खरानीटार । खरानीटार अस्पतालमा औषधि उपलब्ध गराउने एक सप्लायर्स् झण्डै ५ वर्षदेखि आफुले भुक्तानी पाउनु पर्ने रकम खोजीकै गोलचक्करमा परेको छ ।
अस्पताल विकास समिति र समय–समयका कर्मचारीहरूले एकर्कालाई देखाएकै भरमा तीन लाख रुपैयाँ भन्दा बढी अस्पतालबाट भुक्तान भएरपनि सप्लायर्स्को हातमा नपरेको तथ्य बाहिर आएको छ । बट्टारस्थित सापकोटा मेडिकल हलले ९ भदौ, २०७९ मा तादी गाउँपालिकाको कार्यालयमा रकम उठाउन सहयोग माग्दै निवेदन दिएपछि घटना सार्वजनिक भएको छ ।
तत्कालिन बेलामा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा रहेको खरानीटार अस्पतालमा सञ्चालन भएको ‘ड्रग स्क्याम’ कार्यक्रम अन्र्तगत सापकोटा मेडिकल हलले २०७४ सालदेखि पटक पटकगरी झण्डै छ लाख रुपैयाँको औषधि पठाएको थियो । त्यस मध्ये दुई पटक गरी साढे दुई लाख रुपैयाँ मात्रै भुक्तान भएको सञ्चालक प्रेमकुमार सापकोटा बताउछन् । अस्पतालले मेडिकल हललाई तीन लाख १८ हजार रुपैयाँ भुक्तान गर्न बाँकी छ । २०७४ मंसिरमा १ लाख ८४ हजार र २०७८ बैशाखमा ८७ हजार रुपैयाँ लिएका उनलाई अस्पतालका कर्मचारीले भुक्तानीका लागि विकास समितिलाई चार लाख जिम्मा लगाएको बताएका छन् ।
तत्कालित अस्पताल ईञ्चार्ज, कर्मचारीहरूले अस्पताल विकास समितिलाई औषधिको रकम तिर्नका लागि चार लाख रुपैयाँ छाडेर समायोजनमा अन्यत्र गएको बताएका छन् ।
लामो समयदेखि तत्कालिन गाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डे, तत्कालिन अस्पताल विकास समितिका अध्यक्ष मनोज उप्रेती (पुर्व वडा अध्यक्ष), गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य संयोजक बिनोदराज खरेल लगायतलाई पटक पटक हारगुहार गरेको भएपनि औषधि बेचेको रकम हात पार्न नसकेको सापकोटाले बताए ।
तत्कालिन अस्पताल ईञ्चार्ज डा. इशु पोखरेल, अस्पतालका कर्मचारीहरू विनोद शाह (हाल तारकेश्वर नपा काठमााडौं) र हेमनारायण महतो (हाल पञ्चकन्या गापा नुवाकोट) ले अस्पताल विकास समितिका अध्यक्षलाई चार लाख रुपैयाँ छाडेर आफुहरू समायोजन भई अन्य कार्यालयमा सरुवा भएको बताएका छन् । अस्पताल विकास समितिका तत्कालिन अध्यक्ष मनोज उप्रेतीले भने यस विषयमा आफुलाई जानकारी नभएको र सापकोटा मेडिकललाई दिनु भनेर कर्मचारीहरूले रकम नछाडेको बताएका छन् ।
‘उनीहरूले मलाई रकम बुझाएको केही प्रमाण छैन, बरु तिर्नु पर्ने चाँही ४/५ लाख रुपैयाँ माइन्युटमा चाँही देखाएको छ’ उप्रेतीले भने । समायोजन भएर हिडेकै कर्मचारीहरूले औषधिको उक्त रकम लिएर हिडेको उनको दावी छ । आफुलाई हिसाव मात्रै देखाएको भन्दै उप्रेतीले अघिल्लो अध्यक्ष वा पछिल्लो अध्यक्षले हिनामिना गरेको भए आफ्नो जानकारीमा नभएको र कुनै टिप्पणी नगर्ने बताए ।
स्वास्थ्य केन्द्र अस्पतालका रुपमा परिणत भएपछि गाउँपालिकाका अध्यक्ष समितिको अध्यक्ष हुने व्यवस्थाका कारण उप्रेती भने छ महिनामै अध्यक्षबाट हटेका थिए । त्यसपछि गाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डे अस्पतालको अध्यक्ष भएका थिए । मनोज उप्रेती भन्दा अघि अस्पताल ब्यवस्थापन समितिको अध्यक्षमा मकरराज उप्रेती थिए ।
No comments:
Post a Comment