विदुर । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको जोखिम नुवाकोटमा कामयमै छ । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार असोज मसान्तसम्म नुवाकोटको १२ वटै स्थानीय तहमा डेंगुको संक्रमण पुगेको थियो । १२ वटै स्थानीय तहका नागरिकहरूलाई त्रिशुली अस्पतालमा राखेर उपचार गरेको त्रिशुली अस्पताल नुवाकोटले जनाएको छ ।
असोज महिनाको मसान्तमा अविरल पानी परेपछि पानी जम्ने सक्ने भाँडाकुँडा, प्लास्टिकका बोतल, गमला, गाडीका टायरलगायत अन्य पानी जम्मा हुने स्थानमा पानी जम्ने भएकोले यसको जोखिम कायमै रहेको बताइएको छ । तिहार सुरु भएसंगै अधिकांश स्थानमा डेंगुको प्रकोप बढेको छ । डेंगुबाट सामान्य विरामी भएकाहरूलाई त्रिशुली अस्पतालले घरमै बसेर रेखदेख गर्न आग्रह गरेको छ । केही असहज भएमा तत्कालै अस्पताल आउन आग्रह गर्दै अस्पतालले केही दिन डेंगुको उच्च जोखिम रहेको अनुमान गरेको छ । तिहार सकिने र चिसो मौसम बढ्ने भएपछि यसको संक्रमणमा कमी आउने अनुमान छ ।
तिहार सुरुभएसंगै नागरिकहरूको चहलपहल बढेको र डेंगु संक्रमित व्यक्तिको ओहोरदोहोरले यो रोग फैलनलाई बढी बल पुगेको हो । नुवाकोटमा डेंगुको प्रकोप कायमै रहेकाले यसको जोखिम नियन्त्रण गर्न सबैको साझा दायित्व रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । डेंगु संक्रमण नियन्त्रण तथा रोकथामका लागी सर्च गर्ने र नष्ट गर्ने अभियान सञ्चालन गरे पनी यसको जोखिम जिल्लामा कायमनै रहेको बताईएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटको आग्रहमा नुवाकोटको १२ वटै स्थानीय तहले संक्रमण नियन्त्रण तथा रोकथामको लागी लामखुट्टेको बासस्थानको खोजी गर्ने र नष्ट गर्ने अभियाननै सञ्चालन गरेको थियो ।
पछिल्लो समय चिसो बढे पनी अझै २ साता जती सतर्क रहन आग्रह गरेको छ । स्वाथ्य सुरक्षा मापदण्ड पालना गर्ने तथा संक्रमण जोखिम नियन्त्रण गर्ने अभियानमा सबैलाई एकजुट हुनको लागी कार्यालयले आग्रह गरेको छ ।
सबैले आ–आफ्नो घर, टोल, समाज, कार्यालय लगायतका स्थानमा त्यहाँ वरिपरीको सरसफाइ गर्न‘ तथा पानी जम्न नदिनु नै डेंगु नियन्त्रणको उपाय हो । डेंगु रोगका बिरामीमा उच्च ज्वरो आउनु, टाउँको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जीउ तथा जोर्नी दुख्ने लगायतका लक्षण देखिने गरेको छ । यस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा उपचार गराउन चिकित्सकको सुझाव छ । डेंगु लामखुट्टको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो ।
No comments:
Post a Comment