Monday, September 19, 2022

हराएका १६ बालक परिवारलाई फिर्ता

विदुर । किस्पाङ गुम्बाबाट अवैधरुपमा भारत पु¥याइएका १६ बालकलाई नेपाल फर्काएर अभिभावकको जिम्मा लगाइएको छ । भदौ ७ गते नेपालबाट अवैधरुपमा भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एशोसिएशन नामक गुम्बामा लामा अध्ययन गराउन भनेर लैजाने क्रममा उत्तर प्रदेशको बस्ती भन्ने स्थानबाट गत भदौ ८ गते उद्धार गरिएका ती बालकलाई नुवाकोट ल्याइएको थियो । उनीहरूलाई शुक्रवार परिवारको जिम्मा लगाइएको छ ।

नुवाकोट घर भएका दश र रसुवा घर भएका पाँच बालकलाई नुवाकोट जिल्ला प्रहरी कार्यालयको रोहवरमा उद्धार गरेर ल्याउने संस्था शान्ति पुनः स्थापनागृहले अभिभावकलाई बुझाएको छ । कैलाली घर भएका एक बालकको अभिभावक ललितपुर बस्ने भएकाले सोही स्थानमा नै लगेर जिम्मा लगाइएको शान्ति पुनः स्थापना गृहको नेपालगञ्जस्थित क्षेत्रीय संयोजक भूमिराज भट्टराईले जानकारी दिए । उनका अनुसार तीनसाता अघि भारतमा उद्धार गरिएका ती बालकलाई नेपाल प्रहरी र भारतीय राजदूतावासको सहयोगमा कर्नाटकबाट नेपाल फर्काइएको थियो ।

सामाजिक संस्थासँगको सहकार्यमा उद्धार गरिएका बालकको अभिभावकलाई बोलाएर घर पठाइएको प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए । उनका अनुसार गुम्बामा लामा अध्ययन गराउने भनेर लैजान लागेका बालक अलपत्र परेको खबर प्राप्त भएपछि उनीहरूलाई लैजाने किस्पाङ गुम्बाका प्रतिनिधि र अभिभावकबाट विवरण लिएर बालकलाई सामाजिक संस्थामार्फत उद्धार गरी घर फर्काइको हो ।

गुम्बामा प्राथमिकतह देखि पिएचडी सम्मको लामा अध्ययनका लागि भनेर अवैधरुपमा लैजान लागेको जानकारी पाएलगत्तै प्रहरीले उद्धार गरेको हो । उनीहरूलाई लैजान कानुनी प्रक्रिया पूरा नगरेको तथा लैजाने उद्देश्य खुल्न नसकेकाले मानव बेचबिखन तथा ओसारपसार लगायत अपराधसमेत आकर्षित हुनेसक्ने भएकाले त्यसै अनुसारको  अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 

मानव बेचबिखन तथा ओसारपसार अभियोगको हदम्याद नहुने भएकाले बालकलाई पठाउने अभिभावक, विभिन्न स्थानबाट सङ्कलन गरेर लैजाने किस्पाङ गुम्बा र सम्लग्न व्यक्तिको सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । 

उनीहरूलाई लैजान नुवाकोट र रसुवाका वडा कार्यालयले क्षेत्राधिकारभन्दा बाहिर हुने गरेर सिफारिस गरेको पत्रसमेत पाइएको छ भने यसअघि पनि भारतको गुम्बामा किस्पाङ गुम्बाबाट ठूलो सङ्ख्यामा बालक लामा अध्ययनको लागि भनेर लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

No comments:

Post a Comment