Monday, October 24, 2022

२०७९ साल कात्तिक ७ गतेको सम्पादकीय

जुवातासबाट ध्यान हटाऔं

हिन्दु धर्मावलम्वीहरूको दोस्रो महान पर्व तिहार सुरु भएको छ । बजार तिर तिहारको किनमेलको चहलपहल सुरु भैसकेको छ भने गाउँ घर तिरपनि तिहारको रमझमले छुन थालिसकेको छ । तिहारको आफ्नै इतिहास र कथा छ । तिहारको सांस्कृतिक पक्षको कुरा गर्दा देउसी भैलोको कुरा अग्रपङ्तिमा आउँछ । देउसी भैलो तिहारसंगै जोडिएर आउँछ, त्यसरी नै जोडिएर आउँछ जुवा र तास । जुवा तास खेल्ने प्रचलन कहिले कहाँबाट सुरु भयो भन्ने कुराको यकिन नभए पनि यसको सुरुवात मनोरञ्जनकै उद्देश्यले गरिएको हो भन्ने कुरामा चाहिँ दुइमत छैन । हाम्रो पौराणिक धर्म ग्रन्थमा पनि जुवाको उल्लेख गरेको पाईन्छ । स्वयम देवी देवताले समेत समय व्यतित गर्न जुवा खेलेको प्रसंगहरू हाम्रो ग्रन्थमा पाईन्छ । जुवाकै कारणले महाभारतको युद्ध भएको थियो । सुरुवाती समयमा मनोरञ्जनको दृष्टिकोणले आविष्कार गरिएको भएपनि पछिल्लो समयमा जुवा तास एउटा गम्भीर सामाजिक विकृतिको रुपमा देखिएको छ । जुवा तासकै कारण कायौं घर परिवारको बेहाल भएको हामीले प्रत्यक्ष देखेका छौं । यसकै कारणले सामाजिक होहल्ला झै झगडा देखि लिएर हत्या सम्मको घट्ना भएको हामीले देखे सुनेका छौं । जुवा तासले आजसम्म कसैको भलो भएको छैन र पनि मानिसबीच यो प्रिय छ । भर्खर स्कुल कलेज पढ्दै गरेका किशोर किशोरी, युवा युवती हुन या चाहे प्रौढ या बृद्ध या केही नपढेको मजदुर होस् या चाहे लेखपढ गरेको जागिरे या राजनीतिज्ञ या राज्यको उच्च ओहोदाको व्यक्ति हरेक माझ लोकप्रिय छ, यो जुवा र तास भन्ने कुरा । प्रत्येक मानिसले आफ्नो जीवनमा जुवा तासको अनुभव एक न एक पटक पक्कै गरेका हुन्छन् ।

समय गतिशिल र परिवर्तनशिल छ । गतिशिल समयसंगै समाज पनि परिवर्तन हुँदै जान्छ । आजको नेपाली समाज हिजोको नेपाली समाज भन्दा धेरै कुरामा फरक छ । वर्तमान नेपाली समाजको लागि तास एउटा अभिन्न पाटो जस्तै बनिसकेको छ । तिहार जस्तो चाडमा झन अझ धेरै यस्तो समस्यामा प्रहरी र प्रशासनको पनि विषेश चासो रहेको हुन्छ । जुवा तास नियन्त्रणको लागि भटाभट जुवाडे पक्रनेकाम गरिएको हुन्छ । तर उपलब्धि खोइ ? प्रत्येक वर्ष तिहारमा ठाउँ ठाउँमा जुवा र तासको खाल जमेकै हुन्छ त । यदि नियम र कानूनको डरलेमात्र यो कुराको नियन्त्रण सम्भव भएको भए धेरै पहिले नै नेपाली समाजबाट जुवा तास हटिसकेको हुन्थ्यो । तर नुहने रैछ भनेर प्रमाणित भैसक्यो । तसर्थ यसको नियन्त्रणको लागि खाली पक्रने र थुन्ने भन्दा पनि अरु विकल्पहरू के के हुन सक्छन् त्यता तिर ध्यान दिनु जरुरी छ । जस्तै की जुवातास खेल्नेहरू आफै सजग बन्नु बलियो उपाय हुनसक्छ । मनोरञ्जनका लागि भन्दै खेलिने जुवातासले आर्थिक जीवनमा ठुलो धक्का लाग्न स्क्छ । आर्थिक जीवन स्वस्थ्य हुनसकेन भने त्यसबाट उत्पन्न हुने समस्याले व्यक्ति र परिवार मात्रै होइन समाजनै प्रदुषित पार्न सक्छ । तसर्थ यसपालिको तिहारबाट नै जुवातासको ‘ह्याङ’ हटाएर आफुसंग भएकै धन बचत गरेर आर्थिक समृद्धिको सुरुवात गरौं । 

No comments:

Post a Comment