Monday, November 28, 2022

हितबहादुर तामाङ


हितबहादुर तामाङ

प्रतिनिधि सभा सदस्य, नुवाकोट क्षेत्र नं. १

नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ घलेगाउँ (साविक पञ्चकन्या गाविस १ नम्बर वडा) मा मध्यम वर्गीय किसान परिवारमा २०२० सालमा जन्मिएका हुन् हितबहादुर तामाङ । बुबा माइते तामाङ र आमा श्रीमाया तामाङको माइलो सन्तानका रूपमा उनको जन्म भएको हो । तामाङका एक दाइ एक भाइ र तीन दिदीबहिनी छन् । दुई छोरी र एक छोरा सहित हितबहादुर काठमाडौंको चण्डोलमा डेरामा बस्छन् । दाजुभाइ सामान्य किसानी कर्ममा छन् । हितबहादुरले अमरज्योती मावि खरानीटारमा औपचारिक शिक्षा सुरुवात गरेर सोही विद्यालयबाट २०३९ सालमा एसएलसी उत्तीर्ण गरे । २०४० सालमा थप्रेक निम्न माध्यमिक विद्यालयमा करिब २ वर्ष शिक्षण पेशा गरे ।

हितबहादुर १६ वर्षकै उमेरमै २०३६ सालमा राजनीतिमा लागेका हुन् । २०३६ सालमा अनेरास्ववियुको छैटौँ जिल्ला सम्मेलनबाट सदस्य बनेका उनी २०३८ सालमा नुवाकोट जिल्ला समिति सचिव बने । उनले २०४७ सालमा नेकपा चौथो महाधिवेशन पार्टीको सदस्यता लिए । २०४८ सालमा नेकपा एकता केन्द्रको जिल्ला उपाध्यक्ष तथा २०४९ सालमा जनवादी युवा लिगको केन्द्रीय सदस्य बने । २०४९ सालमा राष्ट्रिय सम्मेलनबाट डा. बाबुराम भट्टराईको अध्यक्षतामा गठित संयुक्त जनमोर्चाको केन्द्रीय समिति सदस्य बनेका उनी २०५१ सालमा नेकपा माओवादीको जिल्ला पार्टी प्रमुख (सेक्रेटरी) बने । २०५२ सालमा जनयुद्धमा सहभागी हुँदै भूमिगत रहे । २०५३ सालमा क्षेत्रीय ब्युरो सदस्य तथा नुवाकोट र रसुवा संयुक्त जिल्ला इन्चार्ज भएर काम गरे । हितबहादुर तामाङ २०५८ मा नुवाकोट जिल्लाको जनसरकार प्रमुख, २०५९ सालमा बाबुरामको नेतृत्वमा गठित केन्द्रीय जनपरिषद्को सदस्य र २०६० माघ १ मा ताम्सालिङ स्वायत्त जनसरकार प्रमुख बने ।

उनलाई २०५९ सालमा पार्टीले केन्द्रीय सदस्यको जिम्मेवारी दियो । तामाङ वर्गमुक्तिको आन्दोलनमा होमिँदा भारतमै जेल जीवन बिताउन बाध्य भए । २०६० जेठमा देशद्रोहीको अभियोगमा भारतीय सरकारले उनलाई पटनास्थित जेलमा राख्यो । माओवादीनिकट तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालका संस्थापकसमेत तामाङ बने । तामाङ २०६३ मा अन्तरिम व्यवस्थापिका संसद्को विधायका बने । २०६४ सालमा नेपाली काँग्रेसका उम्मेदवार रामशरण महतसँग १०४ मतले पहिलो संविधान सभा निर्वाचनमा पराजित भए । २०७० मा दोस्रो संविधानसभाको चुनाव भयो । हितबहादुर दोस्रो पटक मैदानमा उत्रिए । तर पनि उनले सफलता हात पार्न सकेनन् ।

नयाँ संविधानअनुसार २०७४ मा भएको आमनिर्वाचनमा हितबहादुर तेस्रोपटक प्रतिनिधिसभाको उम्मेदवार बने । त्यस समयमा माओवादी र एमाले गठबन्धन एकातिर, काँग्रेसलगायत दल अर्कोतिर थिए । तामाङ वाम–गठबन्धनका साझा उम्मेदवारका रूपमा नुवाकोट क्षेत्र नं. १ बाट काँग्रेसका प्रभावशाली नेता रामशरण महतलाई ८ हजार ८५७ मतान्तरले पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।

४३ वर्षदेखि वामपन्थी राजनीतिमा सक्रिय तामाङ २०६६ मा झलनाथ खनाल नेतृत्वको सरकारमा युवा खेलकुदमन्त्री समेत बने । 

No comments:

Post a Comment