजनालाई छ करोड, प्रादेशिक सडक एवं झोलुङ्गे पुलको ४० योजनालाई १८ करोड ११ लाख, सम्भावित रणनीतिक सडक तीन योजनालाई चार करोड ५० लाख र वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमको १७ योजनालाई ११ करोड बजेट प्राप्त भएको छ ।
संघीय सरकारबाट आएको सशर्त योजना र प्रदेश सरकारबाट नियमित कार्यक्रमअन्तर्गत प्राप्त भएका योजनाको जिल्लास्थित पूर्वाधार विकास कार्यालयले ५० लाखभन्दा ठूलालाई निर्माण व्यवसायीमार्फत र सोभन्दा कमका योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिने कार्यालय प्रमुख ब्रजाचार्यले जानकारी दिए । उनका अनुसार उपभोक्ता समितिमार्फत गर्ने कामलाई सम्बन्धित पालिकाको सिफारिसमा सम्झौता गरेर काम सुरु गर्न योजना सम्बन्धित पालिकामा पठाइएको छ ।
चालु आवमा प्राप्त योजनामध्ये अधिकांश १० लाख देखि ३० लाख रुपैयाँसम्मका छन् । ती योजना कार्यान्वयन गर्न कार्यालयलाई जनशक्तिको अभाव छ । कार्यालयमा हाल प्रमुखसहित पाँच इञ्जिनीयर र छ सवइञ्जिनीयर गरेर कूल ११ प्राविधिक कर्मचारी कार्यरत छन् ।
प्रादेशिक कार्यालय भएकाले दुई पालिका तथा अन्तर जिल्ला जोड्ने ठूला स्वरुपका योजना पुर्बाधार कार्यालयले कार्यान्वयन गर्न‘पर्ने छ ।
जनताको माग र जनप्रतिनिधिको सिफारिसमा टुक्रे योजनाले प्रश्रय पाएको पुर्बाधार बिकास कार्यालय नुवाकोटका प्रमुख ब्रजाचार्यले बताएका छन्
योजना सम्पन्न गर्न लागत मूल्याङ्क, कार्यक्षेत्रको पहिचान, काम भइरहदाँको अनुगमन र भुक्तानीको लागी कार्य सम्पन्न पश्चात एउटा योजनाको कार्यक्षेत्रमा कम्तीमा चार पटक प्राविधिक पुग्नुपर्ने भएता पनी कार्यालयमा जनशक्ति न्युन रहेकाले समयमै कार्य सम्पन्न गर्न कार्यालयमा समेत समस्या रहेको उनको भनाई छ ।
यसअघि साविक जिल्ला विकास समितिअन्तर्गत रहने जिल्ला पूर्वाधार कार्यालयले गर्दै आएको कामको जिम्मेवारी हाल पूर्वाधार विकास कार्यालयमार्फत हुने गर्दछ । डिभिजन सडकमार्फत जिम्मेवारी सरेका सडकका ससाना योजना पनि हाल यही कार्यालयको जिम्मेवारीमा आएको छ ।
No comments:
Post a Comment