विदुर । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि प्रमुख दलहरूबाट उम्मेदवार बन्ने आकांक्षी धेरै देखिएका छन् । प्रत्यक्ष र समानुपातिकमा नुवाकोट जिल्लाबाट नाम सिफारिस भइरहँदा आकांक्षीको सिफारिस आवश्यकताभन्दा धेरै भएको छ । कर्यकर्ता खुसी पार्नका लागि मात्रै पनि अधिक मात्रामा नाम सिफारिस भएका छन् । काँग्रेस, एमाले माओवादी, केन्द्र, समाजवादी, राप्रपा पार्टीको आफ्नो हैसियत स्थापित गर्न उम्मेदवारी सिफारिसका लागि नाम समावेश गर्न तछाड मछाड नै चलेको छ । आवश्यकता भन्दा बढी नाम सिफारिस गर्नेमा काँग्रेस पार्टी छ । नुवाकोटमा संघीय र प्रदेश गरी ६ निर्वाचन क्षेत्रमा काँग्रेस एक्लैले एक सय भन्दा बढीको नाम सिफारिस गरेर पठाएको छ । समानुपातीमा पठाइएको नाममा पनि उत्तिकै भिडभाड देखिएको छ ।
निर्वाचनका लागि नुवाकोटको दुई प्रतिनिधिसभा क्षेत्र र चार प्रदेश सभा क्षेत्रमा ठूला दल नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्रका तल्ला कमिटीले उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् । प्रदेश र प्रतिनिधिसभाको ६ वटा सिटमा निर्वाचन हुने नुवाकोट जिल्लामा तीन दल काँग्रेस, एमाले, माओवादीले प्रत्यक्ष र समानुपातिक तर्फको लागि पार्टीका विधानअनुसार प्रक्रिया पूरा गरेर दुई सय ३७ जनाभन्दा बढी आकांक्षी उम्मेदवारको नाम प्रदेश कमिटीमा सिफारिससहित पुगेको छ ।
आगामी निर्वाचनका लागि सबैभन्दा बढी नेपाली काँग्रेसबाट एक सय २६ जनाको नाम प्रदेशमा सिफारिस गरेको छ । काँग्रेसको प्रदेश र क्षेत्रमा संस्थापन पक्ष हाबी रहेकाले नुवाकोटबाट नेपाली काँग्रेसले खम्बाको रूपमा रहेका अर्जुननरसिंह केसी र डा. रामशरण महतलाई समानुपातिकमा सिफारिस गरेर प्रत्यक्षतर्फ उठ्नका लागि ढोका बन्द गरेको छ । क्षेत्र नं. १ बाट डा. प्रकाशशरण महत र क्षेत्र नं. २ बाट बहादुरसिंह लामाको नाम प्रत्यक्षमा सिफारिस भएको छ ।
क्षेत्र नं. १ बाट डा. रामशरण महतको नाम प्रत्यक्षतर्फ दोस्रो नम्बरमा राखेर क्षेत्रीय कार्यसमितिले उम्मेदवारको सिफारिस गरेको छ । प्रतिनिधिसभा क्षेत्र नं. १ को समानुपातिकतर्फ १ नम्बरमा डा. रामशरण महत, दोस्रोमा डा. केदारनरसिंह केसी, क्रमशः कल्पना नेपाली, कृष्णबहादुर लामा, प्रकाश गोतामे, सीता मिजार सिफारिस भएका छन् । प्रतिनिधिसभा क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ बहादुरसिंह लामा, राज्यलक्ष्मी पाँडे श्रेष्ठ, लालीमाया तामाङ र समानुपातिकमा अर्जुननरसिंह केसी, ध्रुवप्रसाद अधिकारी, रुक्मणी सेढाईं सिफारिस भएका छन् ।
अर्जुननरसिंह केसी यसपटक प्रदेश नं. २ का प्रत्यक्षमा निर्वाचन लड्न खोजेका थिए । संस्थापन पक्ष हाबी रहेको नुवाकोटमा संस्थापनइतर कोइराला पक्षका केसी र डा. रामशरण महतलाई समानुपातिकमा धकेलेर बहादुर र डा. प्रकाशशरण प्रत्यक्षतर्फ उम्मेदवार हुने रणनीतिमा लागेका छन् ।
काँग्रेसको तर्फबाट क्षेत्र नं. १ ‘क’ प्रदेश सभामा प्रत्यक्षतर्फ जगदीश्वरनरसिंह केसी, महेन्द्र थिङ, रामकृष्ण थापा, नारायण प्रसाद पाण्डेसहित दशजना रहेका छन् । यो प्रदेशबाट २७ जनाको नाम समानुपातिक तर्फबाट सिफारिस भएको छ । क्षेत्र नं. १ प्रदेश ‘ख’का लागि प्रत्यक्षतर्फ रमेशकुमार महत, जगदीश्वरनरसिंह केसी, वैकुण्ठ मिश्रसहित आठजना र समानुपातिक तर्फ १५ जनाको नाम जिल्लाबाट सिफारिस भएको छ । क्षेत्र नं. २ प्रदेश ‘क’का लागि प्रत्यक्षमा जगदीश्वरनरसिंह केसी, रमेशकुमार महत, वैकुण्ठबहादुर पाण्डे, ताराबहादुर कार्की, मोहनबहादुर खड्का, महेन्द्र थिङसहित २१ जनाको नाम सिफारिस भएको छ । यो प्रदेशबाट समानुपातिकमा १६ जनाको नाम सिफारिस भएको छ । क्षेत्र नं. २ प्रदेश ‘ख’को प्रत्यक्षतर्फ जगतबहादुर तामाङ, फैसिङ तामाङ, राजकुमार भट्टराई र समानुपातिकमा चोकराज शाक्य, सुरेन्द्रराज अधिकारी, बिन्दा अर्यालसहित ११ जनाको नाम सिफारिस भएको छ ।
डा. प्रकाशशरणले नुवाकोटको क्षेत्र नं. १ रोजेपछि भने यो विषय माओवादी अध्यक्ष प्रचण्डको टेबुलमा पुगेको छ । महतले प्रचण्डलाई भेटेर आफुलाई क्षेत्र नं. १ लिाइदिन आग्रह गरेका छन् । तर म ाओवादी आफुले जितेको क्षेत्र नछाड्ने मनस्थितिमा छ ।
गठबन्धन हुँदा नेपाली काँग्रेसको बागमती प्रदेशमै यो क्षेत्र सुरक्षित रहेको प्रकाशशरण पक्षका कार्यकर्ताको विश्लेषण छ । तर माओवादीले निर्वाचन क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ हितबहादुर तामाङको नाम मात्र सिफारिस गरेको छ । यसबाट पनि माओवादीले क्षेत्र नं. १ नछाड्ने संकेत देखाएको छ ।
नुवाकोटको क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ केशव पुडासैनी, माधव पाण्डे, सुभद्रा नेपालको नाम सिफारिस गरेको छ । माओवादीबाट क्षेत्र नं. १ प्रदेश ‘क’बाट प्रत्यक्षतर्फ राधिका तामाङको नाम मात्र सिफारिस भएको छ । यो प्रदेशबाट ६ जनाको नाम समानुपातिकमा परेको छ ।
क्षेत्र नं. १ प्रदेश ‘ख’को प्रत्यक्षमा पुष्प लामिछानेको नाम मात्र सिफारिस भएको छ । यो प्रदेशबाट आठजनाको नाम समानुपातिकमा सिफारिस भएको छ । क्षेत्र नं. २ प्रदेश ‘क’को प्रत्यक्षमा रामप्रसाद ढुङ्गानाको नाम मात्र सिफारिस भएको छ । यो प्रदेशबाट समानुपातिकमा सातजनाको नाम सिफारिस भएको छ । क्षेत्र नं. २ प्रदेश ‘ख’बाट प्रत्यक्षतर्फ हीरानाथ खतिवडा, जयमान वाइवा, कल्पना रिमालको नाम सिफारिस भएको छ भने समानुपातिकमा ६ जनाको नाम सिफारिसमा परेको छ ।
नेकपा एमालेले पनि आगामी निर्वाचनका लागि नुवाकोटको क्षेत्र नं. १ बाट प्रतिनिधि सदस्यका लागि प्रत्यक्षमा जिल्ला अध्यक्ष बद्री मैनालीको एकल नाम पठाएको छ । प्रदेश ‘क’, ‘ख’ र क्षेत्रीय कमिटीबाट सिफारिस भएपछि जिल्लाले प्रदेशमा मैनालीको नाम मात्र पठाएको जानकारी उक्त पार्टीले दिएको छ ।
क्षेत्र नंं. १ को प्रदेश सभा ‘ख’को प्रत्यक्ष उम्मेदवारका लागि प्रदेश कमिटीमा पूर्णलाल श्रेष्ठको एकल नाम सिफारिस गरेको कारण जिल्ला कमिटीले श्रेष्ठको नाम मात्र प्रदेशमा सिफारिस गरेको छ ।
क्षेत्र नं. १ को प्रदेश सभा ‘क’मा प्रत्यक्षतर्फ प्रदेश कमिटीले जिल्ला कमिटीका उपसचिव नीलकण्ठ आचार्य, सुशील खड्का, बलराम आचार्य, राजकुमार पण्डित सहित आठजनाको नाम जिल्लालाई सिफारिस गरेको थियो । जिल्लाबाट राय लेखेर प्रदेश कमिटीमा पठाएको छ ।
एमालेले क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ १ नम्बरमा बहालवाला सांसद नारायणप्रसाद खतिवडाको नाम क्षेत्रीय कमिटीले सिफारिस गरेको छ । खतिवडासँगै बहालवाला प्रदेश सांसद केशवराज पाण्डे, रामशरण प्याकुरेल, विष्णु लोहनी, रामकृष्ण खड्का, माधव तिवारी र अजितमान तामाङको नामसमेत जिल्ला कमिटीलाई सिफारिस गरेको थियो ।
No comments:
Post a Comment