धुञ्चे । रसुवागढी नाकाबाट चिनियाँ सामग्री आयात हुन थालेपछि सीमा क्षेत्रको चहलपहल बढेको छ । केरूङ क्षेत्रमा कोभिड संक्रमण बढेको जनाउँदै चिनियाँ पक्षले गत साउन २१ देखि आफ्नो सीमानाका बन्द गराएको थियो ।
आयात पुनः सञ्चालन भएसँगै सुनसान रहेको रसुवागढी क्षेत्रमा सवारी चालक तथा सामान पल्टी गर्ने कामदारको बाक्लो उपस्थितिले चहलपहल बढाएको हो । गत भदौ ३० बाट आयात पुनः सुरु भएपश्चात तीन दिनको अन्तरालमा ५६ चिनियाँ मालवाहक कन्टेनरले रसुवागढीस्थित नेपाली भू–भागमा मालसामान ल्याइरहेको सीमा सुरक्षाकर्मीले बताएका छन् । गत बिहीबार १४, शुक्रबार तथा शनिबार २१–२१ चिनियाँ कन्टेनरले रसुवागढीमा मालसामान ल्याएको छ ।
सामान आयातमा विगतको अभिलेख हेर्दा दैनिक १४ कन्टेनरमात्र पठाइरहेको चिनियाँ भन्सारले पछिल्लो समय २१ कन्टनेरबाट सामान उपलब्ध गराएको जनाइएको छ । यसबाट उपभोक्ताको माग आपूर्तिमा सहज भएको तथा पालो कुरेर बेरोजगार बसिरहेका यहाँका सयौँ सवारी चालकलाई थप रोजगारी मिलेको छ ।
बडादशैँलाई केन्द्रित गरी नेपाली व्यवसायीले आयात गराएको सामग्रीमध्ये दुई कन्टेनर दाँतेओखर र ४६ कन्टेनर तयारी पोशाक रहेको प्रहरीले जनाएको छ । यस्तै अन्य सात कन्टेनरमा भने नेपालमा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाका सामग्री रहेको भन्सार अधिकारीले जनाएका छन् ।
नेपाल भित्रिएका सामान ढुवानीका लागि सयौँ कन्टेनर रसुवागढी तथा टिमुरे क्षेत्र पुगिसकेको र चिनियाँ एक कन्टेनर सामग्रीले नेपाली दुई कन्टेनरलाई वजन पुग्ने सीमा प्रहरीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी नवराज जैसीले चीनबाट आयात भएका सामग्री पासाङल्हामु मार्ग अवरूद्व भएपछि सबै कन्टेनरलाई स्याफ्रु, मैलुङतर्फबाट काठमाडौँ पठाइएको छ । भारी वर्षाका कारण मैलुङ खण्डको जीर्ण राजमार्गलाई गल्छी, त्रिशुली, रसुवागढी सडक सुधार आयोजनाको रेखदेख गरिरहेको छ । अर्कोतर्फ समस्या पर्दा दुई सय १६ मेगावाट अपर त्रिशूली वान जलविद्युत् आयोजनाको समेत सहयोग मिल्ने भएका कारण मालवाहक कन्टेनर डिब्बा मैलुङतर्फबाट काठमाडौँ पठाइएको छ ।
No comments:
Post a Comment